Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारओलीवादी भाइरसको संक्रमणबाट देशलाई निको पार्ने अवसर

ओलीवादी भाइरसको संक्रमणबाट देशलाई निको पार्ने अवसर


खड्गप्रसाद शर्मा ओलीले संसद् विघटन गरेको र निर्वाचनको मिति तोकेको घटना अप्रत्याशितजस्तो देखिए पनि वास्तवमा यो अप्रत्याशित थिएन । सत्तामा आफ्नो नियन्त्रण गुम्ने परिस्थितिमा ‘जे पनि’ गर्ने उनको अभिप्राय केही समययता उनी स्वयम्‌ले प्रष्ट पार्दै आएका हुन् ।

राजनीतिका नाममा संसारभर नेपालजस्ता देशमा सर्वसत्तावादीले अपनाउने उपाय पनि संसद् विघटन गर्ने, सङ्कटकाल घोषणा गर्ने वा यस्तै-यस्तै नै हुन् । आफ्नो कुर्सी गुम्ने भएपछि संसद् विघटन गर्ने प्रधानमन्त्री नेपालमै पनि ओली पहिलो होइनन् ।

‘ह्वाई नेसन्स फेल’ भन्ने पुस्तक पढेर एउटा देशको सफलता र असफलताको आकलन गर्ने बुद्धिजीवीले यस्ता घटनाबाट बुझ्नुपर्ने कुरा के हो भने ओली र उनीजस्ता अरू नेताले पनि उक्त पुस्तकको सार नबुझेका नहोलान् । यद्यपि, नेपालजस्ता देश आदर्श आधुनिक राज्य बन्ने यत्नमा पटक-पटक प्रयास गरेजस्तो गर्छन् । र, त्यति नै पटक असफल पनि हुन्छन् । त्यसैले नेपाल र नेपालजस्तै विश्वका असफल भनिने देशका जटिलता ‘ह्वाई नेसन्स फेल’ भन्ने गुलिया किताब लेख्नेले प्रस्तुत गर्ने घतलाग्दा तर्कहरूभन्दा गहिरा हुने गर्छन् ।

नयाँ संविधान जारी भएपछि उपलब्ध नेपालका सबै सम्भावना र अवसरलाई लात हानेर ओलीले निर्वाचित संसद् किन भङ्ग गरे ? प्रश्नको जवाफ नेपालका मिडियाले वर्णन गरेजस्तै कति बजे, कुन ठाउँमा, कसले, कसलाई भेट्यो, कसको हित्तचित्त कोसँग मिल्यो र कोसँग फाट्यो भन्ने ‘रियल टाइम’ वर्णनहरूमा खोजेर भेट्न सकिन्न । यसलाई राम्रोसँग बुझ्न एउटा अर्को प्रश्नमा घोरिनुपर्छ । त्यो प्रश्न हो- खड्गप्रसाद शर्मा ओलीजस्ता मानिसहरू नेपालजस्तो देशको राजनीतिमा किन र कसरी सफल हुने गर्छन् ?

यस लेखमा यही प्रश्नलाई खोतल्ने प्रयास गर्दै छु । भलै यसमा प्रस्तुत मेरा विचार नितान्त मौलिक होइनन् ।

पश्चिमा मुलुकको सिको गर्दै आधुनिक र विकसित राज्य बन्ने औपचारिक लक्ष्य बोकेका नेपालजस्ता देशमा अक्सर तीन प्रकारका जटिलताले जरा गाडेका हुन्छन् ।

यीमध्ये पहिलो जटिलता हो- नागरिकको मनमा रहेको बोक्रे महत्त्वाकाङ्क्षा । अरूकाे दाँजोमा आफ्नो देश कमजोर रहेको हीनताबोधबाट ग्रसित नागरिकले आफ्नो देश र त्यहाँ भएका सबै कुरा संसारका महान्, अलौकिक, अभूतपूर्व, उच्चतम भन्ने भावनालाई आत्मसम्मानको आधार बनाउँछन् । चतुर शासकले सत्तास्वार्थका लागि तिनै भावनालाई गोडमेल गरिदिन्छ । त्यो पुर्खाहरूको वीरताको कथाका रूपमा प्रकट हुन्छ । आफ्ना खाना, साहित्य, देउता, हिमाल, पर्वत, खोलानाला संसारमै विशिष्ट छन् भन्ने गर्वमा मानिस फुलेका हुन्छन् । यस्तो फुलाइको आधार कहिले बेसार र कहिले गैँडाका कथा बनिरहेका हुन्छन् ।

आफ्नो महानताबाट वशिभूत भएको नागरिकले त्यस्तै राजनीतिक नेतालाई आफ्नो प्रिय ठान्छ, जसले त्यो महानताको नक्कली भए पनि बढाइचढाइ गरिदिन्छ ।

दोस्रो जटिलतालाई विकासको सपना भनेर बुझ्न सकिन्छ । केही ठाउँमा तारतम्य मिलाएपछि आफ्नो देश पनि विकसित पश्चिमा देशजस्तै बन्न सक्छ भन्ने विश्वास आमनागरिकले पालेका हुन्छन् । देश भनेको विकास गर्नुपर्ने कुरा हो र विकास हुन सक्ने कुरा हो । त्यसैले विकासको नेतृत्व नेताले गर्नुपर्छ र जनताले नेताको आस गरेर बस्नुपर्छ भन्ने बुझाइ नेपालजस्ता ‘अविकसित’ देशको साझा चरित्र हो । यसलाई नेताहरूले चुच्चे रेल, पेट्रोलखानी र भ्युटावरको सपना देखाएर जीवन्तजस्तो बनाइदिन्छन् ।

तेस्रो जटिलता साधन स्रोतको असमान वितरण र राज्यका नीतिनियमबाट त्यसको संरक्षण हो । अविकसित भनिने नेपालजस्ता देश सामाजिक-सांस्कृतिक विभेदबाट पिल्सिएका हुन्छन् । अविकासको जरो यही नै हो । तर, यो नै जटिलता होइन । जटिलता के हो भने नेपालको राज्य प्रणाली, राज्यका संस्था, राज्य चलाउने मानिसहरूले ती विभेदलाई आफ्नो सत्तास्वार्थका लागि संरक्षण गरेका हुन्छन् । चरम विभेदहरू सामाजिक-आर्थिक संरचनाको सतहमुनि द्वन्द्वको ऊर्जा बनेर बसिरहेको राजनीति गर्ने शासकहरूले वास्ता गर्दैनन् । बरू उनीहरू विभेदको उपस्थितिलाई नै नकार्छन् । आफूले बोलिदिएको भरमा विभेद अन्त्य हुने र सबै नागरिक स्वतः समान हुने डिङ हाँकेर रमाइरहेका हुन्छन् ।

खड्गप्रसाद शर्मा ओली नयाँ संविधान जारी भएपछिको पहिलो लोकतान्त्रिक निर्वाचनबाट प्रधानमन्त्रीमा चुनिएको केही महिनापछि २५ जेठ, २०७५ मा मैले उनको राजनीतिक चरित्र र प्रवृत्तिको विश्लेषण गर्दै सेतोपाटीमा लेख लेखेको थिएँ, जसको शीर्षक थियो -चुनावमार्फत सर्वसत्तावाद । लेखमा मैले प्रस्तुत गरेको धारणा थियो- ओली प्रवृत्ति नेपालको नयाँ संविधानले परिकल्पना गरेको नेपाली राज्यको विपरीत छ र यसको बाटो भनेको सर्वसत्तावाद मात्र हो ।

मलाई आज आफू सही प्रमाणित भएकोमा गर्व छैन । नेपालको राजनीति आज जुन मोडमा छ, त्यसमा कसैले पनि खुसी मान्न सक्दैन । यद्यपि, ओलीले अवलम्बन गरेको राजनीतिक चरित्र वा मूल्यमान्यताले नेपालमा जसरी सफलता पायो, यो बिडम्बनाको कुरा हो । यसबाट बाहिर निस्किन फेरि एकपटक ओली कसरी प्रधानमन्त्री बनेका थिए भन्ने परिस्थितिलाई हेरौँ ।

ब्लगर र विश्लेषक रोहेज खतिवडाले भनेझैँ खड्गप्रसाद शर्मा ओलीले नेपालको राजनीतिमा एउटा निश्चित वर्ग र त्यसको चिन्ताको प्रतिनिधित्व गर्छन् । त्यो वर्ग भनेको उच्च जातको पहाडे हिन्दु पुरुष हो । यसले आफ्ना सामाजिक-सांस्कृतिक सबै विशेषतालाई उत्कृष्ट मात्र होइन, सर्वश्रेष्ठ पनि ठान्छ । यो वर्ग जहिले पनि राज्यको पुनर्संरचना र लोकतन्त्रीकरणबाट सशङ्कित छ । यसले आफूबाहेक अन्य वर्ग र समूहले अधिकार, अवसर र न्याय पाएको सहन सक्दैन । राजनीतिक र जातीय अधिकारका मुद्दाबाट यो वर्ग असुरक्षित महसुस गर्छ । राजतन्त्र, एकात्मकता, हिन्दु राज्यको चाहना राख्छ । यसका लागि अहिलेको संविधान असफल होस् भन्ने चाहन्छ ।

नेपाली राजनीतिमा खड्गप्रसाद शर्मा ओली यस वर्गको मुखपत्र हुन् । सत्ता र शक्तिमा सोझो र कडा वर्चस्व भएको यो वर्गका लोकप्रिय ओली संघीय, धर्मनिरपेक्ष, गणतान्त्रिक संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री बन्नु संयोग मात्र पक्कै थिएन । यी सबै प्रबन्धबाट असन्तुष्ट वर्गका लागि नयाँ संविधानलाई कमजोर बनाउने सबैभन्दा उपयुक्त मानिस नेपाली राजनीतिमा ओलीबाहेक सम्भवतः अरू थिएनन् ।

अब लागौँ, लेखको सुरुआतमा चर्चा गरिएका तीन जटिलतातिर ।

राजनीति अवसरको उपयोग गर्ने खेल हो । राजनीति गर्ने नेताहरूले जनताका बुझाइ र अपेक्षालाई नगदमा रूपान्तरण गर्ने प्रयास जहाँ पनि गरिहाल्छन् । यस यथार्थका आधारमा खड्गप्रसाद शर्मा ओली नेपालका विभिन्न जटिलतामा कसरी ‘फिट’ भएका छन् भन्ने हेरौँ ।

ओलीले नेपाललाई महान, अलौकिक र अभूतपूर्व देशका रूपमा संसारमा स्थापित गराउन चाहेका छन् । नेपालकाे हावापानीदेखि जनावर र पशुपन्छी, देवीदेउता, जडीबुटी संसारमा कतै नपाइने अमूल्य, अद्वितीय, अलौकिक रहेको कुरा उनले आफ्नो हरेक भाषणमा भनिरहेका छन् । यसका लागि नक्सामा नेपालको भू-भाग थपिएको छ ।

चितवनमा अयोध्या मन्दिर बनिरहेको छ । ठाउँठाउँमा आफ्नो सुन्दरता हेरेर आफैँ रमाउन भ्युटावरहरू बनिरहेका छन् । आत्मसम्मानको स्रोत र यसलाई प्राप्त गर्ने तौरतरिका निकृष्ट भए तापनि धेरै मानिसको धड्कनमा खड्गप्रसाद शर्मा ओलीको बास छ । उनले मानिसहरूलाई अरूका दाँजोमा आफू पनि महत्त्वपूर्ण भएको आभास दिलाएका छन् ।

खड्गप्रसाद शर्मा ओलीले विकासको जादु मन्त्र आफूसँग रहेको दाबी गरेका छन् । धेरै अगाडि नै विकास भइसक्नुपर्ने तर अरूको बदनियतका कारण यसो हुन नसकेको र अब आफूले फटाफट विकास गर्ने भनेर उनले मानिसहरूको मन जितेका छन् । सर्वसाधारणको मात्र होइन, आफूलाई विज्ञ र विकासवादी भन्ने धेरै विद्वान्‌को धड्कनमा ओलीको बास छ । विकसित देशमा जस्तै छिटो कुद्ने रेल, ठूला सामान बोक्ने पानीजहाज, ठूला बाटाघाटा भएपछि देशको विकास हुन्छ भन्ने सतही भावनामा टेकेर ओलीले नेपाललाई पनि आफूले त्यसै गर्ने वाचा घनिभूत बनाएका छन् । यो वाचाले धेरैको मन जितेको छ ।

अब तुरुन्तै ओलीले विकास गर्नमा अरूको अवरोध आइलागेकाले संसद् भङ्ग गर्नुपरेको भनेर भाषण गर्न थाल्नेछन् ।

खड्गप्रसाद शर्मा ओलीले उपयोग गरेको तेस्रो अस्त्र शक्तिको केन्द्रीकरण हो । भ्रष्ट र अनैतिक सहयोगीहरूमार्फत देशको साधनस्रोतलाई आफ्नो नियन्त्रणमा राख्न उनी सफल भएका छन् । ओलीसत्ता यसबाट झन् शक्तिशाली भएको छ । आज उनी आफ्ना विरोधीहरूलाई सजिलै तह लगाउन सक्छन् । समर्थकहरूलाई थप बफादार बनाउन सक्छन् । पैसाको आडमा निर्वाचन जित्ने आत्मविश्वास उनीसँग छ । ओलीले स्थापना र विकास गरेको केन्द्रीकृत सत्तामा केवल उनी र उनका केही भ्रष्ट आसेपासे मात्र छैनन् । यो वृत्त ठूलो र गहिरो छ । यसमा राज्यका प्रमुख संस्था र निकाय जोडिएका छन् ।

यति चर्चा गरेपछि विचार गर्नुपर्ने अर्को प्रश्न छ, विषाक्त र चुनौतीपूर्ण ओलीवादले मलजल गरेका नेपालका जटिलतालाई राम्रोसँग बुझ्ने र त्यसको सामना गर्ने क्षमता कोसँग होला ? यसका लागि ओलीले संसद् विघटन गरेपछि सतहमा प्रकट भएका ओली स्वयम्‌बाहेकका केही राजनीतिक शक्तिहरूलाई हेरौँ ।

खड्गप्रसाद शर्मा ओलीलाई अनैतिक र अक्षम भनेर कारबाही गर्ने र आफ्नो नेतृत्वको घोषणा गर्ने माधव नेपाल र पुष्पकमल दाहालको चरित्र विचार गर्दा मलाई अङ्ग्रेजी भाषाको पुरानो बालकथाको याद आइरहेको छ । ‘थ्री लिटल पिग्स’ भनिने उक्त कथामा एउटा छट्टु ब्वाँसो छ र तीन कलिला सुँगुर छन् । कथाको लोभी ब्वाँसो खरायो, हरिणजस्ता विभिन्न जनावरका छाला ओढेर तिनीहरूका आवाज निकाल्दै कलिला सुँगुरहरूलाई बोलाउन उनीहरूको ढोका ढक्ढक्याउन जान्छ । ब्वाँसोको अभिनय बुझ्न नसक्ने कलिला सुँगुरहरू उसको आक्रमणको सिकार हुन्छन् ।

माधव नेपाल र पुष्पकमल दाहालको ओलीविरुद्धको विद्रोह नेपालमा विद्यमान जटिलता र तिनको समाधान गर्ने चाहनाबाट प्रेरित होइन । उनीहरूको विद्रोह ओलीलाई विस्थापित गरेर त्यो ठाउँमा आफू बस्नका लागि हो । नेपाल र दाहालले त्यही वर्ग र मानसिकताको प्रतिनिधित्व गर्छन्, जसको प्रतिनिधित्व ओलीले गरिरहेका छन् । आज विद्रोहीजस्ता देखिएका नेपाल र दाहाल आफ्नो वास्तविक चरित्र लुकाउन प्रयत्न गरिरहेका छन् । तर, जब उनीहरू सत्तामा पुग्छन्, त्यो चरित्र तुरुन्त प्रकट भइहाल्नेछ ।

सत्तास्वार्थका लागि ओलीको पार्टी एकीकरणको विषाक्त ग्राण्ड डिजाइनमा सहभागी हुने र कम्युनिस्ट आन्दोलन सफल भएको भनेर डिङ हाँक्दै हिँड्ने पुष्पकमल दाहाल वा माधव नेपाललाई आज विश्वास गर्नु भनेको खरायोको आवाज निकाल्ने ब्वाँसोलाई चिन्न नसक्नु मात्र हो ।

विकल्पको रूपमा सतहमा देखिएको नेपाली कांग्रेस पनि हो । तर, यो यस्तो विकल्प हो, जसमा कुनै ऊर्जा र आत्मविश्वास बाँकी छैन । नेपाली कांग्रेसमा सम्भावना भएका केही नेताहरू छन् र तिनको भूमिका कस्तो रहनेछ, त्यो हेर्न बाँकी छ । तर, वर्तमान नेतृत्वको नेपाली कांग्रेस राजनीतिक आदर्श र चरित्र रित्तिएको एउटा यस्तो बेवकुफ मानिस हो, जो आफ्नो हुन नसकेको प्रेमी वा प्रेमिकाको विवाहभोज खान व्यग्रताका साथ प्रतीक्षारत रहन्छ ।

नेपाली कांग्रेस र उसको अहिलेको नेतृत्वलाई नेपालका वास्तविक जटिलताबारे कुनै चासो छैन । नेपाली कांग्रेसको चासो शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा छ । कांग्रेसको राजनीतिको अभिप्राय इतिहासको यो घडीमा यतिमा मात्र सीमित छ ।

नेपाल-दाहालले रातारात बनाएको ताजा, तात्तातो नेकपा र शेरबहादुरलाई प्रधानमन्त्री बनाउने एकल योजनामा वर्षौँदेखि थलिएको कांग्रेसले बुझ्न नचाहेका नेपालका जटिलतालाई बुझ्न सक्ने र तिनीहरूको सामना गर्न सक्ने अर्को कुनै राजनीतिक शक्ति क्षितिजमा देखिँदैन ।

यस लेखलाई निराशावादी निष्कर्षमा टुङ्ग्याउने मेरो अभिप्राय होइन । तर, मेरो विचारमा, झुटाे आशावादिताभन्दा निराशावाद उपयोगी हुन्छ । निराशाले मानिसलाई गम्भीर बनाउँछ । मानिसले समस्याहरूको समाधान खोज्ने वास्तविक अवस्थालाई स्वीकार गरेर हो, झुटाे आत्मरतिमा फुलेर होइन ।

मेरो विचारमा आजको नेपालको आवश्यकता भनेको ओलीवादले मलजल गरेका झुटा र विषाक्त मूल्यमान्यता र राजनीतिक संस्कारलाई चिन्ने तथा तिनीहरूको सामना गर्ने हो । यसका लागि राजनीतिक नेतृत्वले आफ्नो वर्ग र पार्टीको राजनीतिक संरचनाबाट माथि उठ्न सक्नुपर्छ । झुटाे आत्मरतिमा रमाएका मानिसहरूलाई देशका सम्भावना र जटिलताबारे प्रष्ट पार्न सक्नुपर्छ ।

देशको वास्तविकता र क्षमतासँग जोडिएका रूपान्तरणका योजना अघि सार्न सक्नुपर्छ । यस लक्ष्यमा प्रभावकारी ढङ्गले उदाउने नेतृत्व नै नेपालको भविष्यको प्रभावकारी नेतृत्वका रूपमा स्थापित हुनेछ ।

संसद् विघटन गर्ने र नयाँ निर्वाचन गराउने ओलीको राजनीतिक कदमको जति आलोचना गरे पनि कम हुन्छ । महामारी, कुशासन र गरिबीको चक्रमा फसेका आममानिसका घाउमा ओलीले नुन-चुक छर्केका छन् । आफ्नो कुर्सी बचाउन देशको सम्पत्तिलाई धुवाँजस्तो उडाउन उद्यत भ्रष्ट र नैतिकहीन मानिसहरूको शासनबाट नेपालले छुटकारा पाउन कति वर्ष कुर्नुपर्ने हो, ठेगान छैन ।

यद्यपि, ओलीले संसद् विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेर आफ्नो सरकारलाई काम चलाउ बनाएपछि केही राम्रो पनि आशा गर्न सकिन्छ । ओली शासनमा तीव्र गतिमा चलिरहेको भ्रष्टाचार, अनियमतिता र घुसखोरीको वेग केही सुस्त होला कि ? ठूला योजना भनेर सुरु गर्न लागिएका फजुल र वातावरणघाती बहुलट्ठी योजना केही समयका लागि भए पनि रोकिएलान् कि ? भ्युटावरहरू बन्ने क्रममा केही सुस्तता आउला कि ?

लेखलाई एउटा सकारात्मक सम्भावनामा पुर्‍याएर बिट मार्न चाहन्छु- ओलीको सत्तास्वार्थका कारण नेपाललाई अहिले एउटा अवसर आएको छ । त्यो अवसर भनेको ओली र उनीजस्ता अरूको विषाक्त राजनीतिलाई चिन्ने र त्यसलाई परास्त गर्ने हो । संसद् पुनर्स्थापना भए पनि वा निर्वाचन भए पनि नेपालको राजनीति ओलीवादबाट मुक्त हुने दिशामा अघि बढ्ने अपेक्षा गरौँ ।

शिलापत्र बाट 


क्याटेगोरी : विचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस