Techie IT
×
गृहपृष्ठविचारनेपाल कृषि प्रधान कि कुर्सी प्रधान देश ?

नेपाल कृषि प्रधान कि कुर्सी प्रधान देश ?

असार पन्द्र बिशेष


नेपाललाई कृषि प्रधान देश भनिन्छ । पहिले जिबिकोपार्जनको आधार कृषि थियो । निर्यात कम भए पनि आयात चाहिँ धेरै गर्नु पर्थेन । ग्रामिण क्षेत्रमा बसोबास बढी थियो । मानिसहरु बिहान देखि बेलुका सम्म हर समय खेतिपातीमै ब्यस्त हुन्थे ।एक पछि अर्को बाली गर्दै गर्दै गर्दा कहिल्यै फुर्सद हुन्थेन।

अति आवश्यक काम बाहेक शहर जाने चलन थिएन , साच्चै भन्नू पर्दा चलन भन्दा पनि आवश्यकता नै थिएन ।जो खाद्यान्न आफ्नो बारीमा उत्पादन हुदैन ती बस्तु खरिद का लागि मात्र शहर जानू पर्थ्यो। मलबीउ आदिका लागि त्यति समस्या थिएन । गोठभरी टन्न गाईबस्तु हुन्थे, प्रसस्त गोवरमल , कम्पोस्ट मल ,स्याउला , तिते पाती , खिरो , ढैचा, तिल , असुरो आदि बनस्पतिक मल प्रयोग गरिन्थ्यो । जग्गा जमिन बाझो राखिन्थेन । जग्गा बाझो राख्नु भनेको जग्गा धनीको सामाजिक प्रतिस्ठा र इज्जत सङ जोडिन्थ्यो । जग्गा बाझो राख्ने मान्छे अल्छि कहलाउथ्यो । गरेर खान नसक्ने हुतिहारा भनिन्थ्यो ।

कृसकका लागि सबै महिना ब्यब्स्त महिना हुन तापनी असार महिना मानो खाएर मुरि उब्जाउने महिना भएकोले बिशेष गरी यो महिना चाहि एउटा पर्व जस्तै हो। मुसलधारे वर्षा , भलबाढी पहिरो आदि चुनौती पार गर्दै गर्दै निकै कडा मेहनेत गर्नु पर्ने भएकोले कृषकहरु निकै पहिले देखीनै पुर्व तयारी गर्थे । खाजाका लागि जेठ महिनामै अनादी धान भिजाएर सिरौला कुटेर तयारी राख्थे ।

बर्खा झरीमा ओड्न बासका चोयाबाट बुनिएका घुम , छ्त्री , स्याखु ,कोदालो ,कोदाली, हलोको फाली आदि बेच्नेहरु गाउँ गाउँ चाहार्थे । राम्रो किनबेच हुन्थ्यो । नगद नहुनेहरुले मेलो पर्म तिर्ने शर्तमा लिन्थे ।प्रया: सबैका घरमा एक हल गोरु अनिबार्य जस्तै हुन्थे ।असारको हिलोमा जोत्न गाह्रो हुने भएकोले आफ्ना आफ्ना गोरूलाई तागतिला खानेकुरा , जरामुरा , जडिबुटी खुवाएर बलियो बनाएर राख्थे ।फाटका खेतभरी जमेको पानी अनि खेतका गराको सबा ( गौडो)बाट खसेको पानीको छङ छङ आवाजले छुट्टै अनुभुती दिलाउथ्यो। ठुला गराको बिचमा धानकै बिउको मुठाको भकारी थाप्ने , बाजागाजा सहितको बेठी लाउने , असारे गित गाउदै धान रोप्ने , हिलो छ्यपाछ्याप गर्दै जिस्किने ,गोरु हिलाम्मे बनाउदै दादे लगाउदा गोरु दौडाउने आदि दृश्य असारको रोपाइँ बिशेष दृश्य हुन्थ्यो । त्यही रमाइलो माहोल भित्र अझ रमाइलो थप्न आउने दिन पन्ध्र असार हो । पन्ध्र असारको लागि भनेर आफ्नै बारीको केराघारीबाट काटेर घ्याम्पामा पकाएको मालुवा केरा , आफ्नै घरको ढिकिमा कुटेका चिउरा , अनि आफ्नै गोठको लैनि भैसिको दुधबाट काठको ठेकिमा जमाएको दहि सालको पातको टपरीमा खेतकै चिसो आलिमा मकैका ढोड ओछ्याएर बसि धमिलो पानीले धोएको हातले मुछेर खादा पन्ध्र असारको स्वाद बेग्लै हुन्थ्यो ।

तर अहिले समय परिवर्तन भै सकेको छ । हाम्रो सस्कार सस्कृतीहरु मासिदै छन । आफन्त छन तर आफ्नो पन छैन । गाउँ बस्तीहरु उजाडिदै छन । शहरमा मानिसको चाप बढेको छ। अधिकाम्स खेतवारिहरु बाझा छन । अहिले खेत बाझो हुनु भनेको कुनै इज्जत सङ जोडिने विषय हुदैन । उत्पादनका हिसाबमा केही उन्नत प्रबिधी र बिउ बिजन भित्रिए पनि खेतमा काम गर्ने मानिसहरुको संख्या कम भैसकेको छ। पहिलेको खेती प्रणाली निर्वाहमुखी थियो तर अहिले ब्यबसायीकरण तर्फ अगाडि बढेको भए पनि अझकल्टो अवस्थामा छ ।

पुराना प्रबिधि हरु छोडिँदै गएका या काम नलाग्ने भएका छन भने नया प्रबिधी भित्र्याइ नसकेको अवस्था छ। अहिले कृषी पेशालाइ हेयको दृस्ठिकोणले हेरिन्छ।दुखी पेशा भनिन्छ।खास गरी हामी नेपालीहरु अहिले कृषि संक्रमणकालिन अवस्थामा छौ। परनिर्भरता बढेको छ । खेती गरेर खाने भन्दा बजारबाट किनेर खानुलाई हामी इज्जतिलो सम्झन्छौ। सारा पाखा पखेरा बगैंचामा राज गरेर ग्रामिण जीवन बिताएका,सयौं मुरि धान , प्रसस्त साग सब्जी फलफुल उमार्ने साहु मुखियाहरु पनि शहरभित्रका दुई चार आना जग्गामा बनेको सानो घर भित्र साझ बिहानको अन्न्न र सागसब्जी हाते झोलामा दैनिक किनेर खाएर जिन्दगी गुजार्दै छन ।

युवा पुस्तालाइ यो शैलि सजिलै पच्छ तर बाउबाजे पुस्ता यो शैली स्विकार्दैनन। निस्सासिन्छन ।त्यसैले कतिपय छोराछोरीहरुले शहरबजार मा सुख सयलमा सहर बसौं भन्दा बुबाआमाहरु गाउँघर मै रमाउछन र शहर आउन मान्दैनन। हरदिन खेतीपाती खेतबारी , बस्तुभाउ सङ रमाउनु नै सुख हो भन्छन । तर हामी सन्तती चाहिँ घरको छतको गमलामा एक बोट खुर्सानी फलेको देखेर खुशी हुन्छौ ,बोरामा उमाएको दुई चार पात साग देखेर रमाउछौ । कौसीमा दुई चार मसिना बोट लसुन प्याज उम्रीदा सेल्फी खिच्छौ , फेस बुकमा हाल्छौ अनि कसैले लेखीदिन्छ -” तपाइँ त कति परिश्रमी “।

भारतबाट आयतित केरा किन्छौ , चिउरा किन्छौ अनि महिनौ अगाडि देखि अन्य कुनै देशबाट आएको पाउडर दुधबाट बनेको दहि किन्छौ अनि सुकिलो गोडा बेल्जियम कार्पेटमा पुछेर सोफामा आड लगाउदै सेरामिक्सको प्लेटमा राखेर काटा र चम्चाले पस्केर खादै ” ह्याप्पी पन्ध्र असार ” मनाउछौ । यो खुवाइमा कहाँ पाइन्छ बास्तबिक पन्ध्र असारको स्वाद ? कहाँ भेटिन्छ मौलिकता ?
यस्ले हाम्रो सस्कार त जोगाउछ तर जुन मज्जा ,आनन्द हो त्यो चाहिँ लिन सकिदैन तर सस्कार हस्तान्तरण को लागि यति गर्नु पनि भावी पुस्ताको लागि चाहिँ ठिक छ।

अब प्रसङ्ग रह्यो , नेपाल कृषि प्रधान कि कुर्सी प्रधान त ?प्रश्न निकै जटिल छ । नेपाललाई कृषि प्रधान भन्नका लागि आवश्यक आधारहरु प्राय: छैनन अब । हामी हरेक कुरामा परनिर्भर हुन थाली सक्यौं । नहुनु पनि कसरी ?समयमा न बीउ पाइन्छ , न मल पाइन्छ ,न कृषिका लागि पर्याप्त जनशक्ति पाइन्छ , न सिंचाइको ब्यबस्था छ । गाई बस्तु पाल्ने चलन हटि सक्यो । कृषि आधुनिकीकरणका नाममा भित्रीने कृषि औजार तथा सामाग्रीहरुमा कमिशनका खेलका कारण न्यायीक बितरण छैन । उत्पादित बस्तुहरुको उचित बजारीकरण छैन । बिचौलियाहरुको बिग्बिगी छ । वास्तविक कृषकले श्रम र पसिनाको उचित मूल्य पाउन सकेका छैनन।

कृषि उत्पादन तथा ब्यबस्थापनका नाममा बर्सेनि करोडौं बजेट बिनियोजन हुन्छन , कृषिलाई मुख्य एजेन्डा बनाएर सत्ता प्राप्त गर्छन तर जब कुर्सीमा पुग्छन ती सबै वाचा भुल्छन। यहाँ वास्तविक कृषि सुधारको लागि लडाइँ देखिदैन ।यहाँ त कृषिको नारा बोकेर कुर्सीका लागि लडाइँ हुन्छ। उत्पादन वृद्धि , दैनिक बिदेशिने जनशक्ती रोकथाम

,उद्द्मीहरुलाइ प्रोत्साहन तथा सहुलियत आदि जस्ता कार्यमा सरकारको चासो देखिदैन । यहाँ चासो केवल कुर्सीको छ । कुर्सीका लागि सन्सदमा जस्तासुकै निर्णय पनि पारित हुन्छन ।यदि देशलाइ कृषि प्रधान र आत्मनिर्भर बनाउने हो भने बिचौलिया प्रथा अन्त्य , निशुल्क ढुवानी , सहुलियतमा मल बीउ तथा कृषि औजार बितरण , नगदे बाली उत्पादनमा प्रोत्साहन ,उत्पादित कृषिजन्य बस्तुहरुको उचित भन्डारण तथा प्रसोधनका लागि आवश्यक कलकारखानाको स्थापना गरी दैनिक बाहिरिएको जनशक्तिलाई रोजगार र लगानी गर्ने वातावरण दिन सक्नु पर्छ साथै कृषि ऋण प्रवाहा गर्दा देखिएका झन्झटिला कानुनी प्रक्रियाहरुमा पुनरावलोकन आदि गर्न सके मात्र देश कृषिप्रधान बन्न सक्छ।

हरेक जिल्लामा कृषि सेना भर्ती गरेर उर्वरायुक्त तर बाझो रहेका जग्गाहरु सरकारी तवर बाटै लिजमा लिएर कृषि प्राबिधिक टोलि या बिज्ञहरुको सहयोगमा आवधिक रुपमा तरकारी तथा फलफूल खेती गर्न सकिन्छ भलै त्यसबाट ठूलो मुनाफा नहोला तर नोक्सान पक्कै हुदैन र कमसेकम लाखौं जनशक्तिले स्वदेशमा रोजगारी पाउँछन् । अन्य बिभिन्न आकर्षक परियोजनाहरु मार्फत हरेक जिल्लालाई अन्न र तरकारीमा आत्म निर्भर बनाउने तथा गाउँ गाउमा कृषक समूह बनाइ सामुहिक खेती गर्न अभिप्रेरित गर्ने हो भने नेपालले कृषि क्षेत्रमा फड्को मार्न धेरै समय लाग्ने छैन नत्र देश सधै कागजमा कृषि प्रधान र बास्तविकतामा कुर्सी प्रधान नै भैरहनेछ बर्सौ सम्म ।


क्याटेगोरी : विचार, विचार/आलेख
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस