Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारपत्रकारिताको ‘अराजक’ पाठशाला

पत्रकारिताको ‘अराजक’ पाठशाला


लाखौंका सरकारी सटर खेर’ भन्ने शीर्षकमा मिस्टर किशोरचन्द्र गौतमको ‘बाईलाइन’ समाचार छापियो।
मिस्टर गौतम जी गोरक्षका तत्कालिन प्रकाशक थिए।
‘महामहिम’ विपुल पोख्रेलको नाम ‘सम्पादक’मा थियो
। तर, काम जिम्मेवारी जति सप्पै ‘गजेन्द्र बोहरा’का नाममा।
किनकि पोख्रेलजी त्यो बेला पनि नेपाल पत्रकार महासंघका उपसभापति थिए र, अहिले पनि।
पत्रिका बजार पुगेसँग पत्रकारका ‘अड्डा’हरुमा गाइँगुइँ सुरु भयो ‘गोरक्ष बौलायो…।’
‘गजे त झन् बौलाह नै हो।’
‘ऊ पागल हो।’
‘ऊ अराजक हो।’
‘दाङको पत्रकारिता बिगार्न थाल्यो।’
किनकि जिल्लाबाट निस्किने एउटा पत्रिकाले नजिकैको छिमेकी सहर तुलसीपुर बजारमा अलपत्र परेका सरकारी भवनको बारेमा ‘मेन न्यूज’ बनाएको थियो।

बौलाह छु, जिन्दगी अराजक बाँच्छु। अरुले भन्नुभन्दा पनि मैले आफैँ घोषणा गरेको कुरा हो यो, पागल छु त्यसैले त बाँचेको छु।
कसैलाई बाल!?

दाङका लागि यो अचम्मको कुरो थियो।
पत्रकारितामा झन् नयाँ प्रयोग नै थियो।
अनि पत्रकारका लागि त्यो एउटा झन् नयाँ कोर्ष थियो।
हो, म बौलाएकै हो। गोरक्ष पनि बौलाएकै हो।
बौलाह छु, जिन्दगी अराजक बाँच्छु। अरुले भन्नुभन्दा पनि मैले आफैँ घोषणा गरेको कुरा हो यो, पागल छु त्यसैले त बाँचेको छु।
कसैलाई बाल!?
पत्रकारिता बगिरहने नदी हो। ‘सागर’ बनेर म थामिँदैन।
गोरक्ष बौलाएको थियो किनकि जिल्लाको एउटा ‘जाबो’ इस्यूलाई मेन न्यूज बनाउने?
‘बरिष्ठ’हरुलाई नटेर्ने?
पत्रकारिताको ‘विरासत’ भत्काइदिने?
हो, मैले गरेकै हो। ‘गोरक्ष’ समूहले गरेकै हो। भत्काएकै हो। नटेरेकै हो।
हो, हामीले दंगाली पत्रकारिताको एउटा बलियो ‘मिथक’लाई बदल्न खोजेकै हो।
किनकि हामीले केही नयाँ गर्न चाहन्थ्यौँ।
र, अन्ततः हामीले दाङमा अनि दंगाली पत्रकारितामा एउटा नयाँ ‘ट्रेन्ड’ स्थापित गरेकै हौँ।
त्यो बेलासम्म दाङमा एउटमात्रै दैनिक पत्रिका थियो युगबोध दैनिक । तुलसीपुर चोकको ‘लम्साल पुस्तक’ पसलबाट मैले २ रुपैयाँमा त्यो पत्रिका किन्थेँ।
माउन्ट एभरेष्ट गेष्ट हाउसको ‘वेटर’ हुँदाको कुरा थियो त्यो।
गेस्टहरुले दिएको ‘टिप्स’ मलाई पत्रिका किन्न काम लाग्थ्यो। त्यहाँ वेटर हुँदा धेरै पत्रकारहरुलाई मैले चिया, नास्ता ‘सर्भिस’ गरेको छु।
दिनहुँ जसो कुनै न कुनै कार्यक्रमहरु भइरहन्थे। त्यहाँ पत्रकारहरु गइरहन्थे। ती मध्ये अलि चल्तापूर्जा पत्रकार थिए, सरद अधिकारी।
अलि फरक पनि थिए, किनकि उनको ‘दारी’ अहिले पनि चर्चित छ। मैले त्यो बेला ‘नोटिस्’ गरेका पत्रकार उनै थिए।
‘मेरो दारी, दुनियालाई के को भारी।’
यो, पनि हाम्लाई बाल भो र?कसैको त्यो विशुद्ध प्राइवेट फेसनसँग कसलाई के चासो?
गाउँघर पत्रिकामा एउटा ‘कविता’ छाप्न गएपछि तत्कालिन सहसम्पादक भुवन देवकोटाले मलाई पत्रकारितामा ‘यूटर्न’ गरिदिए।
‘द गाउँघर विक्ली’ अर्थात् यो पत्रकार उत्पादनको दंगाली कारखाना नै हो भने पनि हुन्छ।
सायद अहिले यो कोकामा छ क्यार।
जिन्दगीको अर्काे अराजक यात्रा त्यहीँबाट सुरु भयो।
गोरक्षमा छिरेँ। त्योभन्दा अघि ‘सूचनापत्र’ साप्ताहिक पनि केही हप्ताहिक भयो।
त्यसका कमाण्डर मिस्टर पूर्ण बस्नेत अहिले डेनमार्क(कोपनहेगन)का कुनै टापुहरुमा सायद ‘कथा–टुक्रा’ जोड्दै होलान्।
आदिम केसी गजलकार, गीतकार, कथाकार सबै कार जोडिएको ‘साहित्यकार’ प्लस मास्टर साव भइगए।
अर्काे गजलकार के रे?, राकेश ‘दीनदयाल’ बस्नेत काजीलाई अझैँ पनि साप्ताहिकको ‘ह्याङ’ ओभर बाँकी नै छ, ‘साक्षी खबर’ त्यसको जिउँदो साक्षी हो अहिले पनि।
नारायणपुरतिरका भोला बुढाथोकी ब्यापारी भइराछन् क्यार।
पत्रिकाका सल्लाहकार! मिस्टर विपुल पोख्रेल र सुदीप गौतमहरु त छँदैछन्। गौतम जी अहिले राजनीति पढाउने लेक्चरल पनि भाछन्।
धेरैपछि उनलाई भेटेर बधाइ दिएको थिएँ।
गोरक्ष छिर्नुभन्दा अघिको यो एउटा ‘नोस्टाल्जिक’ यात्रा थियो यो।
अँ, गोरक्ष छिरेँ।
पहिलो सम्पादक, मिस्टर केपी घिमिरे। कुनै बेला कान्तिपुरमा उनले आफ्नै बाउका विरुद्ध समाचार पनि लेखेका थिए रे।
घिमिरेले अपीसमा त बस्नै नदिने।
‘जाऊ जाऊ बाहिर गएर केही खोजेर ल्याओ, भित्र बसेर समाचार भेटिन्छ?, के जात्रा हो यो?’
उनले हाम्लाई खुब खेदे। खुब दौडाए।
त्यसैले उनलार्ई सधैँ मैले धन्यवाद दिन्छु, पत्रकारितामा उनले नै मलाई दौडिन सिकाए।
रोकिन दिएनन् र, म सधै नदी बनिरहेँ। सागर भएर कहिल्यै जमिनँ जम्ने पनि छैन।
त्यो बगाईको एउटा रफ्तार अहिले पनि गोरक्षसँग छँदैछ।
समाचार संयोजक लिला शाह। त्यो बेला एनटिभीको खतरा पत्रकार। अहिले रेडियो हाइवे। देउखुरीको हाइवे छेउमै छ त्यो रेडियो।
फोटो पत्रकार मिस्टर रोशनमान श्रेष्ठ। अंग्रेजीका मास्टर उनका बाऊले त्यो बेलाको सरकारी जागिर छोडेर घोराहीमा फोटो खिच्ने पसल खोलेछन्।
बरा, रोशनमान श्रेष्ठ। बाउका क्यामेरा खेलाउँदा खलाउँदै फोटो पत्रकार बने। पहिला त आफूलाई फोटो ग्राफरमात्रै भन्थे उनले। पत्रकार भन्नै नसक्ने।
पहिलोपटक गोरक्षले उनलाई फोटो पत्रकार भनेर नियुक्ति दियो।
थोरै भए पनि पैसा दिने गरेर।
यो पनि एउटा नयाँ अभ्यास थियो, किनकि दाङको पत्रकारितामा ‘फोटो पत्रकार’ भनेर सायद पहिलोपल्ट नै कोही पत्रकार भएको थियो भने त्यो उनै थिए।
पूर्ण काजी त भइगए। खत्रा टाइपिङ हान्थे बुडाले। अझँ त्यसमा पनि कार्यकारी सम्पादक ।
उनीसँगैका मिस्टर हरिदेव ओलीले अझैँ पनि गोरक्षकै कम्प्यूटरमा औंलाहरु ति दौडाइरहेका छन्।
माया प्रेम यस्तो कि, यता जान्छन्, उता जान्छन्। गोरक्ष छोड्छन्। यो गर्छन्, ऊ गर्छन्, फेरि गोरक्ष आइजान्छन्। अँह न, उनले गोरक्ष छोड्न सके न, उनलाई गोरक्षले।
घुमिफिरि रुम्जाटार हैन, ‘गोरक्षटार।’
किशोरचन्दै गौतम सन्चालक समूहमा थिए।
विपुल, सुदीप दाइहरु सल्लाहकारको भूमिका थिए।
चमन धिताल। अहिले अंग्रेजीको लेक्चर प्लस मास्टर भएको छ।
दामोदर अधिकारी अहिले बिजनेश गर्छन् सायद। भेट नभएको धेरै भइसक्यो। चमनसँग त बेला बेला ‘पार्टी’ जमिरन्छ।
इन्द्रविवश अलिपछि आए हामीसँग जोडिन। र, अहिले पनि त्यहीँ छन्।

उसले प्रेसमा खेर भएका कागजहरु थुप्रो लगाउँथ्यो। पत्रिकामा काम गरेर म धेरैजसो त्यही कागजको थुप्रोमा सुत्थेँ।
जिन्दगी ऐलानी नै हो नि ऐले पनि ।

अलिपछि गोपाल शर्मा भट्टराई आइपुगे। उनी अहिले तुलसीपुर बजारमा अर्काे एउटा दैनिक पत्रिकाका हेड सम्पादक छन्।
मिस्टर खेमराज रिजाल, धेरैपछि आइपुगे काठमाडौँ छेडेर। त्यो पनि कान्तिपुर छोडेर।
‘विपुल’ विरासत अहिले उनैले धानिरहेका छन्।
एउटा भुल्नै नहुने पात्र हो राजकुमार चौधरी, कान्छो।
एघार कक्षामा पढ्ने पैसो नपुगेर जागिर खोज्दै हिँडेको केटो।
कसैले गोरक्ष प्रेसमा जान भनेछ, बिचरो गयो। पद थियो प्रेसको हेल्पर। अफसेट प्रेस मेसिनमा कागज मिलाउने, मसी हाल्ने, पुछ्ने सफा गर्ने। चीफ अपरेटरको सहयोगी।
बरा, बकाइदा पूरै इन्टरभ्यू दिएछ उसले त्यो पदका लागि। थरिथरि क्वईशनहरु सोधिएछन्।
धन्न पास पो भएछ त। साँझ पत्रिका छापिन्थ्यो। दिनभरि अरु के केजाति छाप्थे। उसलाई हामीले कान्छो भन्थ्यौँ अहिले पनि त्यही नै हो।
उसले प्रेसमा खेर भएका कागजहरु थुप्रो लगाउँथ्यो। पत्रिकामा काम गरेर म धेरैजसो त्यही कागजको थुप्रोमा सुत्थेँ।
जिन्दगी ऐलानी नै हो नि ऐले पनि ।
बिहानै उठेर उसले मिलाएर राखेका केही मुठा पत्रिका साइकलपछाडि हालेर बसपार्क पुग्थेँ र ठाउँठाउँमा जाने बसहरुमा हाल्दिन्थेँ।
एउटा थोत्रो एट्लस साइकल थियो अपिसको।
नमस्कार है, नरेश आचार्य दाजी। यिनैले त्यो साइकलको व्यवस्था गरिदिएका थिए। अहिले बोर्डिङ स्कूलका मालिक पो छन् क्यारे।
त्यही ठीकै भो बुडालाई पत्रिकाको मालिक भएर कसलाई के भो र, हैन दाजी ?
ल्याण्डलाइन टेलिफोन मात्रै थियो। नेट थिएन। मोबाइल थिएन। जिल्लामै भएका कार्यक्रम अनि त्यहीँ खोजिएका केही साना समाचारहरुले पत्रिको भित्रतिरमात्रै ठाउँ पाउँथे।
पहिलो पेज राजनीतिक हुन्थ्यो। त्यो पनि काठमाडौँमा नेताहरु बोलेको। एउटा सांसद काठकाडौँमा बोल्दा पनि त्यो हाम्रो पत्रिकामा मेन न्यूज हुन्थ्यो।
मिस्टर सन्तोष सुवेदी पत्रकारितमा डिग्री पढ्न काठमाडौँ गए। उनले त्यहीँ नेपाल एफएममा पनि काम गर्थे।
गोरक्षका काठमाडौँ प्रतिनिधि उनै थिए।
राति १२ बजेसम्म पनि उनले काठमाडौँबाट नेताका भाषणहरु हातले लेखेर फ्याक्स गर्थे।

सबै सुतिसकेपछि कहिलेकाहीँ त्यो कम्प्यूटरलाई सिरकले ढाकेर आफू पनि ढाकिएर मैले मुसारिरहन्थे।
कम्प्यूटर छुन मन लाग्थ्यो पूर्ण बस्नेत छुनै नदिने। एउटा सानो डिजिटल क्यामेरा थियो, केपी घिमिरे छुनै नदिने।
आफूलाई छुनमात्रै पाए कस्तो हुँदोहो भन्ने लाग्ने।
रहर पनि अनेक हुने, दुःख पनि ।

पातलो कागजको लामो लहरो लिएर पूर्ण बस्नेत काजीलाई बुझायो। उनी टाइप हान्थे र, त्यो मुख्य समाचार थियो।
कहिले त काम गर्दा गर्दा बिहान उज्यालै हुने। छाप्दा छाप्दै प्रेस बिग्रिजाने। कम्यूटर पनि भन्नुमात्रै ।
अहिलेको जस्तो होइन, ती ‘भड्डु’ कम्प्यूटर पनि हामीलाई छुन नदिने। कम्प्यूटर राखिएका कोठमा कसैलाई पनि जुत्ता चप्पल लगाएर जान छुट थिएन। त्यसमा ‘भाइरस’ लाग्छ रे।
सबै सुतिसकेपछि कहिलेकाहीँ त्यो कम्प्यूटरलाई सिरकले ढाकेर आफू पनि ढाकिएर मैले मुसारिरहन्थे।
कम्प्यूटर छुन मन लाग्थ्यो पूर्ण बस्नेत छुनै नदिने। एउटा सानो डिजिटल क्यामेरा थियो, केपी घिमिरे छुनै नदिने।
आफूलाई छुनमात्रै पाए कस्तो हुँदोहो भन्ने लाग्ने।
रहर पनि अनेक हुने, दुःख पनि ।
केपी घिमिरेले एक दिन राजीनामा दिए। कारण त अहिलेसम्म थाहा छैन।
फेरि अर्का के जाति घिमिरे भन्ने एकजना वृद्ध सम्पादक नियुक्त भए।
उनी गोरखापत्रबाट रिटायर्ड भएर आएका।
कार्यालयमा कान्तिपुर पत्रिका आउँथ्यो। पछि उनले गोरखापत्र पनि थपे।
म कान्तिपुर पत्रिका खुब पढ्थेँ। नयाँ नयाँ तरिकाका समाचारहरु, नयाँ एंगल।
म गोरक्षमा पनि त्यस्तै केही नयाँ गर्न खोज्थेँ। बुढाले गर्नै नदिने। पछि त, कान्तिपुर बन्द गराएर गोरखापत्र मात्रै मगाए।
कान्तिपुर पढेर मैले पनि गोरक्ष बिगार्न थालेँ रे।
ओहो, मान्छेका दुःख पनि।
केही महिनापछि उनले पनि गोरक्ष छोडे। मिस्टर विपुल पोख्रेल सम्पादक भए।
पोख्रेल धेरैजसो काठमाडौँ बस्ने। काम जति मेरै थाप्लोमा।
त्यो बेलासम्म ‘गोरक्ष ग्रुप’ कोल्याप्स भइसकेको थियो। पत्रिकाका राजिव गौतम र किशोरचन्द्र गौतम ब्रदरर्सले गोरक्ष लिए।
पछि किशोरचन्द्र गौतममात्रै सिंगल प्रकाशक भए।
विपुल पोख्रेलले सबै जिम्मेवारी मलाई नै सुम्पेका थिए। सम्पादकीय जिम्मेवारी।
त्यही बेला मैले ‘मेन न्यूज’को ट्रेन्ड चेन्ज गर्ने प्रस्ताव गरे। गौतमजीले सजिलै प्रस्ताव पास गरिदिए।
अब लोकल इस्यूलाई नै मेन न्यूज बनाउने।
तर, कस्ले लेख्ने?
तुलसीपुरमा पहिला देवीराम कुसारी पनि थिए । पछि उनले छोडिगए । अहिले त खतरा रेस्टुरेन्टको मालिक पो भाछन्, बबई किनारामा । माछा खुवाउँछन् रे, खुब मीठो । बबईको ।
त्यसपछि तुलसीपुरमा गोरक्षका संवाददाता थिए, बालाराम खड्का।
उनले पहिला समाचार लेखेका थिए, एउटा सरकारी भवन सटहरुमा छाडा गाइगोरु बस्छन्, अलपत्र परेको छ भन्नेखालको थियो।
त्यो समाचार भित्रपेजको कतै कुनामा सानो भएर छापिएको थियो।
पेज भर्ने न हो, इस्यू सिस्यू भाँडमे जाए।
‘अब त्यसको फलोअप गएर त्यसलाई मेन न्यूज बनाऔँ।’
प्रकाशक गौतम हौसिए, मै जान्छु समाचार लेख्न। त्यही एउटा डिजिटल क्यामेरा गोजामा हालेर, उनी बाइक हाँकेर तुलसीपुर पुगीवरी साँझपख फर्किए। समाचार लेखे। ५ कोलममा त्यो मेन न्यूज छापियो।
समाचार छापिएपछि त्यो भवनका सटरहरुलाई सिप विकास केन्द्रले स्याहार्न थाल्यो। भाडामा लगाइयो र राजश्व उठ्न थाल्यो।
दंगेली पत्रकारितामा स्थापित एउटा ‘मिथक’ हामीले त्यहाँ ब्रेक ग¥यौँ। बौलायौँ। अराजक भयौँ। पागल भयौँ।
र, अहिले दाङबाट निस्किने हरेक जसो पत्रिकाहरुको मुख्य समाचार जिल्लाकै हुन्छन्। वरिपरिकै हुन्छन्। जनजीविकासँग प्रत्यक्ष गाँसिएका हुन्छन्। मानवीय अभिरुची समेटिएका हुन्छन्।
अनि एक दिन,
सन्तोष थारुलाई भनेँ, ‘थारु भाषाका लेख, समाचारहरु खोज दुई पेज दिन्छु, प्रत्येक हप्तामा एक दिन।’
थारु जोस्सियो। उसैलाई जिम्मा दिएँ। राजकुमारले पनि साथ दियो। साताको एक दिन शनिबार दुई पृष्ठमा थारु भाषाका समाचार, लेखहरु छापिन थाले।
हामी फेरि अर्काे पटक बौलायौँ। अराजक भयौँ। अहिले युगबोधले पनि थारु भाषाको पेज निकाल्छ।
यो नरेन्द्र केसीहरु पनि बौलाए कि क्या हो ?केसी महोदय, मेरो पत्रकारिता जीवनमा सधै अघि बढ्न हौसला दिइरहने, मैले भुल्नै नसक्ने एउटा पात्र हुन्।
नरेन्द्र, गजेन्द्रहरु बौलाउनै पर्छ मिस्टर केसी जी।
परिवर्तनका लागि धेरथोर पागलपन तो जरुरी होता हे यार।
शिक्षक लाइसेन्स भएको अनियमितताको समचारलाई हामी लगातार पछ्यायौँ। गोपाल शर्मा भट्टाराई पनि त्यो बेला बौलाएकै हुन्। समाचार लेखेर एक जना भ्रष्ट्र जिशिअलाई रातारात भाग्न बाध्य पार्ने?
यो हाम्रो समाचार क्याम्पेनिङको एउटा नयाँ सुरुवात थियो। समाचार फलोअपको एउटा नमुना श्रृङ्खला थियो। जो यसअघि दाङमा भएकै थिएन।
कि कसो, भट्टराई जी। फेरि उनी ‘प्रदेश टुडे’ पत्रिकाको सम्पादक भएर बौलाउँदैछन् क्यार।
इफ यू, डोन्ट माइन्ड, बौलाउनु पर्छ है, गोपाल जी।
पछि पोख्रेल जीले पनि राजीनामा दिनुभयो। त्यो बेलासम्म गौतम जीले पत्रिका बेचिसकेका थिए ।
तेजबहादुर कार्की प्रकाशक भए। गजेन्द्र बोहरा सम्पादक।
अब झन् मेरो बौलाहपन, पागलपन अनि अराजकता कसले छेक्ने?
छेउछाउकै समाचारहरु टिपेर समाचारका हेडलाइन बनाउँदा पागल भएँ।
कसैका पीडा, दुःख, खुसी र प्रेरणाहरुका समाचारहरु मुख्य बनाउँदा अराजक भएँ।
छेउछाउँका विकास निर्माणका कामहरुलाई मेन न्यूज बनाउँ बौलाएँ?
मैले पूरै गोरक्ष ग्याङलाई नै पागल बनाएँ। बौलाह बनाएँ। अराजक बनाएँ। र, अहिले सारा पत्रिका ‘अराजक’ भइरहेका छन्। जिल्लाको समाचारलाई मेन न्यूज बनाए।
अराजक पनि यतिसम्म कि, प्रकाशकले पत्रकारहरुलाई न्यूनतम तलव दिन नसक्ने बताएपछि पत्रिका नै ननिकाल्ने घोषणा गरिदिएँ।
फेरि तपाइँ भन्नुहोला यो त, जनताको सूचनाका हकको विरुद्ध भयो।
यो ‘हक’ पत्रकारको मात्रै ठेक्का होइन।
मेरो मान्यता अलि फरक छ। कुनै बेला थियो होला। पत्रकारिता समाजसेवा। यसले जनताको सूचनाको हक, बोल्ने हक सुरक्षित गरेको छ, अथवा आजभोलिको भाषामा भन्दा ‘अभिव्यक्ति’ स्वतन्त्रता।
तर, मलाई के लाग्छ भने, हामीले समाजसेवा गरेका होइनौँ। पैसा लिएर गरिने कामलाई समाज सेवा भनिदैँन।
हो, हामीले गरेको कामबाट समाज सेवा भएको होला, हुन्छ पनि। जनताको बोल्ने अधिकार सुरक्षित भएको होला, हो पनि। यो त राम्रै भयो नि।
पत्रकार महासंघको सचिब पनि भइखाए एकचोटी । काम त केही नि गरिनँ । किनकि कार्यक्रमवाला काममा मलाई अरुची नै लाग्छ । बिचरो डिल्ली मल्लका दुःखका भारी । ऊ सहसचिब थियो । खुब दुःख पायो ।
अनि त्यो बेला नि, धेरै पत्रकारहरुले तलव नपाएको गुनासो गर्थे अनि मेरो जवाफ हुन्थ्यो ‘जहाँ पैसा त्यहाँ कामै नगर सक्किगो नि ।’
हो, हामी आफै पनि त्यस्तै छौँ । हामीलाई नियुक्ति नि नचाहिने । तलवको वार्गेनिङ पनि नगर्ने ।
केही दिन त रमाइलै हुन्छ हो, पत्रकारिता गर्न । तर, जब पेटको सवाल आउँछ अनि बल्ल देखिन्छ तोरीका फूल।
तलवै नदिने ठाउँमा किन पो काम गर्ने र?
हेर्नुस् त कस्तो अराजकता।
मैले आफूलाई नै २० हजार नभई काम गर्दिनँ भने । केही समय त प्रकाशक केही बोलेनन्, फेरि २० हजार नै तलव तोकि दिए।
‘फेरि एकपटक बजार तातियो, गजेले पत्रकारको रेट बिगार्यो।’
हो, बिगारेकै हो । हामी किन फोकटमा काम गर्ने ?
हेर्नुस् न म कतिसम्म अराजक के।
हो। पक्कै त्यही हो।
हुन त म हदैसम्मको अराजक नै थिएँ।
मेरा सहपाठी थिए, दुर्गालाल केसी, शुभचिन्तक पनि। मैले लेखेका समाचार, म सम्पादक भइसकेपछि पनि निरन्तर सुझाव दिने, आलोचना गर्ने काममा उनी इमान्दार नै हुन्। अहिले पनि।
तर, मैले सधै उडाइ दिन्थेँ। मलाई बाल !
तथापि म भित्रभित्रै सबैका सल्लाह, सुझाव र, आलोचनालाई आफ्नै तरिकाले स्विकार्थेँ र, पत्रिकाका फेरि त्यस्तो हुन नदिनँ सचेत हुन्थेँ।
पत्रिका छाप्दा जहिलै केही न केही गल्ती भइराख्ने। अहिले त केही गल्ती भयो भने, ‘यो त गोरक्षको विशेषतै हो नि’ भन्ने मिथक स्थापित भइसक्यो।
एक दिन चिया पसलमा कसैले मलाई भन्यो ‘पत्रिकाको माथि मिति त सही लेख न यार।’
मैले पनि प्याच्च भनिदिएँ ‘हामीले क्यालेन्डर छापेको हो र? पत्रिका हो। मिति क्यालेन्डरमा हेर्ने, पत्रिकामा समाचार पढ्ने हो।’
हेर्नुस् न कतिसम्मको अराजक है म। अनि गोरक्ष।
हैट्।
तर, साँझ गएर कम्प्यूटर अपरेटर हरिदेव र राजकुमारलाई भनेँ पत्रिका डिजाइन गर्नुभन्दा अघि सधै माथिको मिति चेक गर्नु।
गल्ती त अहिले पनि भइरहन्छ।
अँ हो त, त्यो इन्टरभ्यू दिएर, प्रेस हेल्पस भएको केटो थियो नि राजकुमार त्यो त अहिले खतरा ‘डिजाइनर पो हो त।’
एक दिन यू ट्यूबमा हेरेर पनि कतिपय कुरा सिक्न सकिन्छ भनेर के भन्देको थिएँ केटो त रात दिन यूट्यूबमा घोटिएर डिजाइनिङका सारा काम सिकेछ।
अहिले कम्प्यूटर पनि चलाउँछ। मेसिन चलाएर पत्रिका पनि छाप्छ। मेसिन बनाउने मिस्त्री पनि भएको छ। हल्का फुल्का बिग्रिएका कम्प्यूटर खोलखाल पारेर ट्याक्कै पार्दिन्छ।
केटो ट्यालेन्ट त हो नि। अलिअलि गाडी चलाउन नि सिकेछ क्यारे।
त्यो युगबोधको एकराज भन्डारीजस्तै।
गोरक्ष छोडेर म राप्ती समाचार दैनिकको सम्पादक थिएँ।
एकराज भन्डारी प्रेसमा काम गथ्र्याे। गाडी पनि चलाउँथ्यो।
ख्याउटे, सुकुटे शरीर बिचरो के चलाउँदो हो भन्ने सोचेँ पहिलो भेटमा त। तर, नाइँ रैछ केटो त। सब चलाउन जान्ने।
पत्रिका पनि बाँड्छ। गाडी पनि चलाउँछ। प्रेस मेसिन पनि चलाउँछ। राजकुमारको संगतले अहिले त ‘कलरवाला’ युगबोध दैनिकको खत्रा डिजाइनर पनि भइसक्यो।
बरा, एकराज। कैलेकाइँ दाङ जाँदा त्यो सँग नि खुब जम्छ।
राप्ती समाचारमा हुँदा,
सम्पादकीय लेख्दा लेख्दै झ्याउ लाग्यो।
केटाहरुलाई बाहिर बोलाएर, चुरोट सल्काएँ।
त्यो एकराजले के भन्यो भने, ‘दाई तपाइँ त सम्पादक हो, हकरहरुसँग बसेर चिया चुरोट खाँदा अप्ठारो लाग्दैन।’
मुला एकराज। त्यही भएर त म पागल छु। अराजक छु। बौलाह छु। किनकि मैले समाचारमा पनि त्यही ‘लेभल’का मान्छेका कथा बनाएँ। संगत पनि त्यही।
आफ्नो पोस्ट, सोस्ट भाँडमे जाए। काम त उही हो नि। पत्रकार इज् अलवेज पत्रकार। सम्पादक होस् कि रिपोर्टर।

अलिअलि भए पनि गोरक्ष आफैँ बाँच्न सक्ने भएको छ अरे, प्रकाशक सुलोचना भाउजुले सुनाउनुहुन्छ।
झल्झल्ती सम्झिन्छु ति दिनहरु। कठै नि, बिचरा किशोरचन्द्र गौतम जी। हामीलाई तलव दिन नसकेर धरधरी रोएका ति पलहरु।

अब, गोरक्षतिरबाटै बिट मारौँ।
पत्रिकाको कार्यालय घोराहीबाट तुलसीपुर भयो। म पनि तुलसीपुर सरेँ। सर्ने क्रम त्यहीँबाट सुरु भयो।
म जस्तै गोरक्ष पनि बगिरह्यो। कहिले घोराही, कहिले तुलसीपुर। कहिले विपुल पोख्रेल, कहिले गौतम जी र, कहिले कार्की जी। कहिले घिमिरे जीहरु।
र, फेरि विपुल जी।
गज्जप। अलिअलि भए पनि गोरक्ष आफैँ बाँच्न सक्ने भएको छ अरे, प्रकाशक सुलोचना भाउजुले सुनाउनुहुन्छ।
झल्झल्ती सम्झिन्छु ति दिनहरु। कठै नि, बिचरा किशोरचन्द्र गौतम जी। हामीलाई तलव दिन नसकेर धरधरी रोएका ति पलहरु।
आफूले स्कूलमा पढाएको तलव लिएर बाँड्दा पनि नपुगेका ती अभावका क्षणहरु।
मिडिया प्रोफेशनसँगै एउटा बिजनेश पनि हो। त्यत्तिबेलै लागेको थियो यी गौतम जी ब्यापार गरिखाने मान्छे त होइनन् भन्ने।
नभन्दै त्यस्तै भयो। उनले पत्रिका बेचिदिए।
आज खुसी लाग्छ।
गौतम जी पनि खुसी नै होलान् सायद, कम्तीमा विरासत त जिउँदै छ नि।
कि कसो गौतम जी?
लौ, १५ वर्ष पो पुगिसके छ त, गोरक्ष।
हुन त गोरक्षमै हुँदा जन्मिएको छोरो पनि नौ वर्ष त लागिसक्यो। काम गर्ने टेबल कुर्सीमा धेरै पटक तुर्काइदिएको छ, छोरोले।
कैयाँ रातहरु आफू बस्ने कुर्सीमै छोरो सुताएर काम गरेका यादहरु अहिले पनि ताजै लाग्छन्।
तर, १५ वर्ष पुगिसकेछ बरा।
आज म जहाँ छु नि, त्यसको एउटा विशाल पाठशाला हो, मेरो लागि गोरक्ष।
हुन त, कहाँ पो छु र?
आज पनि याद आइरहन्छ, रेडियो स्वर्गद्वारीको एउटा आवाज मिस्टर देवेन्द्र बस्नेत।
यो बस्नेत काजी, राति दश बजेसम्मै समाचार खोकिरहन्थ्यो। म गोरक्षमा अक्षर कुँदिरहन्थे। कहिले १२ बजे त, कहिले १ बजे चिया र चुरोट खोज्दै लमहीसम्मै पुगिन्थ्यो। लमही राजमार्गको उज्यालोमा चिया र चुरोट सकेर फर्किन्थ्यौँ।
हुन त, हाम्रै ग्याङका साथीहरु थिए, पाँच सय रुपैयाको पेट्रोल बाइकमा भरेर, धानखोला पुगेर २० रुप्पेको स्वाट्ट पारेर आउनेहरु।
व्यवस्थापक भइआएका गोविन्द रेग्मी दाई, किरण गौतमहरुलाई पनि खुब सम्झेको छु। आज यी दुबै घोराहीका व्यापारी भइरहेछन्।
त्यही ग्याङको अर्काे सुनिल विवश लामिछाने, जसको थोत्रो बाइक ढलाउँदै, चलाउँदै गर्दा गर्दै मैले बाइक चलाउन सिकेँ।
फेरि नोस्टाल्जिकमै पो डुबेछु।
अँ गोरक्ष तिमी त, १५ वर्षे लक्का पो हुँदैछौ त।
खुब दुःखपूर्ण बालापन भोग्यो बिचरो गोरक्ष । म जस्ता धेरै पत्रकार जन्मिए । यसो हेरी ल्याउँदा लाग्छ, यो गोरक्षको पत्रकारिता पाठशालाबाट निस्किएका कोही पनि फेलोहरु अहिले खाली छैनन् ।
कुनै न कुनै नोटिस् हुने ठाउँमा पुगेकै छन्, पत्रकारिताको होस् या अरु नै फिल्ड ।
जिल्लामा पत्रकारिताको एउटा कोर्ष नै परिवर्तन गरिदिएको छ गोरक्षले १५ वर्षमै ।
अब लास्टमा एउटो कुरो नि, यसले पत्रकारिताको ट्रेन्डमा धेरै परिवर्तन त ग¥यो तर, बिचरो आफै पनि परिवर्तन त हुन प¥यो नि।
अब ‘कालो–सेतो’ अलि पुरानो भयो। रंग फेरौँ। यसको कलेवर चेन्ज गर्दिने कि।
अब यतातिर सोच्नुस् प्रकाशक सुलोचना भाउजु। अनि विपुल दाजी।
शुभकामना, गोरक्ष अनि परिवारलाई।
अरु त यस्तै त हो नि ब्रो…

(लेखक गोरक्ष राष्ट्रीय दैनिकका पूर्व सम्पादक एवं नेपालको पहिलो अनलाई पत्रिका नेपाल न्यूजका वर्तमान सह-सम्पादक हुन्)

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस