Techie IT
×
गृहपृष्ठग्लोबलगल्फराष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित, एनआरएनए अध्यक्ष आचार्यद्वारा निर्णयको स्वागत

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित, एनआरएनए अध्यक्ष आचार्यद्वारा निर्णयको स्वागत


राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भएसँगै यो विधेयक राष्ट्रियसभामा आएको थियो । त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।

उक्त बिधेयकको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएले स्वागत गरेको छ ।एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका लागी यो अत्यन्तै ख़ुशीको अवसर रहेको बताए ।

आचार्यले रास्ट्रीयसभाको विहीवार बसेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित समेत गरेकोमा आफूलगाएत समस्त गैर आवासीय नेपाली खुशी भएको बताए । आचार्यले उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेकाले सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास लिएको समेत जनाएका छन ।

उनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुलेको जनाउदै प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सम्पूर्ण सांसदहरु, माननीय गृहमंत्री, कानून मंत्री, सबै राजनीतिक दलका नेताहरु, कानूनविद्, संचारमाध्यम लगायत संघका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिएका छन । संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्ने यो प्रयासले छिट्टै सार्थकता पाउने अपेक्षा गरेको आचार्यले बताए । अध्यक्ष आचार्यले आफ्नो बर्षों देखिको सपना पुरा भएको जनाउदै अव देशमा ठुलो लगानी थपिने बताए । आचार्य सन २०११ देखी नै गैर आवासीय नागरिकताको मुद्दा बोक्दै अग्रणी रोल खेल्दै आएका ब्यक्ति हुन ।

यसैगरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव डा। केशव पौडेलले लामो समयदेखि प्रतिक्षा गरिररहेको नेपाली नागरिकताको निरन्तरताको पहिलो सफलता स्वरूप गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता भएकोमा खुशी ब्यक्त गरेका छन ।
उनले संघ स्थापना भए देखिनैं आफुहरुले उठाउँदैं आएको गैर आवासीय नेपाली नागरिकताको मागलाई सम्बोधन गर्ने गरी गैर आवासीय नेपाली नागरिकता सहीतको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ नेपालको रास्ट्रीयसभाको विहीवार बसेको बैठकले पारित गरेकोमा अत्यन्तै खुशी भएको बताए ।
उनले यो संसारभरी रहेका आम नेपालीहरु र हाम्रा सन्ततीलाई मातृभूमि नेपालसँग जोड्नका लागि यो कोसेढुंगा साबित हुने बिश्वास गरेको पनि बताए ।

पारित नागरिकता विधेयकका विशेषताहरु
१. २०७२ साल असोज ३ गतेअघि (नेपालको संविधान जारी हुनुपूर्व) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

२.गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ । तर उनीहरूलाई राजनीतिक र प्रशासनिक अधिकार भने प्राप्त हुनेछैन।

३. नेपालभित्र फेला परेका तर आमा र बुवा दुवैको ठेगाना नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

४. विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन।

५. वंशजको आधारमा नागरिकता लिएका व्यक्तिको बुवा विदेशी नागरिक भएको पुष्टि भएमा त्यस्ता व्यक्तिको वंशजको नागरिकता फिर्ता लिइनेछ । त्यसपछि ती व्यक्तिलाई अंगीकृत नागरिकता दिइने छ ।

६. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुवाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने भनीएको छ ।

७.बुवा विदेशी नागरिक तर बुवाको देशबाट नागरिकता नलिएको खण्डमा भने आमाको नामबाट अंगीकृत नागरिकता लिन सकिनेछ ।

८. झुटो विवरण दिई नागरिकता लिए ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

नयाँ नागरिकता विधेयकमा झुटा विवरण दिई नागरिकता लिनेलाई ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रावधान राखिएको छ । नयाँ विधेयकमा राखिएका दण्ड सजायहरु यस्ता रहेका छन :
आमा नेपाली नागरिक र बाबु विदेशी नागरिक भएको अवस्थामा बाबुको देशबाट नागरिकता लिएर पनि नेपालको नागरिकता लिने व्यक्तिलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरेको ठहर भई सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

-त्यस्तै कसैले झुट्टा विवरण दिई गैरआवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । झुट्टो विवरण दिई गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ ।

दफा ८ को उपदफा (१) को खण्ड (क) मा यस्तो प्रावधान राखिएको छ स् नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिएबमोजीमको स्वघोषणा, तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #कुल आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस