Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसाउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने

साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने


काठमाडौँ । साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव गरिएको छ । नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रुप दिन प्रस्ताव गरेको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी हुन पुगेका दुबै देशका अधिकारीहरुले एक महिनाभित्र श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने प्रस्ताव गरिएको हो ।

नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा गएको नेपाली टोली र साउदीका श्रम अधिकारीहरुबीचको साइडलाइन बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो । विगत ८ वर्षदेखि साउदीसँग श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । तर, सफल हुन सकेको छैन । साउदीले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न नसकेको श्रम मन्त्रालयले जनाएको छ ।

आइतबारको बैठकमा नेपाली पक्षले सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयमा छलफल गर्न आग्रह गरेको थियो । साउदीले घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्नुपर्ने अडान लिँदा श्रम समझदारी हुन सकेको थिएन । श्रम मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले साइडलाइन बैठकमा साउदीबाट सीपमूलक जनशक्ति उत्पादन निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने विषय छलफल भएको बताए । त्यस्तै भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्नेबारे समेत छलफल भएको उनको भनाइ छ ।

कफाला प्रणाली एवं विभिन्न कारणले मृत्यु भएका श्रमिकको डेथ बडी छिट्टै नेपालसम्म पठाउन सक्नेगरी सहजीकरण एवं सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो । खाडी मुलुकको निजी क्षेत्रहरुबाट दक्ष जनशक्तिको माग बढ्दै गएको हुँदा सीपयुक्त जनशक्ति विकासको लागि लेबर रिसिभिङ कन्ट्री लेबर सेण्डिङ कन्ट्रीबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव
कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’ मा सहभागी भएका दुवै देशका श्रम अधिकारीहरुबिचको साइडलाइन मिटिङमा कतारी अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीमा हस्ताक्षर गर्ने गरी तयारी गर्न सहमत भएका हुन् । कतारसँग सन् २००३ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो । उक्त सम्झौतालाई आवश्यक संशोधनका लागि दुवै देशका अधिकारी सक्रिय छन् । कतारी राजाको नेपाल भ्रमणको क्रम सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी थालिएको हो ।

उक्त दुई पक्षीय बैठकमा सीप साझेदारी श्रमिकहरुको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन कन्सल्टेशन गरी चाडै टुङ्ग्याउने विषयमा सहमत भएका छन् ।

कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्न कार्यमा सहकार्य गर्ने प्रस्ताव गरिएको थियो । कतार समेत घरेलु कामदार माग गर्दै आएको छ । घरेलु कामदारको लागि आवश्यक पर्ने सेवा, सुविधा, सामाजिक सुरक्षा तथा आवश्यक सुरक्षा प्रवर्द्धन कतार सरकारले मिलाउने बताउँदै आएको छ । त्यसका लागि नेपालमा नै सीप सिकाउने र सीप सिकिसकेपछि मात्रै कतारमा घरेलु कामदारको रुपमा पठाउन सकिनेगरी आवश्यक व्यवस्था गर्न कतार रहेको बताउँदै आएको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस