Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठब्लगजागिरे बुहारी

जागिरे बुहारी


मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो।

अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर।

बिहान चार बजेर बीस मिनेट गयो। ‘भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी…’भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्।

हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँडो र पानी दिन्छिन्। माटोले बनेको घर भित्रदेखि बाहिर सबै लिपेर भ्याउँछिन्। भान्छामा बसेर तातो पानी तताएर बिस्तारामा भएकी सासूलाई पुर्‍याइदिन्छिन्। तातो चिया पनि दिन्छिन्।

आफूले मुखमा केही राख्न नपाउँदै छोराले ‘मामु’ भनेर बोलाउँछ। श्रीमानले ‘छोरालाई लैजाउन, मेरो निन्द्रा बिग्रियो। अझै एकछिन सुत्छु’ भन्छन्।

कोशेली अमिलो मन लिएर छोरो टप्प टिपेर आफ्नो पिठ्ँयुमा बोकेर अरु काम गर्न तर्फ लाग्छिन्।

भित्रबाट सासू चिच्याउन थाल्छिन्, ‘खानामा आज लसुन र प्याज नराख है, औंशी हो।’

‘पढे-लेखेकी छु भनेर ठूली भएकी छस्, समयमा घर आउन पर्दैन। तेरो छोरो कति हेर्नु, भोलि म सक्दिनँ यसलाई हेर्न।’

कोशेली ‘हस’ भन्दै खाना हतारहतार गरी बनाउँछिन्। बिहान नौ बजिसकेको थियो। श्रीमान बल्लतल्ल उठेर ब्रस गर्न लागेका थिए। कोशेलीलाई मद्दत गर्नु त परै जाओस् ‘यो लेऊ र त्यो लेऊ’ भनी सताइरहन्थे। कोशेलीको विद्यालय घरबाट टाढा भएकाले छिटो घरबाट निस्कनुपर्थ्यो। त्यसैले उनी हतार–हतार घरको काम सकाएर विद्यालयतर्फ प्रस्थान गर्थिन्।

कोशेलीले विद्यालयमा पनि इमानदार भएर आफ्नो काम पूरा गर्थिन्। सानै उमेरदेखि आफ्नो पढाइ सर्वस्व मान्ने कोशेलीलाई विद्यालयमा माया नगर्ने सायद कोही थिएन।

एकदिनको कुरा हो। शुक्रबार थियो, विद्यालय छिटो बिदा हुन्थ्यो। त्यसैले कोशेलीको घरमा रोपाइँ राखिएको थियो। तर त्यस दिन विद्यालयमा अकस्मात शिक्षक मिटिङ बस्नुपर्ने भयो।

कोशेली अध्याँरो मन, भारी तन, दिउँसोको थकानलाई अंगालेर लुरूलुरू भान्छामा पसिन्। छोरो आमाको फरिया समाउँदै ‘ममी बुबु’ भन्न थाल्यो। छोरालाई दूध चुसाउँदै अर्को हातले ढुङ्ग्रो समाएर अँगेनामा आगो बाल्न थाल्छिन्

कोशेलीले आफ्नो समस्याको बेलिबिस्तार लगाएर हेडसरसँग बिदा मागिन् तर बिदा स्वीकृत भएन। मिटिङ सकिँदा साँझको छ बजेको थियो। हिड्नुपर्ने हुँदा उनी साँझ घर पुग्दा सात बज्यो।

उनी टुप्लुक्क घर के पुगेकी थिइन् सासू कराउन थालिन्, ‘पढे-लेखेकी छु भनेर ठूली भएकी छस्, समयमा घर आउन पर्दैन। तेरो छोरो कति हेर्नु, भोलि म सक्दिनँ यसलाई हेर्न।’

कोशेलीका श्रीमान पढे-लेखेका थिए। सत्य र असत्यको टुंगो लगाउन सक्ने थिए। तर सामुन्ने भएर पनि केही नसुने झैं गरी मुन्टो फर्काएर त्यहाँबाट हिँडे।

कोशेली अध्याँरो मन, भारी तन, दिउँसोको थकानलाई अंगालेर लुरूलुरू भान्छामा पसिन्। छोरो आमाको फरिया समाउँदै ‘ममी बुबु’ भन्न थाल्यो। छोरालाई दूध चुसाउँदै अर्को हातले ढुङ्ग्रो समाएर अँगेनामा आगो बाल्न थाल्छिन् र सबैलाई खाना खुवाएर चुल्हो-चौको गरी बिस्तारामा जाँदा झण्डै एघार बज्छ।

कोशेली एकपटक आफ्नी आमालाई सम्झेर परेली भिजाउँदै सुक्क सुक्क गर्न थाल्छिन्। भोलिपल्ट बिहान चार नबज्दै डोकोभरी कपडा धोएर आउँछिन्। सधैं झै कुँडो-पानी सकाएर सासूलाई चिया दिन्छिन् र छोरालाई काखमा लिन्छिन्।

छोराल सुम्सुम्याउँदै मुसुक्क हाँसेर भन्छिन्, ‘बाबु, भोलिबाट मामुसँग स्कुल जाने ल !’

छोरो बल्ल दुई वर्षको थियो, स्कुल टाढा हिँडेर जान हम्मे पर्थ्यो।

छिमेकीका बुहारी चिटिक्क परेर कोशेलीको घर आउँछिन्। कोशेलीलाई घरको काम, अफिसको काम, श्रीमान, सासू अनि छोराको स्याहारसुसार गर्दा भ्याइ नभ्याइ थियो। आफ्नो स्वास्थ्यमा चासो राख्ने समय नै थिएन। अनि आफ्नो अनुहारतिर ध्यान दिने फुर्सद नै कहाँ थियो र उसलाई! त्यसैले उसको अनुहारमा उदासपन देखिन्थ्यो।

त्यसै बखत ती छिमेकीको बुहारीसँग सासू भन्छिन्, ‘तिमी त कति राम्री छौ, चिटिक्क परेर हिँड्छौ। हाम्री त के हो, के हो पढे-लेखेकी भन्न मात्रै हो। कसैसँग बोल्दा नि बोल्दिन, गमक्क परेर हिँड्छे।’

कोशेली भित्रबाट सुनिरहेकी थिइन्। उनी समझदार थिइन्।

मनमनै सोचिन्, ‘आमा तपाईं र म बीचको जीवनशैली, पुस्ता फरक छ, त्यसैले तपाईंले मलाई र मैले तपाईंलाई बुझ्न सक्दिनँ।’

कहिलेकाहीँ फुर्सद भइहाल्यो भने पनि सासूको भन्थिन्, ‘हाम्रा पालामा यस्तो गरियो, उस्तो गरियो। अहिलेकालाई त आनन्द छ…’

सासूलाई आफ्ना दुःख सुनाउँदा ठिक्क हुन्थ्यो तर उनले बुझ्न सक्थिनन्। त्यो भन्दा कठिन जागिरे बुहारीलाई थियो। पहिलेको जमानामा अहिलेको जस्तो आधुनिक प्रविधिले पाइलो राखेको थिएन।

हो, हामी सबैलाई थाहा छ उहाँहरूलाई दुःख थियो। तर अहिले त हामी यान्त्रिक युगमा छौं। हर काममा मेसिनले ठाउँ लिएको छ। उहाँहरूको विचारमा आधुनिक प्रविधि उपयोगमा ल्याएर काम गर्ने मानिस अहिले निकै सुखी छ। वास्तविक रुपमा ऊ सुखी छैन। दशथरीका जेलोमा फसेर बसेको छ। अघिल्लो पुस्ता चाहन्छ ‘हाम्रो संस्कार यथास्थितिमै रहिरहोस्, संस्कृति परम्परा थामियोस्, हामीले जस्तो दुःख गरिआएका थियौं, पछिल्लो पुस्तामा पनि त्यस्तै दुःख गर्ने क्षमता होस्’। तर आधुनिक पुस्ता भन्छ, ‘पहिलेका सबैजसो कुरा गलत थिए। अहिलेको जीवनशैली पहिलेभन्दा पृथक हुनुपर्छ।’

जिन्दगीका भोगाइले उनीहरूलाई हाम्रो डिग्रीभन्दा माथिको दक्षता प्रदान गरेको हुन्छ। उमेर ढल्केलगत्तै संवेग, विचार, तर्क, जीवनशैली परिवर्तन हुँदै जानु स्वाभाविक हो। बुढ्यौलीका लक्षण बुझेर मौन रहन सक्नु शिक्षित, सभ्य अनि सुसंस्कृत बुहारीको दक्षता हो।

दुई पुस्ता बीचमा यही अन्तरपुस्ता–दरारको कारण अधिकांश घरमा सासू-बुहारीबीचको पहिलेदेखि चिस्सिइआएको सम्बन्धमा केही सुधार आउन सकेको देखिँदैन। यसको समाधानमा मुख्य भूमिका त आधुनिक पढे-लेखेका बुहारीको नै हुनुपर्ने देखिन्छ। उनीहरूसँग न बुढी सासूआमाको कुरा सुन्ने फुर्सद छ, न आफ्नो दुखेसो पोख्ने नै। दिउँसो महिला समानता र समताका बारेमा वकालत गर्दै हिँड्ने पुरुष बेलुका घर आइपुग्दा छोराले दिसा गर्‍यो भने सफा गर्न घन्टौं छोराकी आमा नै कुरेर बस्छन्।

परिवारका हरेक आमाहरू पढे-लेखेका हुँदैनन्। तर जिन्दगीका भोगाइले उनीहरूलाई हाम्रो डिग्रीभन्दा माथिको दक्षता प्रदान गरेको हुन्छ। उमेर ढल्केलगत्तै संवेग, विचार, तर्क, जीवनशैली परिवर्तन हुँदै जानु स्वाभाविक हो। बुढ्यौलीका लक्षण बुझेर मौन रहन सक्नु शिक्षित, सभ्य अनि सुसंस्कृत बुहारीको दक्षता हो। परिवारका अन्य सदस्यले उनलाई सहयोगात्मक साथ दिएर आत्मबल बढाइदिनुपर्छ माथिको कथामा कोशेलीले आफ्नो श्रीमानको साथ, सहयोग, समर्थन अनि उत्साह पाएकी छैनन्। त्यसैले उनको काम गर्ने शैलीमा असर परेको छ।

हाम्रो समाजमा मैले यस्ता धेरै बुहारी देखेकी छु। हरेक बुहारीलाई देवी मानेर पूजा गरिन्छ भने उनी पुजिनु हरेक सासू पुजिनु हो। उनी छन् र त घरपरिवार छ। घरमा सुगन्ध छाएको छ। सेरोफेरोमा फूल फुलेका छन्। घर सिँगारिएको छ। उनको एक मुस्कानमा सिंगो परिवार, इष्टमित्र अडिएका छन्। समयले हरेक छोरीलाई बुहारी अनि सासू बनाउँछ। बुहारी हुँदाका आनी–बानी, रुचि, क्षमता, जीवन जिउने शैली सासू हुँदासम्म परिवर्तन भइसकेको हुन्छ। त्यसैले सासूको जमात सासू नै र बुहारीको जमात बुहारी नै हुने गर्छ।

सासू अनि बुहारी सदैव आफ्नो मौलिक विचारको सहाराले साहसपूर्वक अगाडि बढ्छन्। प्रत्येक कुरामा आफ्नो पूर्वजको अनुशरण जस्ताको तस्तै गर्नुपर्छ भन्ने छैन। यसो गर्नु त्यति नै अविवेकपूर्ण हुन्छ जति कमलको फूलले सूर्यमूखी फूल बनेको आभास गर्छ। ज्ञान र विवेकमा एक शिक्षित बुहारी सासूभन्दा धेरै अगाडि हुन्छिन् किनकी सासूलाई उमेरले उछिनिसकेको हुन्छ। जीवनमा अनुभवहरू धेरै संग्रह भए पनि क्षीण शरीरमा मस्तिष्कको उपस्थिति न्यून हुन्छ। त्यसैले उनको सोचाइ पनि हामीलाई अलि नमिल्दो बनिदिन्छ। यस्ता नमिल्दा आनीबानी हामीले बुझ्न सक्नुपर्छ।

एकले अर्कालाई बुझ्न नसक्दा सम्बन्धमा तितोपन आउँछ। उनी खहरे बनेर उर्लिए हामी समुद्र बनेर मौन रहन सक्नुपर्छ।

(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छन्। सेतोपाटिबाट )


क्याटेगोरी : ब्लग
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार