Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित


काठमाडौं – संसदले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित गरेको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी विधेयक पारितको विपक्षमा रहे । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवद्र्धन गर्न केही ऐनलाई संशोधन गर्न आवश्यक भएकोले सो ऐन बनाउनुपरेको विधेयकको प्रस्तावनामा उल्लेख गरिएको छ ।

गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो । पारित भएको विधेयकमा सम्पत्ति शुद्धीकरण सम्बन्धित रहेका विभिन्न १९ वटा ऐनका केही दफाहरू संशोधनका लागि समेटिएको छ । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभामा टेबुल भएको २ महिनाभित्र पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रूप लिनेछ ।

पानीजहाज दर्ता ऐन, २०२७, मालपोत ऐन, २०३४, पर्यटन ऐन २०३५, भवन ऐन, २०५५, नेपाल राष्ट्र बैङ्क ऐन २०५८, दामासाही सम्बन्धी ऐन, २०६३, धितोपत्र सम्बन्धी ऐन, २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण जफत) ऐन, २०७० मा संशोधन, पारस्परिक कानुनी सहायता ऐन, २०७०, सङ्गठित अपराध निवारण ऐन, २०७०, विद्युत नियमन आयोग ऐन २०७४, मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, सहकारी ऐन, २०२४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, बीमा ऐन २०७९ का केही दफाहरूमा संशोधन गरिएको छ ।
यसअघि संसद बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारका मन्त्रीहरु स्टन्टबाजी गर्न माहिर रहेको आरोप लगाए । उनले उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए । उनले भने, ‘देशका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरे । उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’

उनले वर्षौदेखि संसदमा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढङ्गले जान आफ्नो प्रस्ताव रहेको बताए । ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उनले आग्रह गरे । यसैगरी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताए । सांसद थापाले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘संसद्भित्र रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने भएको छ,’ उनले भने, ‘यो पटकको संसद्को अधिवेशन थप जिम्मेवार र क्रियाशील बनाउनेछौं ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताए । उनले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए । उनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गरे । उनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडि बढ्न सक्दैन’ उनले भने, ‘अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारी सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस