Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिरवीन्द्र मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न : पार्टीले खासै काम गरेन, खारेज गरौं ?

रवीन्द्र मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न : पार्टीले खासै काम गरेन, खारेज गरौं ?


काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ४४ पान्ने राजनीतिक दस्तावेज ल्याएपछी विवेकशील साझा पार्टीमा तरङ्ग उत्पन्न भएको छ l

मिश्रको दस्तावेजलाई पश्चगमन भन्दै मिलन पाण्डे, केशव दहल, रञ्जु दर्शना र डाक्टर राजेन्द्र पंगेनी लगायत पार्टीका शीर्ष नेतृत्वहरूले “वैकल्पिक राजनीति मुल बाटो” नामक अर्को ५६ पान्ने राजनीतिक दस्तावेज ल्याएका छन् ।

“व्यवस्था होइन, अवस्था परिवर्तन गर्ने” भनेर सुरु गरेको नागरिक केन्द्रित परिणाममुखी राजनीतिलाई गलत ढंगले डोर्याउने प्रपञ्च बन्द गर्न विवेकशील साझा पार्टीका अंतर्राष्ट्रीय संयोजक सुरेश भट्ट लगायत नेताहरू अध्यक्ष मिश्रको दस्तावेज विरूद्ध उभिएका छन् ।

संघीयताले काम राम्रो गरेन भन्दै खारेजीको माग गरेका मिश्रलाई उनकै पार्टीका नेताहरुको प्रश्न छ– ‘पार्टीले पनि खासै उपलब्धी हासिल गरेन भन्ने एउटा बुझाइ छ, अब के गर्ने त ? पार्टी पनि खारेज गर्ने ?’

चार नेताले सार्वजनिक गरेको प्रस्तावमा उल्लेखित  रवीन्द्र मिश्रमाथिको टिप्पणी जस्ताको त्यस्तै :

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नियतवश वा भुलवश आफ्नो पछिल्लो आलेखमा संघीयतालाई खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । वहाँको निजी विचार भएता पनि अध्यक्षको यो प्रस्तावले पार्टीमा वैचारिक टकराबको स्थिति सिर्जना गरेको छ ।

साथै, यो प्रस्तावले पार्टी स्थापनाको औचित्य र हाम्रा कार्यभारहरूलाई समेत कमजोर बनाउने र पार्टीलाई अग्रगामी चरित्रबाट विश्रींखलित गर्ने खतरा बढेको छ । अतः यो प्रस्तावलाई सच्याउनैपर्छ र त्यसका लागि सबैले वस्तुनिष्ठ र गम्भीर छलफल गर्नुपर्छ ।

अध्यक्षले आफ्नो आलेखमा जे–जस्तो प्रस्ताव गर्नुभएको छ, वहाँले पार्टीका मौजुदा दस्ताबेज र स्वयं वहाँले हस्ताक्षर गर्नुभएको निर्णयहरूमाथि ध्यान नदिएको देखिन्छ ।

हामीले पार्टी स्थापना गर्दा जारी गरेको घोषणापत्र, विधान, पार्टीले बनाएका पछिल्लो समयका दस्ताबेजहरू, पछिल्लो निर्वाचन घोषणापत्र र केहि महिना अघि मात्र विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण हुँदा गरिएको एकताको घोषणापत्रमा यस्ता विषयहरूमा हाम्रो स्पष्ट अडान र प्रतिवद्धता छ ।

हामीले भनेका छौँ, यो पार्टी जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै अगाडि जाने संकल्प गर्दछ । पार्टी एकता गर्दा, हामीले संविधानको मूल भावनालाई स्वीकार गर्ने र अझ अगाडि जाने साझा धारणा बनाएका थियौँ । जसलाई तत्कालीन दुवै पार्टीको केन्द्रीय समितिले पारित गरेको थियो । यी विषयहरूमा यो नै हाम्रो पार्टीको आधिकारिक धारणा हो ।

हामीले माथि प्रशस्तै चर्चा गरेका छौं कि हाम्रो पार्टी जनआन्दोलनका उपलब्धिहरूको जगमा बनेको पार्टी हो । हामीले पार्टी स्थापना गरिरहँदा, यो पार्टीले मूलतः नेपालमा राजनीतिक आन्दोलनको युग सकिएको, ७० वर्षको बलिदानबाट पछिल्लो परिवर्तन प्राप्त भएको, संविधानसभाबाट संविधान बनेको र नयाँ, आधुनिक र लोकतान्त्रिक युग प्रारम्भ भएको निष्कर्ष निकालेका हौँ । त्यही निष्कर्षका आधारमा हामीले सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिका लागि कल्याणकारी लोकतन्त्रको प्रस्ताव गरेका हौँ ।

 हामीले आफूलाई पूर्ण लोकतान्त्रिक पार्टीको रूपमा जनताबिच स्थापित गर्ने सङ्कल्प गरेका हौँ । पूर्ण लोकतान्त्रिक पार्टी, गणतान्त्रिक पार्टी वा सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्ने पार्टी जनआन्दोलनका उपलब्धिहरू गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी कसरी हुनसक्छ ? अतः अध्यक्षको प्रस्ताव आफैंमा वैचारिक द्विविधाको प्रस्ताव हो ।

हाम्रोजस्तो बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय मुलुकमा धर्मनिरपेक्षता एक अपरिहार्य र न्यायपूर्ण प्रबन्ध हो । बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय राज्यले एक धर्म, एक भाषा, एक भेष र एकल संस्कृतिको प्रवर्धन गर्नु किमार्थ न्यायपूर्ण हुँदैन । यो अर्थमा राज्यको कुनै धर्म हुँदैन, हुनुहुँदैन ।

 राजनीतिको कुनै निजी धर्म हुँदैन । राजनीतिको कुनै धार्मिक पक्षधरता हुँदैन । तर नागरिकको धार्मिक स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्छ । जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्नु प्रत्येक राज्य र राजनीतिक दलको कार्यभार हुन्छ । तसर्थ, सबै धर्मावलम्बीहरुको अपनत्व हुने धर्म निरापेक्षताको प्रावधान नै हालको निम्ति उत्तम प्रावधान हो ।

यो देश ८५ प्रतिशत हिन्दुहरूको देश हो र धर्मनिरपेक्षताले हिन्दुहरूको मनमा चोट परेको छ भन्ने तर्कले व्यक्ति स्वयंको संख्यात्मक दम्भ प्रतिविम्वित हुन्छ । किनभने, हिन्दु धर्म आफैँमा अहंकारको धर्म हैन, सद्भाव र उदारताको धर्म हो ।

वास्तवमा कुनै पनि धर्म सत्य, निष्ठा र भातृत्वको आह्वान हो । जब धर्ममा राजनीति जोडिन्छ त्यसपछि सङ्ख्याको अहङ्कार सुरु हुन्छ । अतः मान्छेको धार्मिक आस्था सबै बराबर हो र हुनुपर्छ । मत वा जनसङ्ख्याले धार्मिक आस्थाको महत्त्व कम वा बेसी हुने होइन । अतः हामीले धर्मलाई यो वा त्यो नाममा गिजोल्ने र खेल्ने गर्नुहुँदैन ।

४ नेताले निकालेको ५६ पान्ने राजनीतिक दस्तावेज “वैकल्पिक राजनीति मुल बाटो” 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस