Techie IT
×
गृहपृष्ठग्लोबलजापानजापानको नेपाली समुदायमा संक्रमणको डर त थियो तर, फैलिन पाएन

जापानको नेपाली समुदायमा संक्रमणको डर त थियो तर, फैलिन पाएन


जापान – जापानको राजधानी टोकियोस्थित सेन्ट लुक्स युनिभर्सिटी हस्पिटलमा कार्यरत एलिजा केसी भण्डारी अहिले नियमित काममा छिन्।

विश्वभर कोरोना प्रकोप छ। महामारीका बाछिटा जापानमा पनि परेकै छ। तर, जनस्वास्थ्य विद्यावारिधी गरिरहेकी केसीको कार्यव्यस्तता अरू बढेको छ।

दक्षिण कोरिया र कोरोना भाइरसको उद्गमस्थल चीनमा महामारी फैलिएका बेला छिमेकी जापानमा यसको प्रभाव ‘नर्मल’ छ।

जापानमा कोरोना भाइरस संक्रमणको केही केसहरू देखिए पनि सरकारले लकडाउन नगरेपछि केसीको नियमित काममा कुनै बाधा भएन।

सामाजिक र भौतिक दूरी कायम राखेर नियमित काम गर्न उनलाई कुनै गाह्रो भएन। तर, अन्य समयको तुलनामा थप सुरक्षित भएर काम गर्नुपर्ने स्थिति आएको उनले बताइन्।

‘यो क्षेत्रमा कोरोना भाइरसको केही केस देखिए पनि अहिले पूर्णतः नियन्त्रणमा आइसकेको छ, उच्च सुरक्षासाथ हामी काम गरिरहेका छौं,’ केसीले भनिन्।

जापानमा नेपाली

जापानमा झन्डै एक लाख नेपालीको बसोबास छ। त्यसमा पनि विद्यार्थी र विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक बढी छन्।

जापानमा ३ लाख २८ हजारभन्दा धेरैको परीक्षण गर्दा १७ हजारको हाराहारीमा कोरोना संक्रमित पाइएको छ।

‘सरकारले कोभिड–१९ को प्रकोप रोकथामका लागि सुरुआतदेखि नै उच्च प्राथमिकतासाथ काम गरिरहेकाले पनि जापानमा संक्रमणको दर कम भएको हो,’ केसीले भनिन्।

जापानमा बस्ने नेपालीको अवस्था सामान्य छ। अधिकांश नेपाली अहिले काममा फर्किसकेका छन्। ‘कसैलाई समस्या भएमा सरकारले राहत दिएको छ,’ उनले भनिन्।

जापानका टोकियो, क्योटो र ओसाका सहरमा नेपालीको बसोबास बढी छ। ती सहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रित छ।
सुरुआतका दिनमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन्छ भन्ने डर भए पनि अहिले अवस्था सामान्य भइसकेको केसीले बताइन्।

‘नेपाली समुदायमा संक्रमण फैलिएला कि भन्ने डर थियो, धेरैजसो नेपाली अपार्टमेन्टमै बस्नुहुन्छ, र रूम सेयर गरेर बस्ने गर्नुहुन्छ,’ केसीले भनिन्, ‘त्यसैले संक्रमण फैलिएला कि भन्ने त्रास थियो।’

तर, जापानमा बस्ने ७ नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिए पनि संक्रमण फैलिन पाएन। संक्रमण देखिएकाहरू पनि अहिले कोरोनामुक्त भइसकेका छन्।

‘केहीले गोप्य गरेको हुनसक्छ, तर हामीसँग आएको संक्रमित नेपाली तथ्यांकचाहिँ ७ जना मात्रै हो,’ केसीले आयोमेलसँग भनिन्।

सबैलाई समान राहत प्याकेज

जापान सरकारले सबै नागरिकलाई समान ढंगले राहत दिइरहेको छ। जापानी तथा गैरआवासीयलाई जापान सरकारले समान राहत प्याकेज प्रदान गरेको छ।

‘सरकारले दिएको राहत कसरी लिने भनेर सिकाउने गर्‌यौं, अहिले पनि राहत लिने विषयमा सहयोग गरिरहेका छौं,’ केसीले भनिन्, ‘तर, हामीले आफैं दिनुपरेन।’

जापानस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघले नेपाली नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी दिने र सचेतना जगाउने उद्देश्यले महामारीको सुरुआतदेखि नै काम गरिरहेका छन्।

टोकियो ताचिकावा ‘सी’मा बसोबास गर्ने सञ्चारकर्मी मनीषा घलेका अनुसार महामारीमा केही समय मास्क र सेनिटाइजरको अभाव भए पनि अहिले सामान्य भइसकेको छ।

‘यो क्षेत्रमा झन्डै १० हजार नेपालीको बसोबास छ, सरकारले राहत र सहुलियत दिएकाले कुनै सामग्री स्टोर गरेर राख्ने अवस्था छैन,’ घलेले भनिन्, ‘आधारभूत तहका श्रमिक र मजदुरहरू पनि सरकारी राहतबाट लाभान्वित छन्।’

सबैलाई वर्क परमिट

दूतावास र गैरआवासीय नेपाली संघले जापानमा रहेका नेपालीलाई फर्काउन पहल गरिरहेको छ। केसीका अनुसार नेपाल फर्किनका लागि झन्डै ९ सयले आफ्नो नाम टिपाएका छन्।

जापान जान चाहनेको नाम पनि संघले संकलन गरेको थियो। तीमध्ये धेरैजसो फर्किसकेका छन्। पयर्टक भिसामा जापानमा गएका र अध्ययनका लागि गएका विद्यार्थीहरूले नेपाल फर्किन नाम टिपाएका छन्।

केही सातायता जापानका अधिकांस सार्वजनिक संस्थान र कार्यालयहरू खुलेका छन्। श्रेष्ठका अनुसार कर्मचारीहरू सामाजिक, भौतिक दूरी कायम गरेर काम नियमित फर्किएका छन्।

तर, जापान सरकारले अहिले भिसा नभएकालाई वर्क परमिट दिएकाले उनीहरूलाई राहत मिलेको केसीले बताइन्।

‘स्वास्थ्य बिमा नभएका कतिपय बिरामीहरूले औषधी सकियो भन्नुहुन्छ,’ एनआरएनएको जापानस्थित स्वास्थ्य समिति संयोजक केसीले भनिन्, ‘अरूको अवस्था सामान्य छ।’

होटल र रेस्टुरेन्ट व्यवसायमा प्रभाव

जापानमा बस्ने नेपालीहरू होटल तथा रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। अध्ययन गर्न जाने विद्यार्थीबाहेक बिजनेस भिसामा जाने र कुकहरूको संख्या बढी छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार डिपेन्डेन्ट भिसामा पनि जापानमा बसोबास गर्नेको संख्या उल्लेख्य छन्।

‘कुकमा आएर पछि आफै रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्नेहरू पनि हुनुहुन्छ, अहिले अधिकांस रेस्टुरेन्ट बन्द रहेकाले उहाँहरूको व्यवसाय बन्द छ,’ श्रेष्ठले भने, ‘तर, सरकारले बिनाब्याज पैसा दिएको छ, राहतस्वरुप पैसा दिएकोे छ, सहुलियत दिएको छ, त्यसैले तत्कालका लागि समस्या टरेको छ।’

केही सातायता जापानका अधिकांस सार्वजनिक संस्थान र कार्यालयहरू खुलेका छन्। श्रेष्ठका अनुसार कर्मचारीहरू सामाजिक, भौतिक दूरी कायम गरेर काम नियमित फर्किएका छन्।

जापान सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेपछि देशमा लकडाउन गरेन। ‘अहिले रेस्टुराँहरूमा पनि प्लास्टिकको बार लगाउने, एकअर्काको बीचमा दूरी बनाएर काम गरिएको छ,’ श्रेष्ठले भने।

रोजगारी गुमाएका कामदारको हकमा जापान सरकारले विशेष आर्थिक प्याकेज घोषणा गरेको छ। बिदामा बसेमा उनीहरूलाई पनि राहत प्याकेजअन्तर्गत पैसा दिएको श्रेष्ठले बताए।

‘साथीभाइसँग सरसापट गरेर पनि दैनिकी चलाइरहेका साथीहरू हुनुहुन्छ, तर खानै नपाएकोे अवस्था छैन, यहाँको व्यवस्थापकीय पक्ष बलियो छ, स्वास्थ्य संकट बढ्दै गएमा खाडीको जस्तो समस्या छैन,’ उनले भने।

नेपालमा संक्रमण र जापानको अनुभूति

जापान सरकारले कोरोना प्रकोप सुरु हुनेबित्तिकै तयारी थालेको थियो। त्यसैको परिणामस्वरुप संक्रमण फैलिन नपाएको श्रेष्ठको धारणा छ।

‘नेपाल सरकारले लकडाउन गरेर जुन तयारी गर्नुपर्ने थियो, त्यो भएन। भारत तथा विदेशबाट आउँछन्, सबैलाई सधैं बाहिर राख्ने कुरा पनि आएन,’ उनले भने, ‘भारतबाट लुकिछिपी आएकालाई टेस्ट गर्ने र व्यवस्थापन गर्ने विषयमा सरकार असफल भयो।’

कोरोना संक्रमण नदेखिएका सहरमा सीमा क्षेत्रलाई पूर्ण रूपमा बन्द गरेर जनजीवन सामान्य बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको धारणा छ। ‘आर्थिक अवस्था नबिगारी काम गर्ने विषयमा सरकारको ध्यान जानै पाएन,’ उनले भने।

श्रेष्ठले कोरोना प्रकोप फैलावट रोक्नका लागि व्यवस्थापनको विषय महत्त्वपूर्ण हुने बताए। स्वास्थ्य सेवाकै क्षेत्रमा व्यवस्थापकीय समस्या भएकाले नेपाल डेन्जर जोनमा परेको उनले बताए।

‘नेपाल सरकारले तीन महिना गुमायो, सुरक्षा निकायको परिचालन र जनस्वास्थ्य क्षेत्रका अगुवालाई परिचालन गर्नुपर्ने थियो,’ उनले भने, ‘सामना गर्नुपर्ने भन्दाको विकल्प अब के छ र!’

नेपाल सरकारले आह्वान गरेमा गैरआवासीय नेपाली चिकित्सकले पनि साथ दिने श्रेष्ठले बताए। समन्वयकै अभावका कारण कोरोना नियन्त्रणसम्बन्धी सरकारको अभियान प्रभावकारी हुन नसकेको एनआरएनए कोषाध्यक्ष श्रेष्ठको ठहर छ।- जिएनएन


क्याटेगोरी : समाचार, जापान
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस