Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यमेरो दशैं, हिजो र आज

मेरो दशैं, हिजो र आज


खेतबारीभरी धानका बालाहरू झुलेका, पारिलो घाम, अलिअलि न्यानो, अलिअलि जाडो, आँगनमा सयपत्री र मखमलीहरू ढकमक्क फुलेको यस्तै-यस्तै चित्रहरूको छाप बनेर बसेका छन्, ‘दशैं’ मेरो मानसपटलमा ।

“तिमीलाई नेपाली अमेरिकन भन्छन्, जब ‘नेपाली’ शब्द अगाडी आउछ भने त्यो शब्दसंग सम्बन्धित सबै कुरा तिम्रो आफ्नो हुन्छ” ।

हाम्रो पुरानो पानासोनिक रेडियोमा मालश्रीको धुन बज्नु थालेपछि, नयाँ लुगाको आश, रातोमाटो लिन जाने म जस्तै उमेरका साथीहरूको लर्कोसंगै मनमा विभिन्न खाले उमंग लिएर हामी केटाकेटीहरू माझ दशैं आउथ्यो ।

तर अभिभावकहरूको कथा अर्कै हुन्थ्यो । कोही आफ्ना भकारी खोतलेर अन्न बेचेर दशैं खर्चको जोहो गर्थे, कोही आफुले पालेका कुखुरा बाख्राहरू बेचेर दशैं पार लाउथे त केही नभएकाहरू बारीको धान बेचेर दिने भाकामा इष्टमित्रहरूलाई ऋण पत्याउन भन्थे । जसरी होस्, त्यो बेला दशैं हामी सानालाई सधैं आईदियोस जस्तो र ठूलाबडालाई हत्तपत्त नआइदियोस जस्तो चाड थियो ।
दशैंको रूप र मनाउने तौरतरीकाहरू समय र परिस्थितीसंगै परिवर्तन हुँदै आयो ।

“मलाई दशैंको रमाइलो दिनहरूमध्ये हामीले तास खेल्दा बाबाको पैसा चोरेको खुब याद आउछ । बाबाले खुट्टाले थिचेर राख्नु भएको पैसा बिस्तारै चोर्थेम भाई र मैले, अनि अरू चै हॉंसेको हॉंस्यै गर्दथे ।”

उच्च शिक्षा हासिल गर्ने शिलशिलामा शहरतिर बसाईं सरियो । शहरको दशैं, गाउघरको जस्तो भएन । शहरमा गाउँघरको जस्तै सधैं काममा जोतिनु पर्दैनथ्यो । फेरि दशैंको छुट्टी पनि निकै लामो हुन्थ्यो त्यो बेला । त्यसैले मिठो खानु र रमाइलो गरेर समय बिताइन्थ्यो ।

मलाई दशैंको रमाइलो दिनहरूमध्ये हामीले तास खेल्दा बाबाको पैसा चोरेको खुब याद आउछ । बाबाले खुट्टाले थिचेर राख्नु भएको पैसा बिस्तारै चोर्थेम भाई र मैले, अनि अरू चै हॉंसेको हॉंस्यै गर्दथे । त्यसपछि त बाबाले थाहा पाउनुहुन्थो, अनि हामी सबै मरीमरी हॉंस्थ्यौं । मेरी आमालाई तास खेल्नु कहिलै रहर लागेन । बरू हामी लामो समयसम्म केही नखाइ तास खेलेको देखेर “खुब ठूलो काम गरेको छौ, भोक लाग्यो होला लौ खाउ“ भन्दै सेल, अचार तरकारीहरू ल्याएर खुवाउनु हुन्थ्यो । हामी लाज पचाएर हाँस्दै खान्थ्यौं ।

“सेलेब्रेटिङ्ग दशैं इज नट फ़र्गेटिङ्ग नेपाल एण्ड नट फ़र्गेटिङ्ग ‘हु यू आर’ !”

आजभोली , समयले घर्लकै कोल्टे फेर्यो । म जस्तै अनगिन्ती नेपालीहरू अर्काको भुमीलाई आफ्नो संझेर बाँच्न बाध्य छौं । यस्तो अवस्थामा दशैं आएर पनि त्यो रौनक र त्यो उमंग आउदैन । दशैंमा हुने त्यो चहलपहल यहॉं देख्न पाइदैन । टिका थाप्ने दिन पनि छुट्टीको दिनमा परे साइतमा लाउने हो, नत्र त आफ्नो काम र बच्चाहरूको स्कूल छुट्टी भएपछि मात्र लाइन्छ । तर जे भए पनि आफ्नो चाडपर्वहरू मनाउने भनेको हाम्रो मुटुमा रहेको एक टुक्रा माया हो आफ्नो देशको सम्झनामा।

त्यसैले म सधैं दशैमा टिका लगाइ दिन्छु आफ्ना नानीहरूलाई र संझाउछु – “तिमीहरूले पनि यो चलन सिकिराख्नु, किनभने चाडवाड भनेको पनि तिम्रो पहिचान हो । तिमीलाई अमेरिकन मात्र कसैले भन्दैन, तिमीलाई नेपाली अमेरिकन भन्छन्, जब ‘नेपाली’ शब्द अगाडी आउछ भने त्यो शब्दसंग सम्बन्धित सबै कुरा तिम्रो आफ्नो हुन्छ” ।

यसरी नै म हरेक चाडहरू मनाउदा मेरा छोरीहरूलाई चाडसंगसंगै नेपाल र नेपालीपनहरू घोकाउने कोशिश गर्छु । अब अहिले पनि दशैं नजिकिएको छ । फेरि मेरो भन्ने पालो आउदैछ, “सेलेब्रेटिङ्ग दशैं इज नट फ़र्गेटिङ्ग नेपाल एण्ड नट फ़र्गेटिङ्ग ‘हु यू आर’ !

लेखिका हाल : टेक्सास, अमेरिका 


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking, #hot, #Literature

तपाईको प्रतिक्रिया दिनुहोस