Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारमहारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित ब्रिटिश सिक्का, नोट र राहदानी अब के हुन्छ ?

महारानी एलिजाबेथ द्वितीया : महारानीको मृत्यु भएपछि उनको तस्बिर अङ्कित ब्रिटिश सिक्का, नोट र राहदानी अब के हुन्छ ?


सत्तरी वर्ष राजगद्दीमा बसेकी महारानी एलिजाबेथ द्वितीया ब्रिटेनका नागरिकहरूको दैनिक जीवनको अभिन्न अङ्ग बनेकी थिइन्। यूकेमा उनको पोट्रेट, प्रोफाइल र शाहीनिशान खुद्रा पैसा फिर्ता लिँदा र खाने सिरीअलका बक्सहरू किन्दा पनि देख्न सकिन्छ।

त्यसो भए अब के फरक पर्छ त ?

सबै परिवर्तन
यूकेमा रहेका २९ अर्बवटा सिक्कामा महारानीको शिरको चित्र छ। सबैभन्दा पछिल्लो डिजाइन महारानी ८८ वर्षको हुँदा सन् २०१५ मा गरिएको थियो।

त्यो उनको शासनको समयमा गरिएको महारानीको पाँचौँ पोट्रेट थियो।

द रोयल मिन्टले राजा चार्ल्सको शिरको चित्र अङ्कित सिक्काहरू कहिले र कसरी जारी हुन थाल्छ भन्नेबारे अहिले बताएको छैन।

तर महारानीका सिक्काहरू वर्षौँसम्म प्रचलनमा रहने सम्भावना छ र तिनलाई विस्थापित गर्ने प्रक्रिया बिस्तारै अघि बढाइनेछ।

महारानीको पोट्रेट भएको पहिलो ब्याङ्क नोट एक पाउन्डको थियो। त्यो सन् १९६० मा जारी गरिएको थियो

सन् १९७१ मा ब्रिटिश सिक्काहरू डेसिमलाइजेशन अर्थात् एक पाउन्डको १०० पेन्स हुनेगरी अद्यावधिक गरिँदा तपाईँले फिर्ता पाउने रकममा एकभन्दा बढी राजा वा रानीको तस्बिर पाउनु स्वाभाविक थियो।

हामीलाई राजाको पोट्रेटसहितको सिक्का कस्तो देखिन्छ भन्ने थाहा छैन। यद्यपि सन् २०१८ मा उनको ७० औँ जन्मदिनको समारोहमा रोयल मिन्टले जारी गरेको एउटा सिक्काले त्यसको छनक दिन्छ।

एउटा कुरा के निश्चित छ भने त्यसमा उनलाई अर्कोपट्टि अर्थात् पश्चिमतिर फर्किएको देखाइनेछ।

नयाँ राजा आउँदा उनले आफ्ना पूर्ववर्तीभन्दा फरक दिशामा फर्किएको चित्र सिक्कामा राखिनुपर्छ भन्ने परम्पराले निर्देशित गर्दा त्यसो गर्न लागिएको हो।सरकारले अनुमति दिएपछि नयाँ डिजाइन साउथ वेल्सको लान्ट्रिसन्टस्थित रोयल मिन्टबाट उत्पादन गरिनेछ।

सन् १९६० यता सबै ब्याङ्क अफ इङ्ग्ल्यान्डका नोटहरूमा महारानीको तस्बिर छ। स्कटल्यान्ड र नोर्दन आयरल्यान्डका ब्याङ्क नोटमा राजसंस्था प्रतिबिम्बित हुँदैन।

अहिले ब्याङ्क अफ इङ्ग्ल्यान्डका लगभग साढे चार अर्बवटा नोट बजारमा छन् जसको मूल्य ८० अर्ब पाउन्ड हुन्छ।

यी नोटहरू पनि सिक्काजस्तै बिस्तारै विस्थापित हुनेछन्।

कानुनी रूपमा सटहीको समय सबै नोट र सिक्काका लागि दिइनेछ। ती मुद्राहरूमा परिवर्तन गरिने अवस्थामा ब्याङ्क अफ इङ्ग्ल्यान्डले पर्याप्त समय दिनेछ।

हुलाक र टिकट
सन् १९६७ यता नै रोयल मेलले जारी गरेका सबै हुलाक टिकटहरूमा महारानी एलिजाबेथ द्वितीयाको पार्श्वचित्र राखिँदै आएको छ।

रोयल मेलले अब महारानी एलिजाबेथ द्वितीयाको टिकटहरू छाप्न छोड्नेछ।

यद्यपि पुराना टिकट अझै पनि चिट्ठी र पार्सल आदानप्रदानमा प्रयोग गर्न सकिनेछ र नयाँ टिकटहरू छाप्ने प्रक्रिया सुरु गरिनेछ।नयाँ राजाका तस्बिर अङ्कित हुलाक टिकट विगतमा प्रकाशित भइसकेको छ तर रोयल मेलले उनीसहितको नयाँ डिजाइन कस्तो हुन्छ भनेको छैन।

राजालाई हुलाक टिकटमा राख्नुबाहेक रोयल मेलले कैयौँ पोस्टबक्सहरूमा शाही सङ्केत पनि राख्ने गर्छ।यूकेका एक लाख १५ हजार पोस्ट बक्समध्ये ६० प्रतिशतभन्दा बढीमा महारानी एलिजाबेथ द्वितीयाको ईआईआईआर सङ्केत छ। त्यसको ईको अर्थ एलिजाबेथ र आरको अर्थ रेजिना अर्थात् महारानी हुन्छ।

स्कटल्यान्डमा स्कटिश राजमुकुटको प्रयोग गरिन्छ।

स्कटल्यान्डबाहिर कुनै पनि नयाँ पोस्ट बक्समा अब नयाँ राजाको सङ्केत राखिनेछ।

तर नयाँ बाकसहरू जडान गर्ने क्रम केही कम भएकाले तपाईँले त्यस्तो देख्न केही समय भने लाग्न सक्छ।

अनुमति दिइएको शाही निसान
गोलभेँडाको केचअपदेखि सिरीअलको प्याकेट र अत्तरसम्म तपाईँले महारानीको निसान छापसहित ुमहारानीको नियुक्तिबाटु भन्ने बेहोरा देख्नुभएको हुनुपर्छ।

कतिपय खानेकुरा वा अन्य घरायसी सामग्रीमा पनि त्यस्तो हुनुपर्छ।यी त्यस्ता सामग्रीहरू हुन् जसमा रोयल वारेन्ट आवश्यक पर्छ। त्यसको अर्थ जुन कम्पनीले त्यसलाई उत्पादन गर्छ उसले राजपरिवारका निवासहरूमा पनि नियमित रूपमा त्यसको आपूर्ति गर्छ भन्ने बुझिन्छ।

पछिल्लो शताब्दीमा राजा, रानी वा उनीहरूका पतिपत्नी र उत्तराधिकारीहरूले आफ्नै रोयल वारेन्टहरू जारी गरेका छन्।

अहिले करिब ९०० वटा त्यस्ता रोयल वारेन्टहरू ८०० वटा कम्पनीका नाममा छन्।

तर अनुमति दिने सदस्यको निधन भएपछि निजले जारी गरेका रोयल वारेन्टहरू निष्क्रिय हुन्छन् र कम्पनीसँग शाही निसानको प्रयोग बन्द गर्नका लागि दुई वर्षको समय हुन्छ।

त्यसको अपवादका रूपमा महारानीकी आमाले जारी गरेका अनुमतिहरू उनको निधनको पाँच वर्षसम्म कायम थिए।

प्रिन्स अफ वेल्सका रूपमा राजकुमार चार्ल्सले जारी गरेका वारेन्टहरूले अझै पनि निरन्तरता पाउनेछन् किनभने त्यो पदवीले नभई परिवारले निर्धारण गर्छ।

नयाँ राजाले आफ्ना छोरा एवं राजगद्दीको उत्तराधिकारी राजकुमार विलियमलाई वारेन्ट जारी गर्ने त्यस्ता अधिकार दिने ठानिएको छ।

राहदानी अझै मान्य
अद्यावधिक गर्नुपर्ने आवश्यकतामा रहेका कुराहरू नोट, सिक्का, हुलाक टिकट र वारेन्टहरू मात्र छैनन्।

सबै ब्रिटिश राहदानीहरू महारानीको नाममा जारी गरिएको छ र अझै पनि यात्राका लागि प्रयोग गर्न योग्य छन्।

तर नयाँ राहदानीका लागि गाता पछाडिको पानामा रहेको शब्दलाई अद्यावधिक गरी राजा लेखिन्छ।

इङ्ग्ल्याण्ड र वेल्समा रहेका प्रहरी बलहरूले आफ्नो हेल्मेटको प्लेटको मध्यभागमा रहेका महारानी एलिजाबेथका सङ्केतहरू परिवर्तन गर्नुपर्नेछ।

वकिलहरू जसलाई क्वीन काउन्सिलमा दरबारले नियुक्त गरेको थियो उनीहरू तत्कालै लागु हुनेगरी किङ्स काउन्सिलका रूपमा चिनिनेछन्।

अनि अन्तिममा राष्ट्रिय गानमा ुईश्वरले महारानीको रक्षा गरून्ु शब्दावलीलाई परिवर्तन गरिनेछ।

चार्ल्सलाई औपचारिक समारोहबाट राजा घोषणा गरिएपछि सेन्ट जेम्सेज् प्यालेसको बाल्कोनीबाट एउटा घोषणा गरिएको थियो जसमा ूईश्वरले राजाको रक्षा गरून्ु भनिएको थियो।

त्यसपछि त्यो वाक्यसहित सन् १९५२ यता पहिलो पटक राष्ट्रिय गान बजाइएको थियो।बिबिसी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, बेलायत


तपाईको प्रतिक्रिया दिनुहोस