Techie IT
×
गृहपृष्ठविचारपहीचान मास्ने विधेयक

पहीचान मास्ने विधेयक


नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक सम्पदा र संस्कृतीले सम्पन्न भएको देश हो । त्यहाँका हरेक संस्कृती, सभ्यता, परम्परा रहनसहन, धर्म, चाडपर्व जात्राहरुले नेपालको मौलिक परिचय दिईरहेका हुन्छन । यदि यी सबै संस्कृती र सम्पदालाई समाप्त पार्ने दुष्प्रयास गरियो भने नेपालको पहिचान नै समाप्त हुन पुग्दछ । त्यसैले गुठी सम्बन्धी विधेयक यसैको घोतक वा संस्कृती माथी प्रहार गर्ने कम्युनिष्टको नियती नै हो । यसै सन्दर्भलाई लिएर गुठीयारहरु, नागरिक समाजका अगुवा, नेवार समुदाय मुस्लिम र बौद्धिष्ठहरु सडक संघर्षमा छन भने नेपाली काँग्रेसले पनि लगातार यहि बिधेयकलाई लिएर सदनमा नेपालको धर्म, संस्कृती मास्ने नेपालको संविधान विरोधी विधेयक फिर्ता लिनुपर्छ भनेर निरन्तर आवाज उठाईरहेको छ ।

त्यसैको फलस्वरुप आजपनि प्रतिपक्ष दलको नेताले गुठी सम्बन्धी विधेयक , मिडिया काउन्सिल, मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तब्य र अधिकार, सुचना र सञ्चारसम्बन्धी बिधेयक संविधानको भावना विपरीत ल्याईएको हुनाले फिर्ता गरिनुपर्छ भनेर अडान राख्दा प्रतिपक्ष दलको नेतालाई बोल्न नदिदाँ आजपनि सदन अवरुद्ध गर्दै रोष्टम घेराउ पार्न प्रतिपक्षलाई वाध्य पारिएको छ । त्यसैले प्रतिपक्ष दल नेपाली काँग्रेस यी सबै बिधेयकहरु फिर्ता लिनुपर्छ भन्ने अडानमा छ । यो दुई तिहाईको कम्युनिष्ट सरकारको दभ्भले गर्दा आज नेपालीहरु नयाँ सांस्कृती क्रान्तिको बिजारोपण गर्दै सडकमा ओर्लिरहेका छन् । नेपालीहरुले थुप्रै क्रान्तिहरु गरे २००७०४६ र २०६२।०६३ यी सबैको उद्देश्य लोकतन्त्र प्राप्ति र निरङकुशताको अन्त्य नै थियो । जसको फलस्वरुप नेपाल आज संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएको छ । तर दुई तिहाईको बहुमत प्राप्त सरकार बिभिन्न बिधेयकहरु प्रस्तुत गर्ने क्रममा अधिनायकवादी  शैली र संविधानको भावना विपरीत प्रस्तुत भएको छ र यसको ज्वलन्त उदाहरण गुठी सम्बन्धी बिधेयक हो ।

कम्युनिष्टहरु नेपालको धर्म, संस्कृती र परम्परालाई मान्दैनन् भन्ने प्रमाण दिन गुठीसम्वन्धी बिधेयक सफल भएको छ । त्यसैले अब नेपाली जनताले  अर्को सांस्कृतीक क्रान्ति गर्नुपर्ने विकल्प छैन् । किनभने गुठी सम्बन्धी बिधेयकमा बिभिन्न बिभेदकारी प्रावधानहरु छन । यसका बिभिन्न कारणहरु छन् ।

धर्म, संस्कृती र सम्पदा माथीको प्रहार
यो विधेयकले धर्म, संस्कृती, सम्पदा जात्रा पर्वमाथी खुल्ल प्रहार गर्दै सामुहिक हातेमालो गर्ने सामाजिक सद्भावलाई पनि मास्ने नियतले गुठी सम्बन्धी बिधेयक सरकारले ल्याएको हो । नेपालको मौलिक धर्म, सम्पदा, इतिहास र पुरातत्वलाई नै समाप्त पार्ने र कला संस्कृतीलाई नै सिध्याउने उद्देश्यले यो विधेयक आएको देखिन्छ । नेपाल र नेपालीको सनातन धर्म, संस्कृती र परम्पराको पुँजीको रुपमा रहेको गुठी संस्कार मासेर पश्चिमा संस्कृती भित्राउने खेलमा यो सरकार उद्दत देखिन्छ ।

संविधानमाथिको प्रहार
संविधानको धारा २३ र धारा २९० अनुसूची ५ लाई हेर्ने हो भने यो आफै प्रष्ट हुन्छ । धारा २३ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक गुठी सञ्चालन र संरक्षण गरी गुठी सम्बन्धी कार्य गर्ने स्वतन्त्रता छ भनिएको छ । अर्को अनुसूची ५ ले गुठी सम्बन्धी ब्यबस्था गर्ने अधिकार प्रदेशलाई दिएको छ । त्यसको भावनाको विपरित केन्द्रले यस्तो कानुन ल्याउन खोज्नु संविधानको विपरित छ । संविधानको भावना विपरित यो विधेयकले संविधानको मर्ममाथी नै प्रहार गरेको छ त्यसैले संघीय कानून बनाएर शक्तिको केन्द्रीकरण गर्ने प्रदेशलाई अधिकार बिहिन श्रृखंलाको थप उदाहरण हो ।

गुठी नेपालको परिचय र पहिचान हो 
गुठी नेपालको पहिचान र गरिमाको प्रतिबिम्व हो । गुठी शब्द हेर्दा संस्कृतीको गोष्ठी शब्दबाट बनेको देखिन्छ । यसको उद्देश्य, धार्मिक सामाजिक उद्देश्य पुरा गर्नका लागि भएको हो । बि.सं. ५१७ को पहिलेको शिलालेखबाट गुठीको बिकास भएको देखिन्छ । जस्तो चाबहिलको बौद्ध चैत्य शिलालेख जुन एक हजार ५ सय बर्ष पुरानो मानिन्छ  । केहि मान्छेहरु जम्मा भएर सामाजिक क्रियाकलाप र गतिविधि संयुक्त रुपमा सञ्चालन गर्न गुठीको निर्माण भएको पाइन्छ । अहिले पनि जात्रा परम्परालाई निरन्तरता दिन बिभिन्न पर्व मनाउन गुठीको माध्यमबाट नै गरिन्छ  । जस्तो मछिन्द्रनाथको जात्र  । बिशेष गरेर नेवार समुदायको सभ्यता संस्कृती र सामाजिक काम गुठीबाट नै भएको पाइन्छ । काठमाडौंमा मात्र हैन मधेश र पहाडतीर पनि थुप्रै गुठी छन । बौद्धिष्ट समुदायको बौद्ध बिहार, मुस्लिमको मस्जिद पनि गुठीबाट नै चलेको देखिन्छ । त्यसैले गुठी हरेक धर्मालम्वीहरुको सामाजिक कार्यलाई बैज्ञानिक ढंगले सञ्चालन गर्ने माध्यम र राष्ट्रको पहिचान हो ।

गुठी माथिको प्रहार कहिलेदेखि  
गुठीलाई पहिलोपटक प्रहार रणबहादुर शाहको पालामा भएको मानिन्छ । उनले गुठीको जग्गा यताउता गरे भनिन्छ । पञ्चायकालमा पनि गुठीमाथी प्रहार भएको थियो । आज फेरी कम्युनिष्ट सरकारले गुठीमाथी अन्तिम प्रहार गर्दै राष्ट्रिय प्राधिकरण मार्फत गुठी सञ्चालन गर्ने बिधेयक ल्याइनु धर्म र संस्कृतीमाथीको अर्को प्रहार हो ।

गुठीको आवश्यकता किन ?
गुठी समुदाय स्तरबाट चल्दछन् गुठीलाई मास्दा नेपालको मौलिकता नै नरहने र नेपालको संस्कृती पनि सखाप हुन पुग्दछ । किनभने नेपालमा कुवाँ, इनार ढुंगेधारा, पाटी पौवा,चैत्य गुम्वा, मठ मन्दिर, पोखरी, जात्रा, पर्व गुठीबाट नै सञ्चालन हुन्छन । गुठी मास्दा यिनको संरक्षण र सम्बद्र्धन हुँदैन । यसको सुरुवात लिच्छवीकालदेखि नै भएको मानिन्छ । त्यसवेला धेरै जसो सामाजिक कार्य गुठीबाट नै गरिने प्रचलन थियो । उपत्यकामा निजी र सरकारी गरी ७ हजार गुठी छन् । यी गुठीले उपत्यका भित्र चल्ने जात्रा पर्वमा हातेमालो मात्र गर्दैनन् । गुठीको जग्गाको आम्दानीबाट पनि सामाजिक कार्य पनि सञ्चालन गर्दछन । त्यसैले यसको महत्वपूर्ण आवश्यकता छ ।

नेपालमा धार्मिक द्वन्द्वको सम्भावना
गुठी सम्बन्धी बिधेयकलाई लिएर बिभिन्न धर्म गुरु पुजारीहरु र मठाधिसहरुले गुठी सम्बन्धी बिधेयक फिर्ता नलिएर अर्को धार्मिक दन्द्ध हुने र ठूलो प्रलय आउने भनेर भनिरहेका छन । जस्तो पशुपतिनाथको पुजारी, जनकपुरधाम र स्वर्गदारीका मठाधिस आदि । यहाँका मठ मन्दिर सरकारले बनाएका होइनन् । बाजे बराजु दाताहरुले सित्तैमा मठ मन्दिर सञ्चालन गर्न दान दिएको जग्गा हो । सरकारले यसमा आँखा लगाउनु हुँदैन नत्र अर्को धार्मिक द्वन्द्व निम्तिने सम्भावनाको संकेत देखिएको छ ।

दुई तिहाईको दम्भले निम्त्याएको गुठी बिधेयक
सरकारले दुई तिहाईको दम्भ देखाएर धर्म, संस्कृती र परम्परालाई सिध्याउने उद्देश्यले यो बिधेयक ल्याएको छ । जस्तो सञ्चारमन्त्रीले गुठी परम्परा सामन्तवादको अवशेष भएकोले कानुन बनाउन लागेको भनेका छन । तर उल्टै यो सरकार नेपाली जनतामाथी अर्को साम्यवादको नमुना पेश गर्दै नेपाल र नेपालीको सनातन धर्म, संस्कृती र परम्पराको रुपमा रहेको गुठी मास्ने, पश्चिमी संस्कृती भित्राउने र संस्कृतीमाथी नियोजित हमला गर्ने षडयन्त्रमा लागेको छ । यसले मुलुकको संस्कृती, परम्परा, रितीरिवाज र राष्ट्रिय एकता र सद्भावलाइ पनि खण्डित गर्दछ । किनकी सरकारले गुठीको सम्पति माथीनै आँखा लगाएको छ ।

गुठी जन्म र मृत्युसँग पनि जोडिएको छ
गुठी मानिसको जन्म र मृत्युुसँग पनि गाँसिएको छ । यसको माध्यमबाट हरेक जातजाती समुदायले आफ्नो जन्म र मृत्युको संस्कारहरु सम्पन्न गर्दछन भने गुठीको मर्म मानिसको आस्था र आफ्नो पुर्खाको इतिहाससँग गासिएको हुन्छ । आफूसँग भएको सम्पतिको केहि भाग जग्गा आफ्नो देउताको नाममा गुठीलाई दानगरि सामाजिक सद्भाव कायम राख्न गुठीलाई व्यबस्थित गर्ने गरिन्छ । यसले मानिसको जन्म देखि मृत्युसम्म जोडिएर आउने प्रक्रियालाई सरकारले रोक्न खोज्यो त्यसैले यो फिर्ता लिनुपर्दछ ।

गुठीमा विवादित दफाहरु
गुठी विधेयका राज गुठी, सार्वजनिक गुठी, निजी गुठीलाई व्यबस्थित गर्ने नाममा धारा–५६ मा गुठी जग्गामा भोक चलन गर्दै आएका किसान वा निजको कानुन बमोजिमको हकवालाले प्रमाण लिएर आए निवेदकलाई सो जग्गाको मोहियानी हक प्राप्त हुने व्यबस्था छ यसले गर्दा गुठीको जग्गा सजिलैसँग व्यक्तिमा जान्छ । विधेयककको परिच्छेद २ को धारा ३ मा राष्ट्रिय गुठी प्राधिकरणको व्यबस्था छ गुठीको एकीकृत बिकास सञ्चालन, व्यबस्थापन गर्नको लागि राष्ट्रिय गुठी प्राधिकरणको व्यबस्था गरिनेछ भनिएको छ । यो प्राधिकरणको संरचना काम कर्तब्य अधिकार गुठी परम्परा विरोधी रहेको छ । बिधेयकको धारा ६४ को दफा ३ मा राखिएको निजी गुठी, सार्वजनिक  गुठीमा दर्ता गरिने प्रावधान भने झनै गम्भीर छ । यो सम्पत्ति कब्जा हो । निजी गुठीलाइ कायम गर्न नदिने विघटन गर्ने, गुठीलाई पराजीत गर्ने प्रावधान गुठियारहरुलाई मान्य छैन ।

बिधेयकको धारा ६४ को दफा ४ मा निजी गुठी सार्वजनिक गुठीमा दर्ता भएपछि यस्तो गुठीको चल अचल सम्पत्ति देव मुर्ती आदिमा गुठीयारको सम्पूर्ण हक अधिकार समाप्त भई यस्तो अधिकार प्राधिकरणमा सर्ने व्यबस्थाले गुठीयारहरुले यसलाई स्वीकार गरेका छैनन । त्यसैले गुठी सम्बन्त्री बिधेयक फिर्ता लिनुपर्छ ।

लेखिका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद हुन्

साभार: हाम्राकुरा


क्याटेगोरी : विचार


तपाईको प्रतिक्रिया दिनुहोस