Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारस्वागत छ ऐच्छिक संस्कृत किनकि अङ्ग्रेजी पढेर क्रिश्चियन र संस्कृत पढेर हिन्दु हुँदनौं

स्वागत छ ऐच्छिक संस्कृत किनकि अङ्ग्रेजी पढेर क्रिश्चियन र संस्कृत पढेर हिन्दु हुँदनौं


सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।

सम्भवतः पढ्न लेख्न सुरु गर्ने, पुस्तक पुज्ने र सरस्वती पूजाको बहाना नै सही धेरै बालबालिकाहरूको मुखारविन्दबाट श्रीपञ्चमीको दिन संस्कृत शब्द तथा श्लोक ‘सरस्वती वन्दना’बाट उच्चारणको सुरुवात भएको हुन्छ । कक्षा पाँचसम्म पढ्दा कुन सालको श्रीपञ्चमीमा ‘सरस्वती वन्दना’ उच्चारण गरेँ थाहा भएन । तर, ०५६ सालमा संस्कृत शिक्षाको औपचारिक पठनको सुरुवात गरेको हूँ । त्यति बेला उमा निमाविका (हालको उमा मावि) संस्कृत शिक्षक थिए तुलसीप्रसाद भण्डारी । साह्रै रिसालु र खतरा हुन् भनी विद्यार्थीहरू डराउँथे । तर, तुलसी सर मेरा लागि प्रीय थिए । मलाई आफूसँगै राखी ‘तँ राम्रो पढ्छस्!’ भनी शीरमा हात राखेको मज्जाले याद छ ।

“खोजकै क्रममा गुरुकुलमा पढ्नको लागि त जात मिल्दैन, खास जात चाहिन्छ भन्ने कतै अपूरो खबरले मर्माहत भएपछि म केवल एक्लै संस्कृतकै खोजीमा लागेँ । छ कक्षा पढ्दा पूर्णाङ्क लिएको विषयप्रति हरेक दिन मोह जाग्दै गयो ।”

लाहुरे बन्न बुटवल, भैरहवा, नौतुना र गोरखपुर जाने गरेका मेरा मावली बाजे धनमान कामीको मधुसमा पुराना पुस्तकहरू हुन्थे । ती पुस्तक केवल दसैँमा घर सफा गर्दा निकालिन्थे । ०५३ तिरै मलाई याद हुने गरी पढेको पुस्तक हो राजा वीरेन्द्र र ऐश्वर्यको जीवनी । बाजेको मधुसमा भएकै पुस्तक मध्ये नेपालका राजाहरूको इतिहास, सोभियत सङ्घ र जेंगिज खाँको बारे पनि पढेको हूँ ।

“रेडियो नेपालको आरम्भ ध्वनि ‘शङ्ख ध्वनि’ र स्वामी शिवानन्द सरस्वती जीद्वारा लिखित आरती भजन ‘ॐ जय जगदीश हरे’ सुन्न सानैदेखि बिहानै उठेर रेडियो बजाएर छिमेकीलाई धेरै पछिसम्म डिस्टर्व गरिरहेँ ।”

संस्कृतका पुस्तक पनि थिए । कुन-कुन थिए याद छैन । हिन्दीका पनि थुप्रै पुस्तक थिए । म जानी-नजानी पढेर सुनाउँथेँ । किनकि मैले बिहान ०५:५५ बजे बज्ने संस्कृत भाषाको नक्कल गर्थेँ । संस्कृत समाचारको फ्यान थिएँ । रेडियो नेपालको आरम्भ ध्वनि ‘शङ्ख ध्वनि’ र स्वामी शिवानन्द सरस्वती जीद्वारा लिखित आरती भजन ‘ॐ जय जगदीश हरे’ सुन्न सानैदेखि बिहानै उठेर रेडियो बजाएर छिमेकीलाई धेरै पछिसम्म डिस्टर्व गरिरहेँ ।

०५७ सालको लगभग आधाबाट विद्यालयमा संस्कृत नपढाइने भयो-भनियो। त्यसपछि औपचारिक रूपमा संस्कृत पढिएन । विद्यालयमा पढिएका र नपढिएका पाठ र श्लोक समय मिलाएर कण्ठ गर्ने गर्थेँ । तुलसीप्रसाद सरसँग संस्कृत शिक्षा पुस्तकमा पढेको श्लोक मध्ये मलाई याद भइरहने श्लोकहरू हुन् –

त्वमेव माता च पिता त्वमेव । त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविणं त्वमेव । त्वमेव सर्वं मम देव देव ॥

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।
सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ॥

सदा वक्रः सदा क्रूरः सदा पूजामपेक्षते ।
कन्याराशिस्थितो नित्यं जामाता दशमो ग्रहः ॥

लगायत थुप्रै श्लोकहरू कण्ठ भएकाले कसैको टाउको दुखेको फुक्ने, झरी रोक्छु भनेर आकाश फुक्ने र झाँक्रीको नक्कल गरेर संस्कृतका श्लोकहरू उच्चारण गरिरहन्थेँ । मेरो यो मजाकी देखेर धेरैले गाली गर्थे । विद्यालयबाट छुट्यो । बाजेका किताब बिस्तारै हिनामिना भयो । गाउँमा शिव मन्दिरमा निर्गुण पनि गाइन्थ्यो गुरुङ जातीहरूबाट । श्रद्धेय इमान गुरुङ खुब जोसिला थिए निर्गुणको लागि ।

“गाइदेऊ भजन, गाइदेऊ भजन । शिवजीको नावैमा गाइदेऊ भजन ।
कति सुहायो, कति सुहायो । बाघको छाला नागको माला कति सुहायो ।”

धेरैको घरको भित्तामा सजिएको “निलो व्यक्ति” र निर्गुणको शिव को हुन्? एउटा प्रश्न बोकेर हिँडिरहेँ ।

***

बिस्तारै मेरो संस्कृत भाषाको खोज, देशप्रेमी चैँ हैन संस्कृतिप्रेमी सोचले दोस्रो मुलुक हुँदै पश्चिम उड्ने पुरातात्त्विक वस्तु, भाषा, भेष र संस्कृतिको बारे खुबै चिन्ता गरिरह्यो । अर्कोतिर विभिन्न समय कालमा आफू र आफ्नो वर्गले भोगेको विभेद र छुवाछुतको बारेमा फेसबुकमा बह लेखिरहेँ ।

मेरो मावली बाजे खतरा सिकर्मी/डकर्मी हुन् । बाजेले बनाएका घरहरू बिरेठाँटीमा अझै छन् । मलाई बाजेले भनेको अलिअलि याद छ । ‘हामीले मन्दिरमा पूजा गर्न पाउँदैनौँ । भजन गाउन पनि पाउँदैनौँ । भजनका किताबहरू त गोरखपुरतिर पाइन्छ भन्छन् ।‘ पुस्तक किन्न दिए दिएनन् बारे त्यति ख्याल छैन, के भने । जनै बाँध्न मन हुँदा चैँ जात सोधेर कामी/विश्वकर्मा भनेपछि नबाँधिदिएको र कतै ‘ठकुरी हूँ’ भनी झुट बोल्दा बाँधिदिएको कुरा बताउँथे। यो त स्वयम् मैले पनि व्योहोरेँ ।

मेरा मावली बाजेले चुरोटको सेतो झिल्लीमा चुत्रोको पहेँलो रङ्गले लेखेर गाउँका कुनै विष्टलाई देखाएका रे । उनको शिक्षा यति नै थियो । मधुसमा चस्मा पनि थियो। चस्मा लगाएर बाजे पढिरहन्थे । म पनि पढ्थेँ । पछिल्लो समय त मावली बाजेसँग सानो हरियो बाइबल पनि रहेछ । म कतारबाट फर्केपछि पनि देखेको हूँ । बाजे! के हो? भनी सोध्दा ‘तिमीहरूले पढ्ने हैन’ भनेर लुकाउँथे, दिँदैनथे । छोरा नभएकाले क्रिश्चियन धर्म अङ्गाले काजक्रिया गर्नु पर्दैन भन्ने आशय रहेछ ।

***

विद्यालय पठनबाहेक विद्यालयमै काम गरेँ । मेरो पठन र लेखन रोकिएन । म हातमा डायरी र रेडियो बोकेर हिँडिहरेको हुन्थेँ । तलबबाटै कटाएर रेडियो ल्याइदिएका हुन् सहकर्मी यम भण्डारीले । विद्यालय हुँदै म परदेश उडेँ । परको देशमा सिडीबाट गीत सुन्ने, फिल्म हेर्ने गर्दा T-Series को एउटा सिडीमा भजन रहेछ ।

‘ॐ भूर्भुवः स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥‘

मन्त्रहरूको पनि गुरु मन्त्र गायत्री मन्त्र रहेछ । नजानी-नबुझीकनै हरेक बिहान सुन्थेँ । परदेशसँगै सुरुबाट नै इन्टरनेटसँग तनिक पनि टाढा छैन । इन्टरनेटमा नेपाली कविता, नेपाली गीत भनेर खोजेर पढ्ने म संस्कृतको श्लोकहरू पनि खोजेर पढ्थेँ । भलै भावार्थ नजानूँ । परदेशमै कर्मा योञ्जन दाइ भेटिएँ । उनी लामा थिए । पढेको त छ कक्षाकै संस्कृत पुस्तकमा हो तर पुनः ताजकी भयो कर्मा दाइसँग भेटेपछि । उनले पुस्तक पढ्दा म पनि समीपैमा बसी सुन्थेँ।

‘ॐ मणि पद्मे हुम् ।‘
‘बुद्धम् शरणम् गच्छामि। धम्मम् शरणम् गच्छामि ।।‘

***

संस्कृत श्लोकहरूमा डुब्नै पर्छ भन्ने जगाएको जगदीश घिमिरेको अन्तरमनको यात्राले हो । केही श्लोकहरूले गज्जबले छाएका हुन् । ठ्याक्कै याद भएन। त्यो पुस्तक कति उत्कृष्ट हो थाहा छैन तर सवैथोक मैले मात्रै गरेँ भन्ने पढेपछि आधा पढ्दा-पढ्दै घोप्टाइदिएँ, दोस्रो पटक पढिनँ । बरु बल बुताले भ्याएसम्म संस्कृततिरै लागेँ ।

इन्टरनेटमै संस्कृतबारे खोज्दा पढ्दा थाहा पाएँ की गोरखपुर र वनारसमा संस्कृतका पुस्तकहरू पाइन्छन् । र, नेपालमा गुरुकुलहरू छन् त्यहाँ पढाइन्छ । एक दिन पोखरा विन्दवासिनीमा जाँदा एउटा संस्कृत पुस्तक किनूँ-किनूँ लागेको हो तर कुन किन्ने, त्यतिन्जेल मलाई गीता, वेद, पुराणबारे यादै थिएन । केवल औपचारिक पढाइ त परीक्षासम्मको लागि सीमित रहेछ । यतिसम्म कि, धर्मको बारे पनि परदेशमा कसैले ‘तेरो धर्म के हो?’ भनेपछि मात्रै म कुन धर्म सम्प्रदायको मान्छे रहेछु, हुँ भन्ने खोज भयो । पढूँ-नपढूँ ती मोटा पुस्तक दराजमा राख्ने सोख पलाएको हो ।

खोजकै क्रममा गुरुकुलमा पढ्नको लागि त जात मिल्दैन, खास जात चाहिन्छ भन्ने कतै अपूरो खबरले मर्माहत भएपछि म केवल एक्लै संस्कृतकै खोजीमा लागेँ । छ कक्षा पढ्दा पूर्णाङ्क लिएको विषयप्रति हरेक दिन मोह जाग्दै गयो ।

***

उज्यालो रेडियोको कार्यक्रम ‘एकल कविता वाचन’मा आवाजका बादशाह श्रद्धेय वाचक सर अच्युत घिमिरे बुलबुलले नयाँ-नयाँ कवि ल्याउँथेँ । मेरो बुझाइ कताकति कमजोर हुन सक्ला, वहाँप्रति सम्मान उतिकै छ । संस्कृत पढेकोले छन्द कविता लेख्छ भन्ने जस्तो अपूरो बुझिरहेँ, उनी पनि खुब दोहोर्‍याउने गर्थे यो वाक्य ।

“बिस्तारै मेरो संस्कृत भाषाको खोज, देशप्रेमी चैँ हैन संस्कृतिप्रेमी सोचले दोस्रो मुलुक हुँदै पश्चिम उड्ने पुरातात्त्विक वस्तु, भाषा, भेष र संस्कृतिको बारे खुबै चिन्ता गरिरह्यो ।”

सायदै नबुझेर ममा अहम् पलायो क्यार । संस्कृत नपढेका र गुरुकुल नबसेकाहरूले पनि त छन्दमा लेख्छन् त भन्ने लागिरह्यो । मेरो सामुन्नेको उदाहरण कवि तथा गजलकार दीप मिलन थिए । एकल कविता वाचनमा उनी जानै पर्छ भन्ने लागेको हो । नेपाल गएको बेला साँच्चै गए । कविता सुनाए । उनी कति खुसी भए कुन्नि म त एक ब्रह्माण्ड खुसी भएको थिएँ । संस्कृत नपढेकोले पनि छन्द सुनायो भन्ने अहम्‌ले गदगद भएँ । फेरि भन्छु, बुझाइमा गलत हुँला एकल कविता वाचनमै सुनेँ ‘गुरुकुलमा निश्चित कुल बाहेक अरूलाई पढाइन्न’ (सायद काठमाडौँ कै कुनै गुरुकुलबाट आएका कविले भनेको हो) भन्दा कस्तो खिन्नता भयो । मैले फेसबुकमा स्टाटस पनि लेखेँ । केही साथीहरूसँग चर्का-चर्की भयो । (मेरो गलत बुझाइप्रति क्षमा छ अच्युत सर, हजुरप्रति त सदा सम्मान छ नै ।)

बिस्तारै मेरो संस्कृत भाषाको खोज, देशप्रेमी चैँ हैन संस्कृतिप्रेमी सोचले दोस्रो मुलुक हुँदै पश्चिम उड्ने पुरातात्त्विक वस्तु, भाषा, भेष र संस्कृतिको बारे खुबै चिन्ता गरिरह्यो । अर्कोतिर विभिन्न समय कालमा आफू र आफ्नो वर्गले भोगेको विभेद र छुवाछुतको बारेमा फेसबुकमा बह लेखिरहेँ ।

“संस्कृत पढ्छु भनेरै युट्युबतिर पनि खोजी गरेँ । केही सजिलो संस्कृत अभ्यासका लिङ्क मनोज भण्डारीले पनि पठाइदिए । जति खोजमा लागेँ एकदमै ध्यान दिएर पढ्न पाएको चैँ छैन ।”

मेरो फेसबुके रुवाइमा मलहम लगाउन आएका हुन् नवराज दाइ, शिव शर्मा सर, मन्दिरा शाही मिस । जसले विभिन्न पुस्तक पढ्न आग्रह गरे । र, भेट हुँदा दिन्छु समेत भने । शिव सरसँग भेट हुन सकिकहेको छैन । मन्दिरा मिसले पुस्तक दिनु भयो । नवराज दाइले पिडिएफ पठाइदिनुभयो । नू’ भन्छिन्, ‘नेपाल फर्केपछि संस्कृत पढ्ने हो ।’

संस्कृत पढ्छु भनेरै युट्युबतिर पनि खोजी गरेँ । केही सजिलो संस्कृत अभ्यासका लिङ्क मनोज भण्डारीले पनि पठाइदिए । जति खोजमा लागेँ एकदमै ध्यान दिएर पढ्न पाएको चैँ छैन । परदेश, काम, लेखन, पठन, वाचन, बेलाबेला जान्ने बन्दै फेसबुक र कमेन्टमा अल्झिरहनु त छँदै छ।

त्यसपछि त म अनलाइनमा समेत पिडिएफ पुस्तक खोज्ने र पढ्ने गर्न थालेँ । एन्ड्रोइड यापबाट पनि कता कति पढेँ । युट्युबबाट पनि खोजेँ । श्रीमद्भागवत गीता यथारूप पढ्न दिएका हुन् झापाका चन्द्र कोइरालाले । आधा पढिरहँदा उनले लिएर गए ।

नैनं छिद्रन्ति शस्त्राणि नैनं दहति पावक: ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत ॥
(द्वितीय अध्याय, श्लोक 23)

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
(द्वितीय अध्याय, श्लोक 47)

श्रद्धावान्ल्लभते ज्ञानं तत्पर: संयतेन्द्रिय:।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति॥
(चौंथो अध्याय, श्लोक 39)

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:॥
(अठारौँ अध्याय, श्लोक 66)

***
फेसबुकका विभिन्न बहसले मलाई झन् ‘अध्ययन गर्’ भनेजस्तो हुन्थ्यो । बलियो तर्कको लागि अध्ययन नै चाहिँदो रहेछ भन्ने बुझेँ । खेम सुवेदी सर, कृष्ण शर्मा सर लगायत अति प्रिय मनहरूले विभिन्न पुस्तक पढ्न, फेसबुकको रोइलातिर नभुल्न आग्रह गर्नुहुन्छ । तर, म ढुङ्ग्रोको पुच्छर नै रहेछु, हल्ला गरिरहन्छु ।

संस्कृत भाषा कसको हो ? कहाँ थियो?  के भयो? के होला?  यो मेरो चिन्ताको विषय हैन । तर, भाषा संस्कृतिको भविष्यबारे आफ्नै तरिकाले बोलिरहेको छु, लेखिरहेको छु सञ्जालमा। मैले जति बुझेको छु । संस्कृत भाषा अधिक महत्त्व छ । जीवन छ, दर्शन छ । संस्कृत भाषाका केही ग्रन्थहरू धर्मतिर गाभेर एकाधिकार जमाउने भन्दा पनि सम्पूर्ण मानव कल्याणको सूत्र हो । बाँड्नै पर्छ जनमानसमा ।

“यसो भनिरहँदा अरू जाती, सम्प्रदाय र  धर्मका ग्रन्थमा अध्यात्म आत्म विकासको सूत्रहरू छैनन् भन्ने खालको भ्रम पटक्कै पैदा नहोस्। मलाई भर्खरै लछप्पै भिजाएर गएका छन् इस्लाम धर्मावलम्बी लेखकले ।”

हो, संस्कृत भाषा र भाषाको ज्ञान बाँड्नु पर्थ्यो आफ्नै समाज र भाइ भाइमा तर बाँडेनन् । विभेदको माध्यम बनाए । एकल जातीय बनाए । केवल पूजा-पाठमा सीमित बनाए । पण्डितको मात्रै बनाए । तर, उता  पश्चिमा देशहरू लालायित छन् । संस्कृत भाषा विभेदभन्दा माथि विज्ञानको आँखा पो रहेछ प्रमाणित गरिरहे । अझै प्रमाणित  गर्न उता पढाई हुन्छ । उनीहरू आएर यतै बसेर, खोजेर, पढेर जान्छन् । यताकालाई नजिकको तीर्थ हेला भइदियो । यो भाषा जानेपछि यही भाषामा लेखिएका ग्रन्थहरू पढ्न पक्कै सजिलो होला, रस पाइएला, बुझिएला । हिजो त बुझ्ला भन्ने डर नै पालेका हुन् । तर खगेस्वर भण्डारीले कति मीठो गरी भन्नु हुन्छ “भाषा र दर्शन फरक हो । भाषा बद्लिएला तर महाभारतको कथा बदलिन्न ।” तर पनि गर्भिणी भाषामा जस्तो मिठास अरू भाषामा नहोला की ।

यतिविधि प्रेम गर्ने, खोज गर्ने, समय मेहनत लगाएको भाषा पुनः ऐच्छिक रूपले विद्यालयै पाठ्यक्रममा समावेश हुँदै छ भन्ने खबरले अति हर्षित छु । हिजो किन हटाइयो र आज किन ल्याइँदै छ यो राजनीति गर्नेको लागि बहसको विषय बन्ला तर मलाई संस्कृत पढ्नै मन छ । पढेर समाजमा छरिएको भ्रम चिर्नु पाए कति गज्जब हुने थियो। ‘नजान्ने नजानेर चुप रहे जान्ने जानेर चुप रहे।’ समय आउँदा बोल्नु पनि पर्छ । ‘स्वागत  छ ऐच्छिक संस्कृत’ जसरी आए पनि  आएपछि चैँ हिजोको जस्तो डर र भ्रम नछरोस् भन्ने कामना पनि छ ।

***

“कुरान, बाइबल, त्रिपिटक सवैसवैप्रति सम्मान छ । समय छ भने सबैको ग्रन्थ सबैले पढौँ ।”

जसरी हामी अङ्ग्रेजी पढेर क्रिश्चियन भएका छैनौँ । त्यसरी नै संस्कृत पढेर हिन्दु हुँदैनौँ । पश्चिमी भौतिक आविष्कार र विकासले अङ्ग्रेजी भाषा नै खोज्छ भने अन्ततः विज्ञानको पनि अन्तिम मार्ग अध्यात्म र आत्मा विकास वा पूर्वीय दर्शनको नै हुनेछ । ती खोज तपाईँले संस्कृतसँग जोडिएका  प्राचीन ग्रन्थहरूमा पाउनु हुनेछ ।

यसो भनिरहँदा अरू जाती, सम्प्रदाय र  धर्मका ग्रन्थमा अध्यात्म आत्म विकासको सूत्रहरू छैनन् भन्ने खालको भ्रम पटक्कै पैदा नहोस्। मलाई भर्खरै लछप्पै भिजाएर गएका छन् इस्लाम धर्मावलम्बी लेखकले । कुरान, बाइबल, त्रिपिटक सवैसवैप्रति सम्मान छ । समय छ भने सबैको ग्रन्थ सबैले पढौँ ।

आफ्नो मात्रृभाषा बोलौँ, खोजौँ । राज्यको सम्पर्क भाषा पढौँ, बोलौँ । विश्व भ्रमण र विश्व बन्धुत्व कायम राख्न संसारमा छाएको अङ्ग्रेजी भाषा पनि पढौँ ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।”

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस