Techie IT
×
गृहपृष्ठविचारजेठाजुलाई दाम

जेठाजुलाई दाम


रीभराउ सभामा प्रवेश गरिहाल्न मलाई हिचकिचाहट भयो । त्यहाँ जान पनि मेरालागि त्यती नै जरुरी थियो । सर्वप्रथम त मैले त्यहाँ स्थित सबै मान्यवरहरुलाई ढोग्नु पर्ने थियो । किनभने धेरै लामो समय पछि म त्यो पारिवारिक सभामा बुहारीको रुपमा उपस्थित हुँदै थिए ।

हाम्रो चलन अनुसार टाढैबाट नमस्कार भन्न पनि नमिल्ने । उठीउठी दर्शन भन्न पनि नमिल्ने । लिउ फेरुवाको आसनले सबैलाई एक अर्कामा जोडिदिईएको थियो । त्यो आसनमा खुट्टा राख्ने वित्तिकै सबैजनालाई एक साथ छोईन्थ्यो । त्यो सभामा मेरा जेठाजुहरु पनि उपस्थित भएको हुनाले म त्यहाँको प्रवेशमा हिचकिचाए । किनभने मलाई मेरा जेठाजुहरुलाई छुने अनुमति हाम्रो समाजले दिएको थिएन ।

“सासु ससुरा दुबै जनालाई खुट्ट मै ढोग्नु पर्ने हाम्रो गाँउको चलन र परम्परा छ । अझै पाँच सात चोटीसम्म उहाँको खुुट्टा छुदै र आफ्नो निधारमा लगाउँदै गरे पछि मात्र खुट्टा मै शिर राखेर साष्टाङ्गदण्डवत गर्नु पर्दछ बुहारीले ।”

हाम्रो गाँउतिरको चलन अनुसार जेठाजु बुहारीमा छोईन नहुने परम्परा छ । उस्तै जरुरी परे मात्र एक अर्कामा धेरै कम सम्बाद हुने गर्छ जेठाजु बुहारीको । बुहारीले कपडाले टाउको छोपेर, नजर तल निहुराएर मात्र सानो स्वरले सोधेको कुराको जवाफ दिनु पथ्र्याे । जेठाजु बुहारी छोईयो भने नराम्रो हुन्छ भन्ने मात्र मैले सुनेकी हुँ । यसको असर के पर्छ त्यो त मलाई पनि थाह छैन र मलाई कसैले यसबारेमा सुझाएको पनि छैन । कथमकदाचित जेठाजु बुहारी छोईहाले भने पनि डोकोले छोपेर नुहाई धुवाई गरी खाना खाने चलन छ हाम्रो गाँउघर तिर ।

मैले पनि ३१ वर्ष अगाडि, घर गए देखि नै त्यही चलनलाई आत्मसाथ गर्दै आईरहेकी छु । त्यसैले यस बेला पनि मलाई त्यही कुराले त्यो पारिवारिक सभामा जानको लागि हिचकिचाहट भयो । मेरो पाईला अगाडि बढेन । अनि मैले त्यहाँ अनुरोध गरें, म के गरौं ? कसरी सबै जनालाई दर्शन गरौं ? टाढैबाट दर्शन भन्न पनि मेरो हिम्मत आएन । सासु ससुरा दुबै जनालाई खुट्ट मै ढोग्नु पर्ने हाम्रो गाँउको चलन र परम्परा छ । अझै पाँच सात चोटीसम्म उहाँको खुुट्टा छुदै र आफ्नो निधारमा लगाउँदै गरे पछि मात्र खुट्टा मै शिर राखेर साष्टाङ्गदण्डवत गर्नु पर्दछ बुहारीले ।

“अप्ठ्यारो परिस्थितिलाई सहज बनाउनको लागि सबैजना जेठाजुहरुलाई ढोग्ने जुक्ती मेरा श्रीमानले निकाल्नु भयो । यसमा सबैको सहमति भयो । सोही मुताविक मैले त्यहाँको आसनमा खुट्टा टेके र त्यहाँ उपस्थित सात जना जेठाजुहरुलाई पालैपालो दाम राख्दै ढोगें ।”

हुन त गाँउमा पछिल्लो समयमा जेठाजुलाई बुहारीले एक चोटी ढोगे पछि एक अर्का वीच भएको छुवाछुत नरहने भन्ने सजिलो नियम पनि ल्याईसकिएको छ आजकाल । तर मैले भने आजसम्म त्यो विधि प्रयोगमा ल्याएकी थिईन । आफु नै जेठो भएकाले एकै घर भित्र जेठाजु पनि हुुनुहुन्नथ्यो । अरु जेठाजुहरुसंग सधैंभरी भेटघाट पनि भईरहदैन थियो । अब आज भने मलाई अप्ठ्यारो परिस्थिति आई पर्यो । यही अप्ठ्यारो परिस्थितिलाई सहज बनाउनको लागि सबैजना जेठाजुहरुलाई ढोग्ने जुक्ती मेरा श्रीमानले निकाल्नु भयो । यसमा सबैको सहमति भयो । सोही मुताविक मैले त्यहाँको आसनमा खुट्टा टेके र त्यहाँ उपस्थित सात जना जेठाजुहरुलाई पालैपालो दाम राख्दै ढोगें । यसो गरे पछि मैले दाम राखेर ढोगेका जेठाजुहरुसंगको छुन मिल्ने बाटो खुल्ला भयो मेरा लागि । त्यस पछि ससुरा पर्नेहरु सबैजनालाई पालैपालो ढोगें । अब मलाई त्यो सभामा उपस्थितिको लागि खुल्ला भयो । तर मलाई भने पहिलो चोटी एकै ठाँउमा जेठाजुहरु संगै बसेको हुनाले होला असहज जस्तो भान भईनै रहेको थियो । धक फुकाएर अझै पनि बोल्न र बस्न सकिरहेकी थिईन ।

“कुनै बेद या पुराणहरुमा पनि जेठाजु बुहारी वीचको छुवाछुतको बारेमा व्याख्या भएको मलाई हेक्का भएन । तर म जान्ने भए देखि नै मैले यो चलन देख्दै आएकी छु ।”

दर्शन-भेट पछि केहिबेरसम्म हिचकिचाउदै त्यहीं बसें, सबै लोग्नेमान्छेहरुको भेला थियो । त्यँहा लामो समयसम्म बसिरहन मलाई आँट आएन । दश पन्ध्र मिनेटको बसाई पछि म त्यो सभाबाट बिदा माग्दै बाहिरिए । जे होस् म जेठाजुहरुको छुवाछुतबाट मुक्त हुन पाएकोमा खुशीले गदगद थिए । सायद जेठाजुहरुको पनि यहि नै मनसाय थियो की ? मलाई थाह भएन । जेठाजुहरुका काका पर्नेहरुले उहाँहरुलाई अब खसी काटेर भोज खुवाउनु पर्छ भन्दै जिस्क्याउदै हुनुहुन्थ्यो । नभन्दै त्यो दिन घरमा खसी काटियो पनि ।

यो चलन कहिलेबाट र कसरी शुरु भयो त्यो त मलाई थाह छैन । कुनै बेद या पुराणहरुमा पनि जेठाजु बुहारी वीचको छुवाछुतको बारेमा व्याख्या भएको मलाई हेक्का भएन । तर म जान्ने भए देखि नै मैले यो चलन देख्दै आएकी छु । मंगोलियनहरुमा यो कुरा प्रचलनमा छैन । तर हाम्रो तिरका ठकुरी बाहुन क्षेत्री र दलितहरुमा भने यो प्रचलन अहिलेसम्म चलि नै रहेको छ ।

“एक्कासी एउटा चौरीगाई मलाई हान्न आयो । मेरो त सातो गयो । कराउँदै पल्लो घरको जेठाजुलाई समात्न पुगेछु । कताबाट हो उहाँ त्यती नै बेला त्यतैबाट आँउदै हुनुहुदोरहेछ ।”

एक चोटी म यो कुराको सिकार भईसकेकी छु । खर्पेलगाँउको घरमा रहदा बस्दाको कुरा हो । विहानको गाईबस्तु चरनमा लैजानकोलागि निकाल्ने बेला भएको थियो । सबैको गोठबाट एकै चोटी गाईबस्तु निकालिदै थियो । म त्यहीं बाटोको नजिकै उभिएर हेरिरहेकी थिएं । चौंरी गाईको बथान आँउदै थियो । म एकटकले हेरीरहेकी थिंए । एक्कासी एउटा चौरीगाई मलाई हान्न आयो । मेरो त सातो गयो । कराउँदै पल्लो घरको जेठाजुलाई समात्न पुगेछु । कताबाट हो उहाँ त्यती नै बेला त्यतैबाट आँउदै हुनुहुदोरहेछ । मैले थाहै नपाई उहाँलाई समात्न पुगें । उहाँले मलाई अब मरिन् अब मरिन् मात्रै भन्नु भयो । मत लाजले काली निली भएँ ।

त्यसबेला सम्म त्यहाँ रम्तेरुहरु पनि थुप्रै भईसकेका थिए । यो अन्जान रुपमा भएको मेरो गल्ती थियो । त्यसपछि विधि पूर्वक म चोखिएं । उहाँ पनि आफ्नो तरीकाले चोखिनु भयो होला । यो कुराले मलाई अहिले सम्म पनि लज्जित बनाई रहन्छ । त्यो घटना पछि म उहाँको नजरको अगाडि कहिले पनि पर्न सकिन । अहिले उहाँ यो संसारमा हुनुहुन्न तै पनि मलाई त्यो तितो घटनाले आजसम्म झट्का दिईनैरहन्छ ।

“अब जेठाजु बुहारीको विच सामान्य ढोगभेट पछि एकअर्कामा छुन मिल्ने सहजता मिल्यो । सायद अबको हाम्रो अर्को  पूस्तामा त यो कुरा थियो या थिएन थाह नै हुन्न होला । यो एउटा समाजमा भएको सकारात्मक सोच र तरिका हो ।”

देवर भाउजु विच हाँसोठट्टा चल्ने हाम्रो समाजमा जेठाजु बुहारी विच किन यस्तो दुरी बनाएको होला ? मलाई यो कुराको कौतुहलता जहिले पनि भईरहन्छ । आज यस अर्थमा खुशी छु कि अब झुक्कीएर ति मध्येका कुनै जेठाजुहरुसंग छोइईन पुगिएछ भने पनि मैले चोखिनु पर्ने विधि पूरा गर्नु पर्ने छैन । टाउको उठाएर कुरा गर्न पाँउने छु । उहाँहरुलाई भेट्दा बाटो तर्कनु पर्ने छैन ।

मलाई लाग्छ यो पनि एउटा सामाजिक कुरिति नै हो । सायद यसले सकारात्मक भन्दा पनि नकारात्मक कुरालाई बढावा दियो । अब हाम्रो समाज परिवर्तन भईसकेको छ । त्यसैले यस्तो कुप्रचलनलाई अन्त्य गर्न हाम्रो समाज पनि अगाडि लम्कियो । अब जेठाजु बुहारीको विच सामान्य ढोगभेट पछि एकअर्कामा छुन मिल्ने सहजता मिल्यो । सायद अबको हाम्रो अर्को पूस्तामा त यो कुरा थियो या थिएन थाह नै हुन्न होला । यो एउटा समाजमा भएको सकारात्मक सोच र तरिका हो । जसको फलस्वरुप म पनि यो बन्देजबाट मुक्त भएकी छु ।


क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस