Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समिति कतारको छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न, दीप जंग शाह ठकुरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन

नेपाली जनसम्पर्क समिति कतारको छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न, दीप जंग शाह ठकुरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन


दोहा – नेपाली जनसम्पर्क समिति कतारको छैटौँ राष्ट्रिय महाधिवेशन गत शुक्रबार, २७ नोभेम्बर २०२६ मा दोहामा सम्पन्न भएको छ। महाधिवेशनले दीप जंग शाह ठकुरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन चयन गरेको छ। साथै नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कतारबाट १४ जना प्रतिनिधि चयन गरेको छ

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न महाधिवेशनको सभापतित्व समितिका संयोजक पूर्ण पोखरियाले गरेका थिए।

दोहास्थित समितिको सभाहलमा सम्पन्न कार्यक्रममा भर्चुअल माध्यमबाट समेत सहभागीहरू जोडिएको महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्दै प्रवासमा नेपाली कांग्रेसको विचार, आदर्श र सिद्धान्तलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति कतारको छैटौँ महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए। देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध नेपाली कांग्रेसको विचार, आदर्श र सिद्धान्तलाई प्रवासमा स्थापित तथा विस्तार गर्न समितिले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यही मंसिरमा हुने नियमित १५औँ महाधिवेशनमा सहभागी हुन सबैमा आग्रह गरेका थिए।

देउवाले कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता, सहयोग र सहकार्य अभिवृद्धि गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा नेपाली जनसम्पर्क समिति कतारले निर्वाह गर्दै आएको भूमिका सराहनीय रहेको उल्लेख गरेका थिए।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले समेत सम्बोधन गरेको कार्यक्रममा जनसम्पर्क समिति विभागका संयोजक किरण पौडेल, पूर्वमन्त्री डा. रामशरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक रंगमती शाही ठकुरी, युवा नेता गंगाधर गौतम, केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री शंकर भण्डारी, दिनेश राय, केन्द्रीय सदस्य सीता देवकोटा, नेपाल विद्यार्थी संघकी अध्यक्ष सिर्जना मल्ल, युवा नेता भुवन ओझा, केन्द्रीय सदस्य कुन्दन काफ्ले तथा नेपाली कांग्रेस केन्द्रीय तरुण दलका अध्यक्ष दिल लामा लगायतले शुभकामना मन्तव्य राख्दै नियमित १५औँ महाधिवेशन भव्य रूपमा सफल हुने विश्वास व्यक्त गरेका थिए।

त्यसैगरी नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति नरेन्द्र भाट तथा नेपाली जनसम्पर्क समिति कतारको १५औँ महाधिवेशन निर्वाचन समिति संयोजक धनबहादुर बलायर लगायत अतिथिहरूले कार्यक्रममा मन्तव्य राख्दै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले संगठनको वर्तमान अवस्था, संगठनात्मक एकता तथा भावी कार्यदिशाका विषयमा आ–आफ्ना धारणा राखेका थिए। पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै प्रवासमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान कार्यकर्ताहरूबीच आपसी एकता, सहकार्य र सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए।

महाधिवेशनले ठकुरीको नेतृत्वमा उपसभापतिमा गोरख चन्द ठकुरी र ईश्वर पौडेल, महामन्त्रीमा श्यामकुमार डाँगी र सुरज शर्मा अधिकारी, सह–महामन्त्रीमा राजकुमार अर्याल र राजन चापागाईं, कोषाध्यक्षमा शंकरप्रसाद न्यौपाने तथा सह–कोषाध्यक्षमा चन्दा शाही सेन ठकुरीलाई चयन गरेको छ।

सचिवालय सदस्यहरूमा शुभाष सापकोटा र सुवास थापा साथै कार्यसमिति सदस्यहरूमा प्रेमराज थापा, फारुक खान, लक्ष्मण पौडेल, गंगाधर पौडेल, सुशीला तामाङ, दीपक बलाएर र परमानन्द भट्टलाई सर्वसम्मत चयन गरेको छ।

महाधिवेशनबाट २१ सदस्यीय कार्यसमितिमध्ये १९ जना चयन गरिएको छ भने एक जना उपसभापति र एक जना सदस्य पद सभापतिको सिफारिसमा समितिको बैठकबाट मनोनयन गरिने निर्वाचन समिति संयोजक धनबहादुर बलायरले जानकारी दिए।

त्यसैगरी समितिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन महासमिति सदस्य र महाधिवेशन सदस्य गरी १४ जना प्रतिनिधि चयन गरेको छ।

चयन भएका प्रतिनिधिहरूमा नरेन्द्र भाट, धनबहादुर बलायर, पूर्ण पोखरिया, दीप जंग शाह ठकुरी, श्यामकुमार डाँगी, सुरज शर्मा अधिकारी, राकेश श्रेष्ठ, ईश्वर पौडेल, शंकरप्रसाद न्यौपाने, राजन चापागाईं, मेहर लामा, बालाराम पाण्डे, सुवास थापा र राजकुमार अर्याल रहेका छन्।

महाधिवेशनले कतारमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

विशेषगरी यस महाधिवेशनले कतारमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई संगठनात्मक एकता, आपसी सहकार्य तथा भावी कार्यदिशाका विषयमा थप उत्साहित र प्रतिबद्ध भएर अघि बढ्न प्रेरित गरेको जनाइएको छ।

श्यामकुमार डाँगीको सहजीकरण तथा दीप जंग शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै एवं बन्द सत्रबाट सशक्त कमिटी आउने विश्वास गर्दै सभापति पोखरियाले उद्घाटन सत्रलाई समापन गरेका थिए


क्याटेगोरी : ग्लोबल, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस