Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारकोरोना कहर : पच्चीसौं दिन (बैशाख ५ गते)

कोरोना कहर : पच्चीसौं दिन (बैशाख ५ गते)


ज नेपालमा कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भनेर नेपाल सरकारले लकडाउनको घोषणा गरेको आज २५ सौं दिन भयो । आज २०७७ साल बैशाख महिनाको ५ गते तदनुसार १७ अप्रील २०२०, शुक्रबार को दिन । आज बैशाख कृष्ण पक्षको दशमी तिथि परेको छ ।

“एकले अर्कालाई आरोप लगाउन, चित्त दुखाउन, खुट्टा तान्न, विरोध गर्न, टेन्सन लिन छोडेका थियौं र ? नकारात्मक समाचारका पछि भाग्न त हामी जहिले पनि सिपालु नै थियौं ।”

यो अप्ठ्यारो परिस्थितिको सामना अहिले विश्वले नै गरीरहेको छ । यही अप्ठ्यारो परिस्थितिलाई सहज बनाई सजिलो अबस्थाको आमन्त्रण गर्नको लागि नै लकडाउन जारी गरिएको हो । यो असहज परिस्थितिमा कसरी सहजता हुन्छ । सास्ती त सबै तिर छ नै तर यो सबै परिस्थितिसंग सामना गर्नु र अलि धैर्यताको बाँधलाई बलियो बनाउन हामीले थोरै भए पनि प्रयास गर्नै पर्छ । नत्र त कसरी यो परिस्थितिसंग हामी घुलमिल हुन सक्छौं । आफुलाई कसरी यो असहजता संग सामना गर्न सक्छौं ।

कसलाई पो मन नहोला र ? घुम्न जान, सिनेमा हेर्न जान, पार्टी र भोजमा सहभागी हुन, साथीहरुसंग रमाउन, अफिस जान, आफ्नो दैनिक कार्य गर्न, ब्यापार ब्यवसाय गर्न, कलकारखाना चलाउन, पैसा कमाउन, देश विदेशको यात्रा गर्न, रेष्टुरेन्टमा गएर विभिन्न भेराईटिहरु खान, जीमखाना जान, स्वीमिङ जान र यस्तै यस्तै आफुलाई मन लागेको कुराहरु खान र गर्न कसलाई पो ईच्छा हुँदैन र ? विगतमा यो सबै गर्दा र सहजै गर्न पाँउदा पनि हामी सबै जना सधैं खुसी थियौं त ? मलाई त लाग्छ, यो सबै गर्न पाँउदा पनि हामी कतै न कतै त दुःखी नै थियौं । एकले अर्कालाई आरोप लगाउन, चित्त दुखाउन, खुट्टा तान्न, विरोध गर्न, टेन्सन लिन छोडेका थियौं र ? थिएनौं नी होईन र ? नकारात्मक समाचारका पछि भाग्न त हामी जहिले पनि सिपालु नै थियौं ।

“धुलो धुँवाको समस्याले हामीले सरकारको विरोध गरेकै थियौं । हामी मजदुरहरुले हडताल र बिरोध गर्न छोडेका थियौं र ?”

हो, हामी मानिस हौं, हाम्रो मनस्थिति नै यस्तै छ । हाम्रो मानसिकता नै यस्तै मनाईएको छ यो समाजले । बाहिर निस्फिक्री हिड्न पाँउदा पनि ट्राफिक जामले गाडि निर्धक्कसंग चलाउन नपाएको गुनासो हामीसंग थियो नै । धुलो धुँवाको समस्याले हामीले सरकारको विरोध गरेकै थियौं । हामी मजदुरहरुले हडताल र बिरोध गर्न छोडेका थियौं र ? पक्कै पनि थिएनौं । फरक यति मात्रै हो की चाहेको कुरा विना रोकटोक गर्न पाएका थियौं र गरेका पनि थियौं । अहिले पनि घरमा बसी बसी यो सबै कुराको बिरोध गर्न त हामीलाई कसले पो रोकेको छ र ? अहिले झन हामीलाई राम्रो भन्दा पनि नराम्रो कुरा गर्नको लागि समय प्रशस्तै मिलेको छ ।

“लकडाउन नहुँदा सबै जना खुसी थियौं त ? के लकडाउनले मात्रै हामीलाई दुःखी बनाएको हो त ? के भारतको सिमानामा कहिल्यै पनि किचलो नभएर अहिले मात्रै भएको हो त ?”

घरमा बसी बसी कसैले कबिता लेख्यो भने कोरोनाले कवी बनायो भनेका छौं । केही लेख्यो भने कोरोनाले लेखक बनायो भनेका छौं । सरकारको बैठक बस्यो भने, ए बल्ल बस्यो बैठक भनेका छौं, बसेन भने बैठकै बोलाउन सक्दैन सरकार, भनेका छौ । कसैले राहत बाँड्यो भने फोटो खिचाउन गरेको त हो नी, भन्छौं, नबाँडे कोही केही पनि गर्दैनन्, कानमा तेल हालेर सुतेका छन् भन्छौं । सरकारले केही गर्न खोजे, उसको सम्पती हो र भन्छौं । नगरी चुपचाप बसे, उसैको जायजेथाले गर्न लागे जस्तो भनेर कुरा काट्छांंै । अब मानिसलाई के नै चाहिन्छ त ? कसो गर्ने होला ?

हामी एक अर्काको पिडालाई बुझेर पनि जानी जानी खोट देखाउँछौं । लकडाउन नहुँदा सबै जना खुसी थियौं त ? के लकडाउनले मात्रै हामीलाई दुःखी बनाएको हो त ? के भारतको सिमानामा कहिल्यै पनि किचलो नभएर अहिले मात्रै भएको हो त ? कहिले सिमा स्तम्भको नाममा त कहिले सिमा सुरक्षाको नाममा हामीले किचलो गरेकै त थियौं नी । कहिले लिपु लेक त कहिले लिम्पियाधुरा लाई मुद्दा बनाएर कुर्ले कै त थियौं ।

के हामीलाई दैबी प्रकोपहरु पहिला पनि पर्दै नपरेका हुन् र ? कस्ता कस्ता ठुला दैबि प्रकोपहरुलाई हामीले मथ्थर पार्यौं । तिं सबैसंग त हामीले सामना गर्यौं नी है न र ? हो अब पनि हामी यो कोरोना नामको भाईरससंग मुकाविला सजिलै गर्न सक्छौं । सामना गर्न सक्छौं । यो विषम परिस्थितिलाई सहज बनाउन सक्छौं । यदी हामी हाम्रा असन्तोषी ब्यवहारलाई कम गरेर संयमता अपनायौं भने ।

“हामी घर भित्र आफ्नो ज्यानको सुरक्षार्थ बसीरहँदा उनीहरु मैदानमा छन् । चुनौतीलाई चुम्बन गरीरहेका छन् । के उनीहरु मानिस होईनन् र ? के उनीहरुलाई कोरोना भाईरसले छुन नसक्ने कुनै त्यस्तो हतियार हामीले दिएका छौं र ?”

हामीे जहिले पनि अर्काका नकारात्मक कुराहरु मात्रै केलाउन फुर्सदिला छौं । अर्काले पनि हाम्रो नकारात्मक रुप त देखेकै हुन्छ नी हैन र ? तर समस्याको समाधान तिर हामीले साच्यौं भने त्यसको हल हामी समक्ष आएको समस्या भित्रै भेटाउँने छौं । अहिले हामीले विश्वमा करिब डेढ लाख मानिस गुमाई सक्यौं । भलै आफ्नै घर भित्रको कोही नहोला । कसैन कसैको त आफ्नै घर भित्रको आफन्त परेको छ नी है न र ? हामी कहिले सम्बेदशिल बन्ने ? कहिलेसम्म अर्काको गल्ती मात्रै औंल्याउँदै बस्ने । कहिलेसम्म मात्रै अर्काको खुट्टा तान्दै बस्ने ? कृपया यो बेलामा नगरे कहिले गर्ने ? अहिले नसोचे कहिले सोच्ने ?

आउनुहोस् । अब एक जुट भएर लागौं । आआफ्नो क्षेत्रबाट जति सक्छौं गरौं र अरुले गरेका राम्रा कामको प्रशंसा पनि गर्न सिकौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई यो बिषम परिस्थितिका अग्रस्थानका पात्र सम्झेर उनीहरुलाई सहयोग गरौं । हामी घर भित्र आफ्नो ज्यानको सुरक्षार्थ बसीरहँदा उनीहरु मैदानमा छन् । चुनौतीलाई चुम्बन गरीरहेका छन् । के उनीहरु मानिस होईनन् र ? के उनीहरुलाई कोरोना भाईरसले छुन नसक्ने कुनै त्यस्तो हतियार हामीले दिएका छौं र ? छैनौं नी हैन । विशेष मापदण्डका उपकरणहरु त परै जावोस, एउटा राम्रो गुणस्तरिय मास्क पनि हामीले उनीहरुलाई दिन सकेका छैनांै । फेरि उनैको विरोध गर्न हामी तल्लिन छौं । त्यसैले एक अर्को प्रति गर्न सक्ने सहयोग र राम्रो बोली नै उनीहरुका लागि प्रतिरोधात्मक औषधि बन्न पनि सक्छ । ता की उनले आफ्नो कर्तब्य निभाउन हौसला र प्ररणा मिलोस् ।

“सधैं तपाईको पत्निले पस्किदिएको भात यति बेला तपाई पतिले पस्कि दिएर साथमा राखेर खाईदिनुहोस त । त्यहाँ तपाईको अर्कै किसिमको मायालु वातावरण बन्न सक्छ ।”

ईन्टरनेटका साईटहरुमा नकारात्मकताले भरिएका समाचार र भिडियो हरु हेरेर समय बर्बाद गर्नु भन्दा योगका साईटहरु हेरौं । कसरतका साईटहरु हेरौं । त्यही गर्ने प्रयत्न गरौं । जसले गर्दा हाम्रो शारीरिक सबलताको साथै मानसिक र सामाजिक स्वास्थ्यको पनि आर्जन गर्न सकौं । दिन रातको आफ्नो कामले परिवारका सदस्यहरुसंग एक साथ खाना खान र बस्न नपाएका हामीहरु अब एक साथ बसौं । एक अर्कामा आफ्ना राम्रा नराम्रा सुख दुःखहरु साँटांै । यसै कारण कतै हाम्रो विग्रिन लागेको पारिवारिक अबस्था सप्रिन पो सक्छ की ? मिलेर मिठो खाना तयार गरौं, संगै बसेर खाँऔं ।

सधैं तपाईको पत्निले पस्किदिएको भात यति बेला तपाई पतिले पस्कि दिएर साथमा राखेर खाईदिनुहोस त । त्यहाँ तपाईको अर्कै किसिमको मायालु वातावरण बन्न सक्छ । पत्नीले मेसिनमा हालेको लुगाहरु तपाई पतिले गएर पत्निले थाह नपाउने गरी सुकाई मात्रै दिनुभयो भने पनि त्यहाँ अर्कै किसिमको मायालु बाताबरणको सृजना हुन सक्छ । गरेर त हेर्नुहोस् । के परिणाम निस्किन्छ ।

मैले हाम्रो गाँउघरतिर देखेकी थिए, पती हलो बोकेर बारीमा जाँदा पत्नि विउ र पानी बोकेर साथ मै जान्थीन् । पतिले हलो जोत्न खोज्दा पत्नी बारीका कान्ला कुटोले कोट्याउँथिन् । पत्नीले आगो बाल्न शुरु गर्दा पतिले दाउराको जोहो गरी दिन्थे । भोकलाग्दा झुत्रोमा बाँधेर ल्याउको खाजा संगै बाँडेर खान्थे । तब त तिनीहरुको कहिले सम्बन्ध विच्छेद हुन्थ्यो ? कहिले उनीहरु घरायसी हिंसाका विषयलाई लिएर अदालत जान्थे ? त्यसैले यो समय भनेको एक अर्कालाई बुझ्ने मौका पनि हो । तपाईको हनिमुलको एक हप्ते समयले कति बुझ्नु भएको छ र एक अर्कालाई ? यो सबै गरी हेरौंन । कस्तो परिणाम निस्किदो रहेछ ? यहि लकडाउन भित्रै तपाई प्रफेक्ट जोडि हुनुहुनेछ । साथै म पनि ।

त्यसैले यो विषम परिस्थितिमा कति मात्रै घर मै बसी रहनु भन्दै दिक्क नमान्नुहोस् । यो समय भनेको हामीले पाएको सुनौलो समय हो । यसको भरपुर फाईदा उठाउनुहोस् । स्वस्थ रहनुहोस् । सुखी रहनुहोस् र लामो जीवन जिउनुहोस् ।


क्याटेगोरी : विचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस