Techie IT
×
गृहपृष्ठखेलकुदमेस्सीले पेलेको कीर्तिमान तोडे

मेस्सीले पेलेको कीर्तिमान तोडे


(जीएनएन) : लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् ।

स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड तीन शून्यले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन स्यान्तोसबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई दुई–शून्यले हराउँदै तीन अंकको अग्रता बनाएको छ । एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले एक –एक गोल गरे ।

शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई एक–शून्यले पराजित गरेको छ । हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले एक–एक एवम् इल्चे र ओसासुनाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस