Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविचारम रगतमा बगेर मुर्छित भएको छु

म रगतमा बगेर मुर्छित भएको छु


अघिल्लो दिन देखि नै मन भारि भएको थियो। डर लागेको जस्तो भैरहेको थियो। तर के हुन लागेको भन्ने मेसो भने पाउन सकेकी थिइन् मैले।

गाउँ घरमा कामले होला गाह्रो भाको भन्ने लाग्यो साउनको महिना थियो झरी पर्ने समय बर्खे बिदा सुरु भैसकेको थियो, तर पनि बिहान कोचिङ्ग जानुपर्ने
अघिल्लो दिनको भारि मन बिहान उठ्दासम्म पनि भारि नै थियो। मन जति नै भरि भएपनि आफ्नो बिहानको काम सक्ने तरखर गर्दै छिटो छिटो गोबर सोरेर गाईलाई पानि दिए, गाइ दोहेर काम पनि सके। चिया खाजा खाए कोचिङ्ग जाने तयारी गर्दै गर्दा कता कता मन्द पेट पनि दुखिरखेको जस्तो अनुभव भैरहेको थियो। पल्लोघरबाट बहिनिले बोलाइन जाने बेला भयो आऊ भनिन।

हामी ७ कक्षा पढथ्यौ। मेरो साथी थिइन् मामाको छोरी, हामीसंगै हुर्केको खेलेको अनिसंगै पढ्दै गरेको। घरबाट ५ मिनेटको बाटो मात्र गएको थियौ मन झसङ्ग भयो डर लागे जस्तो भयो एक्कासी कपडा सबै भिजे जस्तो लाग्यो अनि थुचुक्क बसे। आखाबाट आँसुको धारा झर्यो , पेट पनि बेस्सरी दुख्न थाल्ल्यो । बहिनिसंगै भएकोले अलि सहज भएजस्तो लाग्यो । बैनीलाई भने म त पर सरे आमालाई भनिदेउ न जाउ भने,बहिनिले आमालाइ भन्न गईन्।

म कसैले देख्छन कि भनेर बाटो माथि बसिरहे। भाइहरुले देख्न हुदैन भन्ने सुनेको भएर देखिहाल्छ कि भनेर लुकेर नै बसे। पहेलो सुरुवाल कालो फ्रक र निलो सर्ट थियो स्कुल ड्रेस,सबै एकछिनमा लाग्थ्यो भिजे जस्तोआफैलाई हिड्न र बस्न पनि घिन लागेर आउने।

आमा आउनु भयो आमालाई देखेसी रुन मन लाग्यो। एकतर्फ खुसि पनि भए भने अर्कोतर्फ अब सधै यस्तै पिडा सहन पर्छ भन्ने पनि भयो। म संगै मामाघरमा मेरो भाइ पनि बस्थ्यो त्यसैले मामाघरमा बस्न नहुने कुरा आमाले भन्नु भयो। त्यसपछि त झन् मन भक्कानिएर आयो सब जनालाई हेर्न नि नपाइने रे अरुको घरमा बस्नु पर्ने भन्नु भयो। नाइँ भन्न नि नपाइने, हुन्छ भनेर आमाले एक जनाको घरमा लगेर छोडेर आमा जानुभयो, टालो देखि लिएर हरेक समान ल्याउदिनु भयो। कसरी लगाउने टालो भन्ने पनि थाहा थिएँन, जसोतसो गरेर लगाए। जे कुरा पनि परेसी गर्नपर्ने रैछ भनेर त्यतिबेला थाहा भयो।

खाना बसेकै घरमा दिनुहुन्थ्यो । सुत्ने सिरक डसना सबै आमाले ल्याउनु भयो, एक्लै बस्न पर्दा जति साँझ पर्दै जान्छ रातभर के गर्ने होला डर पनि लागिरहेको थियो । राति खाना खाएर त सुते कम्मर पोलेर सुत्न सकेको छैन कतिखेर उज्यालो होला जस्तो भएको थियो कपडा भिजेर २ घण्टामा फेरिरहनु पर्ने अनि टोइलेट जान पनि डर लाग्ने। एकरात काट्नलाई आमा र ममीलाई सयौ पटक गुहार्न पर्यो भोलिका रातहरु कसरि काट्ने होला भन्दै बसिरहे बिहान ५ बजिसकेको रहेछ। उठेर सब कपडा लिएर धारामा कोइ नजादै गए सब कपडा धोएर ल्याए ।आमाले सिकाउनु भाको थियो अरुले देख्ने गरि नधोउ , नसुकाउ हौ भनेर।

एकदिन काट्न महाभारत भयो अबको ४ दिन कसरि जान्छ होला भन्दै बस्थे। दिनभर त गोठालो गयो आमाले बाख्रा ल्याइदिनु हुन्थ्यो दिन पनि जान्थ्यो। रगतको खोलो बगिरंथ्यो तर पनि सहनै पर्ने दिनमा हाँस्दा बोल्दा पिडा कम हुने जब रात पर्छ एक्लै हुँदा रगत बगेको देखेर मुर्छित हुन्थे। यसैगरी रगतको खोला बगाउदै दिनहरु काटे। पिडा कति हुन्छ भनेर भन्न सकिने अवस्था पनि थिएन। ५ दिनमा घर बोलाउने कुरा गर्नु भाको थियो तर घरमा आमा एक्लै भएको हुँदा ४ दिनमै घर जान पाउदा पिडा पनि अलि कम भएको महसुस भयो।

मेरो पहिलो रजस्वलाको अनुभव जुन दिन रजस्वला भए त्यो दिनबाट आमा बन्ने सौभाग्य पाए भन्ने खुशी एकातिर समेट्दै गर्दा अर्कोतिर हरेक महिनाको ४ दिन मरेर बाच्नुपर्ने दिन पनि सम्झिए।

जति पिडा भएको हामी नारीको भाग्य हो भन्ने सम्झिए। आफ्नो शरिरबाट जाने पर्ने भएसी किन पिडा दिएर जानु, ४ दिन दिनहु मरेर बाच्नुपर्ने किनरु यसलाई सौभाग्य भनौ कि दुर्भाग्य।


क्याटेगोरी : विचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस