Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभक्तपुरमा कोरोना संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन

भक्तपुरमा कोरोना संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन


काठमाडौं – वैशाख ३० गते भक्तपुरमा दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । २५ वर्षीया महिला र २७ वर्षीय पुरुष नै भक्तपुर जिल्लामा भेटिएका पहिलो संक्रमित थिए ।

आज असार २४ सम्म आइपुग्दा भक्तपुरमा संक्रमितको सख्ंया ४५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४५ मध्ये ३० जना संक्रमित भक्तपुरका स्थानीय छन् ।

तर, अधिकांशको संक्रमण स्रोत भेटिएको छैन । संक्रमण पुष्टि भएकाहरूको न लामो ट्राभल हिस्ट्री छ, न संक्रमितसँग सम्पर्कमा आएको रेकर्ड नै भेटिएको छ ।अझ, अनौठो त के छ भने संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएका सबै मानिसको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

भक्तपुरमा भेटिएका ३० वटा स्थानीय संक्रमणका केसहरु सरकारले खोज्दै परीक्षण गर्न गएको होइन ।कतिपय उपचारका लागि अस्पताल पुग्दा पहिले पीसीआर टेष्ट गराइएको थियो भने कतिपय स्थानीय तहमा पुगेर स्वाब दिएका थिए । तर, यसरी भेटिएका अधिकांश संक्रमणको संक्रमण स्रोत पत्ता लागेको छैन ।

‘हामीले प्रत्येक संक्रमितसँग सम्पर्कमा आएका सम्भावित सबैको परीक्षण गरिसक्यौं, तर उहाँहरुमा संक्रमण देखिएन’ जनस्वास्थ्य कार्यालय प्रमुख मिजारले भने । उनका अनुसार संक्रमितको ‘क्लोज कन्ट्याक’मा आएका ५ देखि ३४ जनासम्मको परीक्षण गरेको रेकर्ड छ । तर, कसैमा पनि संक्रमण देखिएको छैन ।

जनस्वास्थ्यको दृष्टिकोणमा संक्रमणको स्रोत नभेटिनु भनेको राम्रो संकेत मानिँदैन । यसले समुदाय स्तरमा संक्रमण फैलिएको तर लक्षण नभएका कारण धेरै मानिस परीक्षणको दायरामा नआएको हुनसक्ने संकेत गर्छ । तर, परीक्षण नगरी अनुमानका भरमा यसै भन्न नसकिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

कहाँ कहाँ भेटिए संक्रमित ?

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार स्थानीय ३० जना संक्रमित चाँगुनारायण- १, नयाँ ठिमी, भक्तपुर-५ भेलुखेल, सुर्यमडी दुवाकोट, भक्तपुर-६ भोलाचेन, कौशलटार सागबारी, बोडे ९, कमलविनायक, चाँगु ४, बालकोट, सल्लाघारी, चागुँ-७ बागेश्वरी, चागु-२ र क्यान्सर अस्पतालका हुन् ।

व्यासी, चागुनारायण, कमल विनायक, गठ्ठाघर ठिमी, बालकोट, सुर्यविनायक लगायतका केही ठाउँमा एकभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर संक्रमितको कन्ट्याक ट्रेसिङका क्रममा परीक्षणको दायरामा आएका होइनन् ।

‘एउटै स्थानमा २/३ जनालाई संक्रमण देखिएपनि कन्ट्याक ट्रेसिङको क्रममा भेटिएको होइन’ जनस्वास्थ्य प्रमुख मिजार भन्छन्, ‘उनीहरुको एउटै संक्रमण स्रोत हुन सक्छ, तर संक्रमण स्रोत नभेटिकन यकिनका साथ भन्न सकिन्न ।’

संक्रमण स्रोत किन भेटिएन ?

संक्रमणको स्रोत पत्ता लगाउने जिम्मा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), टेकुलाई दिएको छ । महामारी विज्ञहरुका अनुसार कन्ट्याक ट्रेसिङ नै महामारी नियन्त्रणको अचूक हतियार हो । जति छिटो कन्ट्याक ट्रेसिङ गर्‍यो, त्यति संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

तर, नेपालमा कन्ट्याक ट्रेसिङ निकै कमजोर देखिएको छ । एक साता अगाडि संक्रमण पुष्टि भएका मानिसको सम्पर्कमा कोको आए भनेर समेत ईडीसीडीले खोज्न सकेको छैन ।

ईडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे स्रोत साधनको कमीले गर्दा भनेजस्तो रिजल्ट दिन नसकेको बताउँछन् । लकडाउनको नियम पालना नगरी मानिसहरु जथाभावी हिँडेका कारण संक्रमण स्रोत खोज्न गाह्रो भएको उनको दाबी छ ।

उनका अनुसार कोरोना संक्रमितको सम्पूर्ण विवरण ईडीसीडी आफैंले खोज्दैन । सम्बन्धित वडा तथा जिल्ला जनस्वास्थ्य कार्यलयले संक्रमितको विवरण खोजेर ईडीसीडीको टिमलाई पठाउँछ । त्यो तथ्यांक भेरिफाई गरेर ईडीसीडीकै सर्भिलेन्स शाखामा पठाउँछ । त्यसपछि सर्भिलेन्स शाखाको टिमले कन्ट्याक ट्रेसिङ कसले र कसरी गर्ने भन्ने विषयमा योजना बनाउँछ ।

यो प्रकिया पूरा हुन समय लाग्ने भएकाले कन्ट्याक ट्रेसिङ ढिलो भएको डाक्टर पाण्डेले बताए । ‘यति लामो प्रकिया पुरा गर्न समय लाग्छ’ डाक्टर पाण्डेले अनलाइनखबरसँग भनेका छन्, ‘तर हामीले कन्ट्याक ट्रेसिङ गर्दै नगरेको होइन ।’

संक्रमित मानिसहरुले आफ्नो ठेगाना गलत बताउने र मोबाइल स्विच अफ राखिदिने गर्दा पनि कन्ट्याक ट्रेसिङ गर्न गाह्रो भएको डाक्टर पाण्डेको अनुभव छ । भक्तपुरमा पनि त्यही भोगिरहेको बताउँदै जनस्वास्थ्य प्रमुख मिजार भन्छन्, ‘मोबाइल अफ गर्ने, गलत ठेगाना राख्ने गर्दा पनि केही समस्या भएको छ ।’

तर, संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी कन्ट्याक ट्रेसिङ गतिलो हुने हो भने कुनै पनि केसको संक्रमण स्रोत पत्ता लगाउन गाह्रो नहुने बताउँछन् ।

कन्ट्याक ट्रेसिङ फेल भएकै कारण अहिले धेरै केसको संक्रमणको स्रोत पत्ता नलागेको भन्दै उनले भने, ‘संक्रमितको लामो ट्राभल हिस्ट्री र घरबाट धेरै टाढा गएको रेकर्ड छैन भने छेउछाउ नै संक्रमण स्रोत खोज्नुपर्छ । चाहने हो भने कन्ट्याक ट्रेसिङको धेरै उपाय छ, हामी कहाँ नचाहेर नसकिएको हो ।’

उनको तर्कमा संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी पनि सहमत छन् ।

भद्रगोल कन्ट्याक ट्रेसिङकै कारणले नेपालमा धेरै संक्रमितको संक्रमण स्रोत भेट्न नसकिएको उनको दाबी छ । ‘जनशक्ति छैनन् भनेर कन्ट्याक ट्रेसिङमा ध्यान नदिँदा धेरै भद्रगोल भएको छ’ डा. सुवेदी भन्छन्, ‘महामारी नियन्त्रण गर्न चाहेको भए पहिल्यै आवश्यक जनशक्ति तयार पारिन्थ्यो ।’

त्यसो भए संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुमा किन संक्रमण देखिएन त ?

भक्तपुरमा मात्र होइन, धेरै ठाउँमा कन्ट्याक ट्रेसिङका क्रममा परीक्षणको दायरामा आएका अत्यन्तै कममा संक्रमण पुष्टि भएको छ । पहिलो संक्रमितको सम्पर्क नभेटिनु र उसका सम्पर्कमा आएकाहरुको संक्रमण स्रोत नभेटिँदा कन्ट्याक ट्रेसिङ टिम अलमलमा परेको ईडीसीडीका निर्देशक डा. पाण्डे बताउँछन् । ‘जति खोजी गर्दा पनि संक्रमण स्रोत भेटिन्न, अनि उसको सम्पर्कमा आएकाहरुलाई पनि संक्रमण पुष्टि हुन्न’ डा. पाण्डे भन्छन्, ‘कमजोर जनशक्ति र कम स्रोत-साधनका कारण अलमलमै काम गरिरहेका छौं ।’

संक्रामक रोग विशेषज्ञ डाक्टर अधिकारी भने कुनै पनि संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आउनुमा तीनवटा प्रश्न महत्वपूर्ण हुने बताउँछन् ।

पहिलो : संक्रमितसँग कहिले सम्पर्कमा आयो र कति समय बस्यो ?

दोस्रो : कन्ट्याक ट्रेसिङपछि कहिले स्वाब झिकियो ?

तेस्रो : सम्पर्कमा आउदाँ सामाजिक दुरी कायम गर्नेर मास्कको प्रयोग गरे कि गरेनन् ?

तीनवटै पक्षमा सही तालमेल हुन सकेन भने संक्रमितको सम्पर्कमा आएका धेरै मानिसमा संक्रमण पुष्टि गर्न सकिन्न । साथै संक्रमितसँग सम्पर्कमा आउँदैमा संक्रमण सर्दैन । तर, समुदायमा संक्रमण सरेको पर्याप्त संकेत मिल्दा पनि संक्रमणको स्रोत नभेटिनु भनेको प्रभावकारी कन्ट्याक ट्रेसिङ नहुने हो’ उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस