Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारटेक्सासमा नेपाली डाक्टर : जो कोरोना संक्रमितमा उत्साह भर्न कविता कोर्छन्

टेक्सासमा नेपाली डाक्टर : जो कोरोना संक्रमितमा उत्साह भर्न कविता कोर्छन्


तपाईलाई कस्तो छ? फेरि हेर्न आएँ।
ज्वरो गयो कि? जाति भयो कि?

कस्तो नरमाइलो दिन अनि कति लामो रात,
त्यसलाई हराउनु छ हामी मिलेर एकै साथ।

आफूले उपचार गरिरहेका बिरामीका लागि डा. प्रकाश श्रेष्ठले एउटा कविता लेखे। हरेक दिन अस्पताल आउँदा–जाँदा कोभिड–१९ का बिरामीका मुहारमा देखिने सन्तापले उनलाई पिरोल्थ्यो।

ती बिरामीहरूका मुहारमा खुसी भर्ने प्रयासमा उनी सबै उपाय लगाउने गर्छन्। हिजो केही नभएका बिरामीले आज फिस्लिक्क देहत्याग गर्छन्। आज सिकिस्त भएर माया मारेका बिरामी भोलि तन्दुरुस्त भएर फर्किन्छन्।

यही परिवेशमा डा. श्रेष्ठले काम गरिरहेका छन्। ‘तर, कहिलेकाहीं पिरोल्छ र बिरामीलाई उत्साह भर्ने उद्देश्यले कविता लेख्छु अनि एकैसाथ कोभिड–१९ को लडाइँ जित्नुपर्छ है भनेर सम्झाउँछु,’ उनले भने।

संक्रमण रोग विशेषज्ञ डा. श्रेष्ठ टेक्सासको लबकस्थित कोभनान्ट हेल्थ सिस्टममा कार्यरत छन्। एन्टिमाइक्रोबियल स्टेवार्डसिप एन्ड इन्फेक्सन प्रिभेन्सनको मेडिकल डाइरेन्टरको जिम्मेवारीमा छन् उनी।

‘कोभिड–१९ को प्रकोपले धेरै आरोह–अवरोध ल्यायो, तर हाम्रो जिम्मेवारी नै त्यस्तै छ। हामी जति सशक्त भएर बिरामीको सेवा ग¥यौं त्यति नै यो महामारीलाई जित्न सक्षम भइन्छ,’ डा. श्रेष्ठले भने।

अरू धेरै गम्भीर रोगका बिरामीको उपचार गरेका छन् उनले। तर, कोभिड–१९ का बिरामीको उपचार गर्दाको अनुभव फरक छ।

‘कोभिड–१९ का बिरामीलाई हेर्न भिजिटर जान पाइँदैन, आफन्तले भेटघाट गर्न पाउँदैनन्, अरू कसैले देख्न पाउँदैन,’ डा. श्रेष्ठले भने, ‘अस्पतालमा कोभिडका बिरामीको सहारा जम्माजम्मी डाक्टर मात्रै हो।’

त्यो एक्लो परिवेशको साथीका रूपमा बिरामीले लिने भएकाले डाक्टरहरूले उनीहरूलाई मेडिकलदेखि भावनात्मक ट्रिटमेन्टसम्म गर्नुपर्ने श्रेष्ठको धारणा छ।

कोभिड–१९ लडाइँको प्रारम्भ

कोरोना भाइरसको विश्वव्यापी महामारी चीनको वुहानबाट सुरु हुँदा कसैले यति ठूलो संकट पैदा होला भन्ने सोचेकै थिएनन्।

विश्व शक्तिराष्ट्र अमेरिकाले पनि कुनै तयारी गरेन। ‘यतिसम्म कि अमेरिकामा समयको सहुलियत थियो, युरोपेली देशमा संक्रमण देखिँदा पनि तयारीका लागि पर्याप्त समय थियो,’ डा. श्रेष्ठले भने, ‘यो महामारीलाई जुन हिसाबले बुझेर तयारी गर्नुपर्ने थियो, त्यो भएन।’

नेपालमा अहिलेको अवस्था र राज्यले संवेदनशील ढंगले तयारी नगरेको परिदृश्यलाई अमेरिकामा महामारी फैलिनु अघिको समयसँग तुलना गर्छन् डा. श्रेष्ठ।
‘किट थिएन, परीक्षण र संक्रमित आइसोट गर्ने काम पनि भएन, पिपिई थिएन, स्वास्थ्यकर्मी नै संक्रमणमा परे,’ डा. श्रेष्ठले भने, ‘त्यही अवस्था अहिले नेपालमा देख्दैछु, मेरो सुझाव छ, अब योभन्दा ढिलाइ नहोस्।’

अमेरिकामा तीव्र गतिमा कोभिड–१९ को संक्रमण फैलिए पनि अहिले संक्रमणदर कम हुँदै गएको छ।

अस्पतालमा उपचार सेवा पनि प्रभावकारी हुँदै गएको डा. श्रेष्ठले बताए। ‘नयाँ रोग भएका कारण यसको उपचार र रोकथामका लागि आवश्यक ज्ञान थिएन, भर्ना गरेका बिरामीको अवस्था के हुने हो भन्ने चिन्ता हुन्थ्यो, अहिले धेरै हदसम्म कम भएको छ,’ उनले भने।

अस्पताल जाँदा पनि डर, फर्किंदा पनि डरको माहोलले सुरुवातका दिनमा उनलाई पनि पिरोल्थ्यो। तर, ३–४ महिनामा धेरै नै प्रगति भएको र कोभिड–१९ बाट संकटग्रस्त स्वास्थ्य प्रणाली विस्तारै समाधानतर्फ उन्मुख भएको उनले बताए।

दोहोरो जिम्मेवारीमा डा. श्रेष्ठ

नेपाली समाज लबकका अध्यक्ष डा. श्रेष्ठलाई अहिले पनि दैनिक ५–७ जनाको फोन आउँछ। सबैको सरोकार कोभिड–१९ नै हुन्छ।

‘अमेरिकाभरिबाटै धेरै नेपालीले फोन गर्नुहुन्छ, यहाँका नागरिकलाई केही समस्या छ भने अस्पताल पठाउने, सिरियस हुनुहुन्न भने घरमै आराम गर्न आग्रह गर्छु,’ श्रेष्ठले भने।

स्वास्थ्य अवस्था गम्भीर भएका नेपालीलाई उपचारको प्रबन्ध गर्नका लागि डा. श्रेष्ठसहितका चिकित्सकहरूको टिम परिचालित छ।

‘धेरै नेपालीले घरमै उपचार गरी स्वास्थ्यलाभ गरिसक्नु भएको छ, कतिले अरू रोगको औषधी आवश्यक परेर पनि फोन गर्नुहुन्छ,’ उनले भने, ‘सम्बन्धित क्षेत्रमा रहेका हाम्रा साथीहरूले पनि उहाँहरूको समस्या समाधान गरिदिनु हुन्छ।’

डा. श्रेष्ठले कोभिड–१९ का अनगिन्ती बिरामीको उपचार गरेका छन्। अस्पतालको कामसँगै सामाजिक सेवाको क्षेत्रमा पनि उनी सक्रिय छन्।
गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समिति तथा टेक्सासकै कोभिड रेस्पोन्स टिममा नेतृत्वदायी भूमिकामा रहेर अमेरिकामा रहेका नेपालीको सेवा गरिरहेका छन् उनी।

‘चितवन र मनाङका नागरिकले उस्तै सेवा पाउनुपर्छ’

नेपालमा पहिलोपटक कोरोना भाइरस पोजेटिभ देखिएलगत्तै पर्याप्त तयारी नभएको टिप्पणी गर्दै डा. श्रेष्ठले अहिले पनि त्यही हाल रहेको बताए।

‘जटिल हुन नदिने गरी साढे दुई महिनाको समय सदुपयोग गर्नुपथ्र्यो, नेपालमा चरम लापरबाही भयो,’ उनले भने, ‘त्यसैले संक्रमण व्यापक फैलियो।’

बाहिरबाट आएकालाई क्वारेन्टाइनको अवधिभर सुरक्षित राख्ने र समुदायमा पुगेपछि पनि मनिटरिङ गर्ने गर्नुपर्ने उनले बताए। तर, त्यतातर्फ सरकारले ध्यान नपुगेको उनको टिप्पणी छ।

‘पहिलो संक्रमण देखिएको एक महिनासम्म पनि नभेटिएको बेला सरकारले के गर्यो? बाहिरबाट आउनेलाई व्यवस्थापन किन नगरेको?, जनताले कुन विषयमा चाहिँ भरोसा गर्ने?,’ डा. श्रेष्ठको प्रश्न छ।

सिमानामा अलपत्र नागरिकको उद्धार गरेर क्वारेन्टाइन र आइसोलेसनमा राख्न डा. श्रेष्ठले सुझाव दिए। लाखको संख्यामा बाहिरबाट नेपाल प्रवेश गर्नेलाई त्यसै छोडिए स्थिति असोचनीय हुनसक्ने चेतावनी उनले दिए।

‘परिवारसम्म पुग्ने आकांक्षालाई अनुचित ठान्दिनँ, तर संक्रमणरहित र सुरक्षित रूपमा आफ्ना नागरिकलाई घर पुर्याउनु सरकारको दायित्व हो,’ उनले भने।
जाँच–परीक्षण तीव्र पार्न र कोभिड–१९ का लागि छुट्टै युनिट बनाएर योजनाबद्ध काम गर्न सरकारलाई उनको सुझाव छ।

‘एकसय जना आउँदा कसरी व्यवस्थापन गर्ने, दुई सयदेखि हजार–दुई हजार आए भने ती नागरिकलाई कहाँ र कसरी राख्ने भन्ने विषयमा सरकारसँग प्रस्ट योजना हुनुपर्छ,’ उनले भने।

पूर्वाधारको विकास गरी सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‌याउनुपर्ने डा. श्रेष्ठले बताए। ‘नेपालमा अहिले पनि स्वास्थ्य सेवाको पहुँच असमान छ, त्यसैले प्रणालीमा सुधार गरी झापा र चितवनका नागरिकले पाउने स्वास्थ्य सेवा मनाङ र हुम्लाका नागरिले पनि पाउनुपर्छ,’ उनले भने।

को हुन् डा. प्रकाश श्रेष्ठ?

२०३३ सालमा गोरखा जिल्लामा जन्मिए डा. श्रेष्ठको बाल्यकाल काठमाडौं बित्यो। उनले सिद्धार्थ वनस्थली स्कूलबाट २०४९ सालमा एसएलसी पास गरे।
काठमाडौं विश्वविद्यालयबाट आइएससी पूरा गरेपछि पोखरा मणिपाल शिक्षण अस्पतालबाट सन् २००२ मा एमबिबिएस अध्ययन पूरा गरे।

त्यसपछि लोकसेवा परीक्षा पास गरेर स्वास्थ्यसेवा विभागका स्थायी जागिरे भए। डा. श्रेष्ठले वीर अस्पताल तथा मनाङमा दुई वर्ष गरे।

त्यसअघि उनले कपिलवस्तुको तौलिहवामा डेढ वर्षजति काम गरेका थिए। र, डा. श्रेष्ठ सन् २००७ मा विशेषज्ञता हासिल गर्नका लागि अमेरिका गए।

सन् २००९ बाट अमेरिकाको बसाइ सुरू भयो। सन् २०१२ मा पेसिल्भेनियामा रेजिडेन्सी सकेका डा. श्रेष्ठले मिसिगनको ग्य्रान्ड ¥यापिड्स भन्ने ठाउँमा हस्पिसलिस्ट भएर ३ वर्ष काम गरे।

त्यसपछि उनले टेक्सासको साइनान्टोनियोमा युनिभर्सिटी अफ टेक्सास हेल्थ साइन्स सेन्टरमा संक्रमण रोगमा फेलोसिप गरे। दुई वर्षको फेलोसिपपछि डा. श्रेष्ठले लबकस्थित कोभनान्ट हेल्थ सिस्टममा काम सुरु गरेका हुन्। – जिएनएन


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #breaking, #poem

तपाईको प्रतिक्रिया दिनुहोस