Techie IT
×
गृहपृष्ठसमाचारडिभिजन वन कार्यालय दाङले साढे २ लाख बिरुवा नि:शुल्क वितरण गर्ने

डिभिजन वन कार्यालय दाङले साढे २ लाख बिरुवा नि:शुल्क वितरण गर्ने


दाङ – डिभिजन वन कार्यालय दाङले साढे २ लाख बिरुवा निुशल्क रुपमा वितरण गर्ने प्रक्रिया सुरू गरेको छ । त्यसमध्य १ लाख बिरुवा टिम्मुरका मात्रै हुने छन् ।

नागरिकको जीवनस्तरसँग जोड्न तथा जडिबुटी खेतीलाई सबृद्धिको अभियानका रुपमा अगाडि बढाउने उदेश्यका साथ निःशुल्क बिरुवा वितरण गर्न थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले सेतोपाटीलाई बताए।

डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा १ लाख टिम्मुर र २० हजार सुगन्धकोकिलाका बिरुवाहरु तयार पारिएको उनले बताए। त्यसमध्ये ५० हजार जडिबुटीका बिरुवा (टिम्मुर र सुगन्धकोकिला) सामुदायिक वन उपभोक्ता समूह तथा निजी कृषकलाई निःशुल्क वितरण गर्ने प्रक्रिया सुरू भएको प्रमुख ज्ञवालीले जानकारी दिए।

ती मध्ये कतिपय बिरुवा राष्ट्रिय वनमा समेत रोप्ने योजना रहेको ज्ञवालीले जानकारी दिए।

करिब ५० हजार वटा बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा भने खरिद गर्ने भएको छ।

टिम्मुर खेतीगर्न चाहने निजी वन धनिलाई वितरण गर्ने योजनाका साथ वनले बिरुवा खरिद तथा वितरण गर्न लागेको प्रमुख ज्ञवालीले जानकारी दिए।

जिल्लाको पहाडी क्षेत्रमा टिम्मुर खेती र तराई क्षेत्रमा फलफूल खेतीलाई प्रोत्सहान गरिने उनले बताए।

‘हामीले विशेष गरी टिम्मुर पकेट क्षेत्रमा महत्व दिएर टिम्मुरका बिरुवा वितरण गर्दै छौं,’ ज्ञवालीले भने ‘प्रत्येक किसानलाई कम्तिमा पनि १५–२० वटा बिरुवा उपलब्ध गराउने प्रक्रिया सुरू भएको छ।’

त्यसका लागि किसानलाई खाडल खन्न लगाइ सकेको र आफुहरुले अनुगमन समेत गरेको उनले बताए।

टिम्मुर रोपेको तीन वर्षमा फल दिन थाल्छ। तीन वर्ष पछि एउटा बिरुवावाट एक किलो मात्रै उत्पादन भएमा त्यसले लाखौं आम्दानी हुने उनले विश्वास व्यक्त गरे।

वन कार्यालयले निशुल्क बिरुवा वितरण गर्न थालेपछि स्थानीय उपभोक्ताहरु उत्साहित भएका छन्। टिम्मुरसँगै वन कार्यालयले तेजपात, अमला, कुरीलो लगायतका अन्य जटिबुटीहरु कृषकको माग र वातावरण अनुकुलता हेरेर वितरण गर्न गर्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए ।

दाङ जिल्लाको वंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिम्मुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ।

त्यस्तै बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरिलो जस्ता जडिवुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ।

यो वर्ष टिम्मुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान संचालन गरिने प्रमुख ज्ञवालीले बताए।

जडिबुटीको पकेट क्षेत्र तोकिएको क्षेत्रमा वस्ने मानिसहरु वसाईसराई गरी बाहिरी जिल्लाहरुमा गएको हुँदा खाली जग्गा दिनानुदिन अनुत्पादक भइरहेको तथ्यलाई मध्यनजर गरी बोट बिरुवा रोप्न थालिएको हो।

डिभिजन वन कार्यालयले अघि सारेको टिम्मुर र सुगन्धाकोकिाला रोपण अभियानले एकातर्फ मानव वन्यजन्तु बीचको द्वन्द कम हुने र अर्कोतर्फ बाँझो जमिनको उपयोग भई गाउँमा बस्ने र जग्गा भएका जग्गाधनीहरुले आम्दानी लिन सक्ने अपेक्षा गरिएको छ।

काष्ठ प्रजातिका बिरुवा लैजानेलाई प्रोत्सहान

जिल्लामा बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाने किसानलाई प्रोत्सहान स्वरुप २० प्रतिशत फलफूलका बिरुवा समेत वितरण गर्न थालिएको छ।

यस वर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजार भन्दा बढी काष्ट तथा फलफुल बिरुवाहरु रोप्ने योजना रहेको डिभिजन वन प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।

जिल्लाको पहाडी क्षेत्रमा जटिबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा बिरुवासँगै अन्य बिरुवा रोप्ने उपभोक्ताहरुले छिटै उत्पादन लिन सक्ने ज्ञवालीले बताए।

गत वर्ष ४० हेक्टर वगर क्षेत्रमा तारबारसहित वृक्षारोपण गरेको वन कार्यालयले यस वर्ष वन क्षेत्र बाहेकका ऐलानी तथा पर्ति जग्गामा समेत बृक्षारोपणका कार्यक्रम संचालन गर्न उपभोक्ताबाट माग आएको ज्ञवालीले जानकारी दिए।

फलफूल अन्तरगत विभिन्न प्रजातिका आँप, सुन कागती, बाह्रमासे कागती, रुख कटहर, लिची, अनार, नास्पाति, किवी, ड्र्यागन फ्रुट, जुनार, सुन्तला, रुख बयर आदी गरी जम्मा ५३००० बिरुवाहरु खरिद प्रकृयामा रहेको ज्ञवालीले जानकारी दिए।

ती बिरुवाहरु आपूर्तिकर्ताबाट ढुवानी भएर डिभिजन वन कार्यालयमा आए लगतै वितरणको काम सुरू हुने वनका सुचना अधिकारी खिमबहादुर केसीले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस