Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदुबईमा कम्पनीले कोठाबाट निकाल्दा १० नेपाली महिला सडकमै अलपत्र, चार महिनादेखि उद्धारको पर्खाइ

दुबईमा कम्पनीले कोठाबाट निकाल्दा १० नेपाली महिला सडकमै अलपत्र, चार महिनादेखि उद्धारको पर्खाइ


दुबई – क्लिनरको भिसामा गत वर्ष दुबई उडेकी झापाकी मुना मगर अहिले सडकमा अलपत्र छिन् । दुई वर्षका लागि वैदेशिक रोजगारमा गएकी उनलाई कम्पनीले शनिबार बिहान कोठाबाट निकालेको छ । ‘कम्पनीले सामानसहित कोठाबाट निकालिदियो । अहिले सडकमै अलपत्र छौँ,’ मुनाले टेलिफोनमा भनिन् ।

नेपालमा आयस्रोत केही नभएपछि परिवारको गर्जो टार्न ऋण निकालेर उनी दुबई गएकी थिइन् । दुबईको शारजहास्थित सिडिमेड क्लिनिङ कम्पनीले उनीसँग आठ घन्टा ड्युटी, १३ सय रियाल तलब, ओभरटाइमको सुविधा र बिमाको पनि व्यवस्था हुने सम्झौता गरेको थियो । त्यसैले दुई वर्ष दुःख काटेर भए पनि धेरथोर पैसा लिएर आउने उनको सपना थियो ।

तर, दुबईको जागिर सोचेजस्तो भएन । अस्पताल र विद्यालयमा क्लिनरको काम गर्ने सम्झौता भए पनि दुबई पुगेपछि मुनाले दिनमा दुईदेखि तीनवटा ठूला घर सफा गर्नुपर्ने भयो । दिनमा १६ घन्टासम्म काम गर्दा पनि ओभरटाइमको कुनै सुविधा नदिएको उनले बताइन् । ‘उल्टो स–सानो गल्तीमा पनि तलबबाट जरिवाना काट्दा महिनाको अन्तिममा ६ देखि आठ सय रियाल मात्रै हात पर्न थाल्यो,’ उनले भनिन् ।

कम्पनीसँग यस विषयमा उनले धेरैपटक गुनासो गरे पनि केही सीप लागेन । झन् उल्टै कम्पनीमा उजुरी गरेको भन्दै फिलिपिनो सुपरभाइजरले दैनिक शारीरिक यातनासमेत दिएको उनले बताइन् । त्यसपछि कम्पनीबाट राजीनामा दिएकी उनी चार महिनादेखि उद्धारको पर्खाइमा थिइन् । अहिले भने बस्न दिएको एउटा कोठाबाट पनि निकालेको उनले गुनासो गरिन् । ‘कम्पनीले शनिबार बिहानै निकालेको हो, सडकमै छौँ । दूतावासले पनि वास्ता गरेन,’ मुनाले दुःखेसो पोखिन् ।

संखुवासभाकी अभिस्ना बस्नेत पनि एक वर्षअघि क्लिनरकै भिसामा युएईको सिटिमेड कम्पनीमा पुगेकी थिइन् । गल्फ इनोभेसन ग्रुप नेपाल म्यानपावर कम्पनीमार्फत युएई पुगेकी उनले पनि सम्झौताअनुसार पारिश्रमिक, आवास र अन्य सेवासुविधा भने पाइनन् । ‘सम्झौता गर्दा राम्रै सुविधा दिने भनिएको थियो, युएई पुगेपछि सम्झौताअनुसार कुनै पनि सुविधा दिइएन,’ उनले भनिन् ।

दैनिक १८ घन्टासम्म काम गरेकी अभिस्नालाई ड्युटीमै रहँदा दुर्घटना हुँदा पनि कम्पनीले उपचार गरेन । ‘कम्पनीको सुपरभाइजरबाट दैनिक अमानवीय व्यवहार भयो । सहन नकसेपछि राजीनामा दिएँ,’ उनले भनिन् । त्यसपछि भने उनी पनि मुनासँगै सडकमा पुगेकी छन् ।

उनीहरूसँगै अन्य आठजना नेपाली महिला श्रमिक यही समस्याबाट गुज्रिरहेका छन् । शनिबार बिहानदेखि सनम खत्री, शर्मिला दाहाल, हेममाया मगर, रेणु मगर, निशा तमाङ, रौश्ना खातुन र अरुणा लामा पनि सकडमै छन् । चार महिनाअघि राजीनामा दिएपछि कम्पनीले कोठाबाट निकाल्न खोजेको थियो । तर, धेरै अनुनयविनय गरेपछि बस्नलाई एउटा कोठा दिएको थियो । ‘अहिले त्यही कोठाबाट पनि निकालिदियो, सडकमै बसिरहेका छौँ,’ मुनाले भनिन् ।

कम्पनीले कोठाबाट निकालेपछि उनीहरूले नेपाली दूतावासमा सम्पर्क गरेका थिए । तर, दूतावासले बेवास्ता गरेको उनीहरूले गुनासो गरेका छन् । दूतावासले भने उनीहरूको उद्धारको प्रक्रिया सुरु गरेको बताएको छ । युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता धितालले अलपत्र परेका महिला श्रमिक सम्पर्कमा आएको बताइन् ।

नेपाल फर्कन पासपोर्ट र पैसा छैन :
चार महिनादेखि नेपाल फर्किने पर्खाइमा रहेका १० जना श्रमिक महिलासँग पासपोर्ट पनि छैन । घर फर्किन टिकट काट्ने पैसा पनि नभएको उनीहरूले बताएका छन् । नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधि जयराम अधिकारीलाई धेरैपटक फोन गरे पनि पहल नगरेको उनीहरूको भनाइ छ । कम्पनीसँग पासपोर्ट र क्यान्सिल लेटर उपलब्ध गराउन अनुरोध गरे पनि वास्ता नगरेको मुनाले बताइन् । त्यसैले कम्पनीले हवाईजहाजको टिकट नभएसम्म पासपोर्ट नदिने अडान राखेको छ । तर, नेपाल फर्कन हवाईजहाजको टिकट खरिद गर्ने पैसा नभएको उनीहरूले बताएका छन् । ‘सरकारले उद्धार गरेन भने हाम्रो जीवन यही नर्कमा बित्नेछ,’ मुनाले भनिन् ।

कम्पनीमा अमानवीय व्यवहार
नेपालको विभिन्न स्थानबाट दुबईको सिटिमेड क्लिनिङ कम्पनीमा क्लिनरको भिसामा ४६ जना महिला पुगेका थिए । नेपालस्थित गल्फ इनोभेसन ग्रुप म्यानपावर कम्पनीमार्फत ९० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म बुझाएर उनीहरू गएका थिए । सम्झौतामा आठ घन्टा ड्युटी समय उल्लेख भए पनि काम गर्ने निश्चित अवधि नै नहुने गरेको उनीहरूको भनाइ छ । विद्यालय र अस्पतालमा सफा गर्ने भनेर लगिए पनि व्यक्तिगत घरमा सफा गर्न लगाउने गरेको उनीहरूको गुनासो छ । एकजना महिलाले दिनमा दुईदेखि तीनवटा घरमा सफा गर्नुपरेको उनीहरू बताउँछन् ।

त्यति मात्रै हइन, घर सफा गर्दा गल्तीवश कुनै सामान टुटफुट भएमा तलबबाट जरिवाना काट्ने गरिएको थियो । काम गर्दा दुर्घटना वा बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेको उनीहरूको गुनासो छ । यही विषयलाई लिएर रोजगारदाता कम्पनीलाई उजुरी गर्दा सम्बोधन गर्नुको सट्टा यातना दिएको पीडित मुनाले बताइन् ।
रोजगारदातालाई उजुरी गरेपछि कम्पनीकी फिलिपिनो सुपरभाइजर आनलेले दैनिक गालीगलौज गर्न थालेको उनीहरूले बताएका छन् । ‘लट्ठीले नै कुटपिट गर्न थालिन् । राति–राति कोठामा आएर सामान फाल्थिन्,’ अभिस्नाले भनिन् । बिल्डिङमा भएको सुविधा कटौती गर्ने र कोठामा आएर कुटपिट गरेपछि एक रात सडकमै बिताएको उनले बताइन् ।

नेपाली दूतावासले बेवास्ता गरेको गुनासो :
रोजगारदाता कम्पनीले नेपाली महिला श्रमिकमाथि ज्यादती गरेको थाहा हुँदाहुँदै पनि नेपाली दूतावासले वास्ता नगरेको पीडित महिलाले गुनासो गरेका छन् । कम्पनीकी सुपरभाइजरले कुटपिट गर्न थालेपछि उनीहरूले दूतावासलाई खबर गरेका थिए । त्यो दिन दूतावासको प्रतिनिधि उनीहरूलाई भेट्न पनि आएका थिए । तर, त्यसपछि फर्केर नै नआएको मुनाले बताइन् ।

लकडाउन सुरु हुनुभन्दा एक महिनाअगाडि नै उनीहरूले कम्पनीबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाल फर्काइदिन रोजगारदाता, म्यानपावर कम्पनी, गैरआवासीय नेपाली संघ (एनआरएनए)लगायत अन्य संस्थालाई आग्रह गरेका थिए । एनआरएनएसहित संघसंस्थाको सहयोगमा गत फागनुमा ३६ नेपाली महिला स्वदेश फर्किसकेका छन् । बाँकी १० जना भने युएईमै अड्किएका हुन् । चार महिनासम्म बस्नका लागि कम्पनीले एउटा कोठा उपलब्ध गराएको थियो । खानपिनको व्यवस्था एनआरएनएले गरेको थियो । तर, दूतावासले भने अहिलेसम्म कुनै सहयोग नगरेको उनीहरूको गुनासो छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस