Techie IT
×
गृहपृष्ठसमाचार‘रक्तदानबाट कोरोना सर्दैन’ : १७७ पटक रक्तदान गरी सकेका अर्जुन मैनाली

‘रक्तदानबाट कोरोना सर्दैन’ : १७७ पटक रक्तदान गरी सकेका अर्जुन मैनाली


लन्डन – ५२ वर्षीय अर्जुन प्रसाद मैनालीले अहिलेसम्म १७७ पटक रक्तदान गरी सकेका छन्। संसार भरि कोरोना भाइरसको महामारी फैलिएपछि रक्तदान गर्नेहरुको संख्यामा कमि आएको छ।

रेडक्रस र विभिन्न संस्थाहरुको अन्तराष्ट्रिय महासंघ ९आइ एफ आर सी० ले मानिसहरुलाई रक्त दान गर्न आग्रह गरेको छ। तर घर बाहिर निस्केर स्वास्थ्यकर्मीको सम्पर्कमा आएर रक्तदान गर्न धेरै मानिसहरु डराइ रहेका छन्। विश्व रक्तदाता दिवस (जुन १४) को अवसरमा ग्लोबल नेप्लिजसँग कुरा गर्दै मैनालीले रक्तदान बाट कोरोना नसर्ने भएका कारण मानिसहरुलाई नडराउन आग्रह गरे।

“कोरोन भाइरस संक्रमण शुरुभएयता मैले पाँच पटक रक्तदान गरि सकेँ। आउँदो शुक्रबार फेरि रक्तदान गर्न जाँदैछु। त्यसैले यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नबाट डराउनु पर्दैन,” उनले भने। रक्तदान जीवनदान रगत मानिसका लागि अतिआवश्यक तत्व हो । तर त्यही अत्यावश्यक तत्व अरु कसैलाई दान गरेर पुन्य कमाउन पनि सकिन्छ । त्यसैले रक्तदानलाई जीवनदान पनि भनिन्छ ।

मानिसको शरीरमा समय समयमा आफैँ नष्ट हुने रगत दान गर्दा मानिसको शरीरमा पुनः ताजगी पनि आउँछ । जसका कारण एकातिर रगत दिने दाताको शरीर स्वस्थ हुन्छ हुने अर्कोतिर जीवनदान जस्तो ठुलो पून्य पनि मिल्छ । विश्वभर मानिसलाई रगतका कारण ज्यान गुमाउन नपरोस् भनेर रेडक्रस सोसाइटी लगायत विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम पनि राख्ने गर्दछन् ।

तर, कोरोना भाइरसको संक्रमणसँगै रक्तदान गर्नेहरुको संख्या भने दिनप्रतिदिन घट्दै गएको छ । काठमाडौँ उपत्यका लगायत ठूला शहरहरुमा रगतको अभाव हुन थालेको छ। रक्तदान भन्ने बित्तिकै विश्वभरका प्राय: नेपालीहरुले चिन्ने नाम हो अर्जुन मैनाली । काभ्रेपलाञ्चोकको सिपाली चिलाउनेका मैनालीले नेपालदेखि अमेरिकासम्म रक्तदान गरेका छन् ।

मैनालीले ६ वटा महादेशका १७ देशहरुमा रक्तदान गरेका छन् । पहिलो रक्तदान पछिल्लो समय अमेरिकाको न्यूयोर्कस्थित हिक्सभिल बस्दै आएका उनले १९ वर्षको उमेरमा सन् १९८७ सालमा रक्तदान गरेका थिए । मैनालीका अनुसार अहिलेसम्म १७७ पटक रक्तदान गर्दा झण्डै ५ सय ३० जना मानिस बाँच्न सफल भएका छन् । मैनालीले रक्तदान गर्ने मात्र होइनन् रक्तदानसम्बन्धी धेरै कुराहरु पनि सिकेका छन् ।

मैनालीले सन् १९९५ मा कलकत्तामा ‘इन्टरनेसनल कोलोक्वियम अन एजुकेसन एज अ टुल फर ब्लड डोनर मोटिभेसन एण्ड रेक्रुटमेन्ट’, सन् १९९८ मा मुम्बईमा ‘इन्टरनेसनल कन्फरेन्स अन अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट अफ ब्लड ट्रन्समिसन सर्भिस प्लान्स एण्ड पोलिसिज’ र सन् १९९९ मा जेनेभामा ‘इन्टरनेसनल कोलोक्वियम अन ब्लड डोनर रेक्रुटमेन्ट’ जस्ता सम्मेलनमा भाग लिइसकेका छन् । पछिल्लो समय मैनालीले आफुले सिक्ने मात्रै होईन जानेका कुरा अरुलाई पनि सिकाउन थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा रुवान्डामा आयोजना गरेको विश्व रक्तदाता दिवसमा मैनालीले मूख्य उत्प्रेरक भएर १५ देशका ३ सयभन्दा बढी सहभागीहरुलाई सम्बोधन गरेका थिए । मैनालीले केही समयदेखि केन्या, हाइटी, इक्वेडर, युगान्डा, मलावी, इथियोपिया, रुवान्डा लगायतका देशहरुमा बढी रक्तदान गर्दै आएका छन् । अल्पविकसित देशहरु भएका कारण त्यहाँ धेरै गर्भवती र सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्राव भएर ज्यान जाने गरेका कारण आफुले रक्तदान गर्ने समय भएपछि ति देशहरुमा जाने गरेको बताए ।

अन्तर्राष्ट्रिय सम्मान विश्वभर निस्वार्थ रुपले रक्तदान गरेको भन्दै मैनालीलाई विभिन्न देशका सरकार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाले सम्मान गरेका छन् । मैनालीले सन् २०११ मा सिटी फिल्ड रङ्गशाला न्यूयोर्कमा खेलको मध्यान्तरमा ‘ब्लड डोनर अफ द गेम’ ले सम्मानित भएको छ । त्यस्तै नेपालका तत्कालिन राजा वीरेन्द्रबाट पनि मैनाली सम्मानित भएका थिए । रुवान्डा, केन्या लगायतका सरकार, अमेरिकी प्रेसिडेन्सियल भोलेन्टिएर सर्भिस अवार्डलगायतबाट मैनालीले सम्मान पाइसकेका छन् ।

वेयस्टर वे टाउन, न्यूयोर्कले त डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ नै घोषणा गरेको छ । मैनालीले आफैँमात्र रक्तदान गर्ने नभइ अहिले विश्वका लाखौँ युवा युवतीहरुलाई रक्तदान गर्न उत्साहित बनाएका छन् । मैनालीले २०१७ सालमा काठमाडौँमा आफैँ ३ लाख २५ हजार रुपैयाँ खर्च गरेर रक्तदान उत्प्रेरणा दिन रक्तदानबारे निबन्ध प्रतियोगिता गराएका थिए । जहाँ ७० हजार विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागी भएका थिए । सो कार्यक्रमको पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै २०११ सालमा काभ्रेमा १ लाख २८ हजार र २०१६ सालमा बाजुरामा ३ लाख रुपैयाँ खर्च गरेर विद्यार्थीहरुलाई रक्तदान उत्प्रेरणा कक्षा संचालन गरेका थिए ।

२०१२ सालमा नेपालका दुर्गमका २६ जिल्लामा गर्भवती र सुत्केरी महिलालाई निशुल्क रगत उपलब्ध गराउने सरकारको योजनामा १ लाख रुपैयाँ सहयोग गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका तथा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सका संस्थापक अध्यक्ष मैनाली भन्छन्, “म रक्तदान जीवनदान भन्ने नारा लाई सार्थक पार्न आफ्नो पुरै जीवन समर्पित गर्न चाहन्छु।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस