Techie IT
×
गृहपृष्ठसमाचारफ्रान्सबाट आएका दुई संक्रमित साथी एक नेपाल र अर्की भियतनाम, अरूलाई सर्ने कति सम्भावना?

फ्रान्सबाट आएका दुई संक्रमित साथी एक नेपाल र अर्की भियतनाम, अरूलाई सर्ने कति सम्भावना?


काठमाडौं – टेकु अस्पतालमा कोरोना भाइरस उपचार गराइरहेकी १९ वर्षीया युवती यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। दोहासम्म उनकी भियतनामी साथी सँगै थिइन्। एउटै कलेज पढ्ने उनीहरू फ्रान्सबाट एउटै जहाजमा आएका थिए। दोहा पुगेपछि भियतनामी साथी आफ्नो देश लागिन्, उनी कतार एअरवेजमा नेपाल आइन्।

काठमाडौं घर भएकी उनी विमानस्थलबाट सोझै आफ्नो घर गइन्। संक्रमित देशबाट आएकीले ‘सेल्फ क्वारेन्टाइन’ मा बसिन्। परिवारका बाँकी चार जना सदस्य पनि सतर्क थिए। क्वारेन्टाइनमा बसेको दुई दिन भएको थियो, उनलाई एउटा म्यासेज आयो। म्यासेज पठाउने उही भियतनामी साथी थिए। उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सुनाइन्।

खबर पाउनेबित्तिकै नेपाली युवतीले आफ्नो परिवारसँग कुराकानी गरिन् र टेकु अस्पतालमा सम्पर्क गरिन्। अस्पतालका चिकित्सकले उनलाई एकपटक जाँचका लागि आउन सुझाए। उनी शुक्रबार आफ्नो बुवासँग निजी गाडीमा अस्पताल पुगिन्। बुवा र उनी दुवैले मास्क र पञ्जा लगाएका थिए। अस्पताल पुगेर उनले सबै बेलिविस्तार चिकित्सकलाई सुनाइन्। चिकित्सकले एउटा नमूना परीक्षण गर्नुपर्ने सुझाए।

‘हामीले तत्काल उहाँको घाँटी र नाकको र्‍यालको नमूना संकलन गरी प्रयोगशाला पठायौं,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सेतोपाटीसँग भने, ‘त्यसपछि उहाँहरूले घर जान्छौं भन्नुभयो। घरमा पनि छुट्टै बसिरहेको बताएपछि हामीले अनुमति दियौं।’ उनी त्यसै दिन घर फर्किन्। पहिलेजस्तै सेल्फ क्वारेन्टाइनमा बसिन्।

आइतबार अस्पतालले फोन गरेर उनको कोरोना परीक्षण नतिजा ‘पोजेटिभ’ आएको खबर गर्यो। ‘आइतबार मध्यरातमै हामीले बिरामीलाई घरबाट ल्याएर अस्पताल भर्ना गर्यौं,’ निर्देशक राजभण्डारीले भने। भोलिपल्ट सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत् ती युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि गरे।

अस्पतालले उनको स्वास्थ्य सामान्य रहेको जनाएको छ। नेपालमै संक्रमण देखिएपछि यो अरूमा सर्ने कत्तिको खतरा हुन्छ भन्ने धेरैलाई जिज्ञासा छ। सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो संक्रमण बाहिरबाट भित्रिएकाले (इम्पोर्टेड केस) ठूलो संख्यामा समुदायमा फैलिने सम्भावना एकदमै कम भएको बताउँछन्। ‘उहाँले बाहिरबाट संक्रमण लिएर आएको देखिन्छ। यही केस हाम्रो समुदायभित्रै कसैमा देखिएको भए त्यो निकै खतरा हुन्थ्यो,’ उनले भने।

डा. पुनका अनुसार, समुदायभित्र देखिने संक्रमण त्यही समुदायका अन्य व्यक्तिबाट सर्ने भएकाले कहाँबाट फैलिन सुरू भयो भन्ने पत्ता लगाउन गाह्रो हुन्छ। अर्कातिर, ती युवती नेपाल आएदेखि घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा थिइन्। त्यसबीच उनी कतै बाहिरी सम्पर्कमा गइनन्। ‘शंकास्पद व्यक्ति यसरी बाहिरी सम्पर्कमा नजाँदा अरूमा सर्ने खतरा एकदम कम हुन्छ,’ पुनले भने।

विज्ञहरूका अनुसार, ती युवतीबाट अरूमा नसर्ने भन्ने हुँदैन, तर कसलाई सर्न सक्छ भन्ने शंकास्पद व्यक्तिको गतिविधिले फरक पार्छ।

‘यहाँ युवती सुरूदेखि नै सेल्फ क्वारेन्टाइनमा छिन्। बाहिरी सम्पर्कमा पनि गएकी छैन भन्ने छ,’ डा. पुनले भने, ‘संक्रमण भयो भने सबभन्दा पहिला परिवारका सदस्यलाई हुन्छ। उहाँहरूलाई पनि संक्रमण देखिएन भने अरूमा फैलिने सम्भावना एकदम कम हुन्छ।’

युवतीको परिवारमा चार सदस्य र एक सहयोगी छन्। एक जना फिजियोथेरापिस्टले पनि त्यस अवधिमा उनको घर आवतजावत गरेका छन्। अहिले परिवारका सबै सदस्य ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। ‘हामीले उहाँहरू सबैको नमूना परीक्षण गर्न भनेका छौं,’ निर्देशक राजभण्डारीले भने।

संक्रमण हुन सक्ने अरू समूह भनेको युवतीसँगै कतार एअरको जहाजमा नेपाल आउनेहरू हुन्। परिवारको सदस्यमा संक्रमण नदेखिए जहाजका सहयात्रीमा पनि सम्भावना कम रहने विज्ञ बताउँछन्। सरकारले उक्त जहाजमा ती युवतीसँगै नेपाल आएका अन्य यात्रुको पनि खोजी गर्ने बताएको छ।

यसअघि चीनबाट आएका एक जना नेपाली विद्यार्थीमा पनि कोरोना संक्रमण भेटिएको थियो। त्यस बेला उनलाई परीक्षण पोजेटिभ आउनुअघि नै घर पठाइएको थियो। पछि हङकङबाट ‘पोजेटिभ’ नतिजा आएपछि उक्त विद्यार्थीलाई अस्पताल भर्ना गरियो। दोस्रो परीक्षणको नतिजा ‘नेगेटिभ’ देखिएपछि डिस्जार्च गरियो।

‘कसैमा संक्रमण देखिनेबित्तिकै उसले अरूलाई सार्छ भन्ने हुँदैन। भाइरस अरूमा सर्न र हुर्किन समय लाग्छ। त्यो केस पनि त्यही भएको हुनुपर्छ,’ डा. पुनले भने।

यसपालि पनि अरूमा फैलिहाल्ने खतरा कम रहेको विज्ञ बताउँछन्। सबैले सुरक्षा उपाय भने अपनाउनुपर्ने उनीहरूको सुझाव छ। ‘अहिलेको अवस्थामा सकेसम्म दुरी कायम गर्ने नै हो। त्यसका लागि सबै जना घरभित्रै बस्न उचित हुन्छ। सतर्क रहनुपर्छ तर आत्तिनु हुँदैन,’ पुनले भने।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस