Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : अनसन

कविता : अनसन


बुढ्यौलीले झुस्रुक्क फुलेको सेतो रुख ,
ताछिएका कन्चट र जीर्ण हाँगाबिँगा देख्दा
लाग्छ,
जराले पानी लिनै छोडेको छ ,
र पनि आस्रय दिएकै छ ,
उही जस्तै एक बुढो चरो र
केही भर्खरका बचराहरु लाई।
जबर्जस्ती घर बनाएर बसेको छ
ठुलै जमात ब्वाँसाहरुको ,
कागहरुको ,
बाजहरुको ,
गोमन र अजिङ्गरको ।

चुच्चोभरी खुसी बटुलेर
चारैतिर उडिरहन्छ बुढो चरो ,
आँशुले बगाउनै लागेका बस्तीहरुमा
हाल्छ केही थान खुसीका बाँधहरु।
आफुसँग भएको एक चुच्चो खुसिले
पुर्न सक्दैन
दुःखका खाल्डाहरु

धिक्कार्छ उही श्रीपेच लाई
जुन बर्शौ पहिले मरेको हो
खसेर स्वार्थको पहाडबाट ।

फर्किएर दर्बार तिर चिच्याउछ ,
दुःखी चराहरुको आवाज
मरेकाटे सुन्दैन ,
भाङ खाएर निदाएको जिउँदो सालिक ।
भरौटेहरु कहिले काग बनेर ठुङ्ग्छन् ,
कहिले बाज बनेर सर्लक्कै निल्छन् ।

रोईकराई गर्छन चराचुरुङ्गी हाँगाहरुमा
कहिले भोकमा रुन्छन्
कहिले शोकमा रुन्छन्
कहिले रोगमा रुन्छन्
बाँध्न नसके पछि पुल
पीडाको बाडीमा
बोकेर ज्वालामुखी मन
दौडिन्छ आस्थाको मन्दिर तिर

बजाउँछ अनसनको घन्टी ट्याङ्ग , ट्याङ्ग , ट्याङ्ग !!

पुरा रनबन ब्युँझिएपछि ,
ब्युँझिन्छन् साला र सम्धीहरु पनि,
खसालेर अलिकति चारो थुनिहाल्छन्
मान्ने जतिलाई रातारात जालमा ,
ठोकीदिन्छन केही थान मट्याङ्ग्रा ,
नफस्ने मुटुहरुमा

दबाइन्छन् आवाज !

बुढो चरो फेरि एक्लिन्छ सडकमा ,
निरासाको एक थोपा नुनिलो पानी
तप्किन्छ चुच्चोमा ,
र तोडिन्छ उसको अनसन ।
रेटिन्छ सपनाको घाँटी
चुडिन्छ समानताको प्राण
र फहराउँछ माफियाबाजीको झन्डा
सगरमाथा भन्दा अग्लो बनेर ।
भन तिमीलाई पनि बस्नु छ अनसन ?


क्याटेगोरी : कला/साहित्य, ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस