Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपएनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर अत्याधिक मतसहित विजयी, महासचिवमा लिम्बुसहित प्यानलकै जीत

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर अत्याधिक मतसहित विजयी, महासचिवमा लिम्बुसहित प्यानलकै जीत


लण्डन – अन्तत धेरै बिबादपछी गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनको नतीजा घोषणा भएको छ । निर्वाचन समितिले एक पत्रकार सम्मेलन गरी नतीजा घोषणा गरेको हो ।

सार्बजनिक नतिजाअनुसार अध्यक्षमा प्रेम गाहामगरसहित उनको प्यानल नै विजयी भएको छ । यसैगरी उपाध्यक्षमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बु विजयी भएका छन् । महासचिवमा खुसी लिम्बु , सचिबमा विष्णु चालिसे, ज्ञानेन्द्र आले र नम्रता गुरुङ महिला सचिवमा विजयी भएकी छन भने कोषाध्यक्षमा विष्णु खरेल विजयी भएका छन् ।

यसैगरी यूवा संयोजकमा तीर्थ मल्ल (अनिल) र इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा लालबहादुर (एलबीजेड) गुरुङ विजयी भएका छन । एनआरएनए यूकेको इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् ।

निर्वाचन समितिले शुक्रबार मध्यरातमा एक पत्रकार सम्मेलन आयोजना गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो । अध्यक्षमा गाहामगरले ४ हजार ५ सय ७४ मत ल्याएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।

करिब ५ दर्जन उम्मेद्वार रहेकोमा गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ । २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३ हजार ७ सय ४३ सहित जित दर्ता गरिन् ।

नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेलले ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।

सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन् । कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

मतपरिणाम सार्वजनिक भएपछि अध्यक्ष गाहाले आफूलाई मतदान दिने सबै मतदाताहरु तथा निर्वाचन अधिकृत महेन्द्रराज कंडेल सहितको निर्वाचन मण्डल टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो चुनावी अभियानमा साथ दिने र आफूसँग चुनावी मैदानमा उठेका सबैको माग सम्बोधन गर्दै धाँधलीरहित र संस्थागत एनआरएनए बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

इंग्ल्याण्डमा गुरुङ र स्कटल्यान्डमा भन्डारी
घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् । इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए । यस्तै स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याए ।

स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् ।
वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।

निर्बाचन घोषणा गर्नुअघि निर्वाचन समिति र च्वाइस भोटिङका बीच बैठक बसी च्वाइस भोटिङले अन्तिम परिणाम निर्वाचन समितिलाई बुझाएको जनाईएको छ । एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि प्रेम गाहा मगर ,रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा रहेका थिए ।

अगष्ट २ मा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए । एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएता पनि निर्बाचन सकिएको चार दिनपछि नतिजा सार्बजनिक गरिएको हो । धेरै बिरोधपछी निर्बाचन समितिले नतिजा सार्बजनिक गरेको हो ।

बक्सर र गोर्खासैनिक हुँदै एनआरएनए यूके अध्यक्षसम्मको यात्रामा गाहामगर
संघमा आर्थिक पारदर्शीता र गोर्खा मुद्दालाई प्राथमिकता दिएका गाहामगर नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी थिए । गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग लिएका थिए।

सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगर एनआरएनए यूकेमा दुई पटक उपाध्यक्ष भएका थिए । पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) उनले बक्सिङ शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे ।

गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस