Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपघरमा आगो लगाएर खरानी बनाउने काम नगरौं: कुल आचार्य

घरमा आगो लगाएर खरानी बनाउने काम नगरौं: कुल आचार्य


लन्डन – गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले संघ भित्र व्यक्तिगत स्वार्थलाई अगाडी नराख्न आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ युकेको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आचार्यले संस्था भित्र सहकार्य गर्न र संगै अगाडी बढ्ने वातावरण बनाउन पनि आग्रह गरे।

“बेलायतलाई संसारले हेरेको छ। हामीले गल्ती गयौं भने कसैको पनि इज्जत राम्रो हुंदैन। घरमा आगो लगाएर खरानी बनाउने काम कसैले नगरौं,” आचार्यले भने।

पूर्व केन्द्रिय उपाध्यक्ष आचार्यले संस्था चुनावमुखी मात्र हुन्छ कि? संस्थापकहरुले शुरुवात गरेको एजेन्डा भन्दा बाहिर जान्छ कि ? आपसमा सदाशयता भन्दा तिक्तता बढाउंछ कि भन्ने चिन्ता पनि व्यक्त गरे। उनले गोर्खा समस्या, गैर आवासीय नेपाली नागरिकता तथा नेपालमा रहेको सम्पत्तिको सुरक्षा गर्ने विषयहरुमा ध्यान दिन आग्रह गरे। आफु एनआरएनए युकेको अध्यक्ष हुंदा २८ जनवरी २०१२ मा युकेमा लगानी सम्मेलन भएको र युकेबाट १२ लाख पौण्ड लगानी नेपाल लगिएको स्मरण गरे। “हाम्रा छोराछोरीहरुको एनआरएन नागरिकता सुनिस्चित गर्न र नेपालमा लगानी गरेर दोश्रो पुस्तालाई पनि नेपालसंग जोड्न आवश्यक छ,” आचार्यले भने।

उनले ३१ जुलाईमा हुन गइरहेको एनआरएनए युकेको चुनाव निस्पक्ष र पारदर्शी रुपमा गर्न पनि आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका राजदूत, लोक दर्शन रेग्मी, ले नेपाल र युके सरकार बीचको सम्बन्ध थप उचाइमा पुराउन र बेलायतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न दूतावासले प्रथ मिकता दिने बताए। उनले नेपालको आर्थिक विकासका लागि युकेमा रहेका अवसरहरुको पहिचान गर्न र पूर्वाधार क्षेत्रमा बेलायतमा रहेका संस्थाहरुको लगानी नेपाल लैजान एनआरएनए युकेसंग सहकार्य गर्ने बताए।

एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्तले एनसीसी युके एनआरएनएको ‘पिलर’ हो भन्दै कोभिड १९ महामारीको बेला नेपालमा अक्सिजन कन्सन्ट्रेटरहरु पठाएर महत्व पूर्ण सहयोग पुराएको भन्दै प्रशंसा गरे।

उनले एनआरएनएले स्थापना गर्न लागेको दस अर्बको कोष नेपालमा रोजगारी सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताए। एनआरएनएका केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसीले आइएलओबाट रू १० करोड बराबरको सहयोग लिएर नेपाली श्रमिकहरुलाइ राहत, नेपाल फिर्ती र पुनर्स्थापनको काम गरिएको बताए। उनले कोभिड १९ संग जुध्न विभिन्न मुलुकका नेपाली दूतावासहरुसंग सहकार्य गरी प्रवासमा रहेका नेपालीहरुलाइ सहयोग पुराएको जानकारी दिए ।

संघकी अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा संचालित सभामा केन्द्रिय महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, महेन्द्र राज कंडेल लगायतले शुभकामना दिएका थिए। कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए।


क्याटेगोरी : यूरोप
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस