Techie IT
×
गृहपृष्ठग्लोबलएसियामोदीको नयाँ नियम, नेपालीले प्लेन चढ्न नपाउने !

मोदीको नयाँ नियम, नेपालीले प्लेन चढ्न नपाउने !


काठमाडौं । तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा आएकाहरु जान नदिएको पीडितले बताए । ‘तिमीहरु जुन बाटो आएका हो, त्यही बाटो फकर्नुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । विना पूर्वसूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीले सास्ती खेप्नुपरेको हो ।

काठमाडौं, चाबहिलका लालबाबु चौधरी सपरिवार वैष्णोदेवी दर्शन गरेर घर फर्किन शुक्रबार बिहान आठै बजे विमानस्थल पुगे । लजेग बुझाए, बोर्डिङ पास पनि लिए । उनको परिवार आउँदा गोरखपुरबाट रेल चढेको थियो । यही कारण देखाएर विमानस्थल अधिकारीले उनलाई विमानमा जान दिएनन् । चौधरी रेलबाट आएर विमानबाट फर्कन लागेको यो पहिलोपटक थिएन । ‘यसअघि आफूलाई जे सजिलो हुन्थ्यो, त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन,’ उनले भने, ‘अहिले बढी गर्मी भएकाले प्लेनबाट फर्कने निर्णय गर्‍यौं । निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनुस् भन्दा पनि सुनुवाइ भएन ।’

‘उड्न नपाउनुको पीडा त छँदै छ, चौधरी परिवारले आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै कुर्नुपर्‍यो । साँझ करिब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए । फेरि होटलमा गएर बस्न खर्च छैन । टिकटको पैसा फिर्ता आउँछ आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्ट पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको छ,’ चौधरीले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

भुटान एयरले बोर्डिङ पास लिएर उड्न नपाएकाको पैसा फिर्ता गर्ने जनाएको छ तैपनि उनी ढुक्क छैनन् । ‘खै कसको कुरा पत्याउने, आशा छैन, अब ऋण सापट गरेर भए पनि फर्कनुपर्ला,’ चौधरीले भने । बसबाट आएका काठमाडौंका प्रमोद मुडवरीलाई पनि विमान जान दिइएन् । व्यापारका सिलसिलामा बीच दिल्ली धाइरहने उनले भुटान एयरको टिकट काटेका थिए । ‘यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउनेजाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु तर यसपटक जान मिल्दैन भनियो,’ उनले भने । बिना पूर्वसूचना उड्न नदिएर बिचल्ली पारिदिएको उनको गुनासो छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको बताए । ‘त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ पाएका छौं,’ ओडारीले भने ।

पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएका थिए । त्यस्तो धम्की सुनेपछि केहीले स्वेच्छाले उडान नभर्ने निर्णय लिए । औपचारिक रेकर्डमा भने अध्यागमन अधिकारीहरुले उडानमा रोक लगाउनुपछाडि अमान्य कागजात कारण देखाएको स्रोतको दाबी छ । रोकिएका नेपालीसँग नागरिकता र पासपोर्ट थियो । जब कि हवाईमार्गबाट नेपाल-भारत आवतजावत गर्दा एउटा भए मात्र पुग्छ । ‘आफूलाई जसरी सजिलो हुन्छ, त्यसरी नै आउनेजाने गर्ने हो । यो त हदैसम्मको भारतको हेपाहा प्रवृति भयो, बिनाकुनै जानकारी जे पनि गर्न हुने ?’ उड्न रोकिएका एक जनाले भने ।

नेपालीहरु उपचार र अन्य विभिन्न प्रयोजनले दिल्लीलगायत भारतीय सहर पुग्ने गरेका छन् । उनीहरु अनुकूलता हेरी बस, रेल र विमानबाट आउजाउ गर्दै आएका छन् । ‘आउने र फर्कने कसरी भन्ने त हाम्रो इच्छा हो, कानुन पालना गरेको छ छैन भन्ने पो हेर्ने हो, यो त दुःख दिने नियतबाहेक केही होइन,’ अर्का नेपाली यात्रु सञ्जय जैसवालले भने, ‘कालोसूचीमा राख्ने धम्की सुनेपछि कुसरी जबरजस्ती गर्न सकिन्छ ?’


क्याटेगोरी : एसिया
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस