Techie IT
×
गृहपृष्ठग्लोबलएसियासरकारसंग बदला लिन चालकले खसाईदिए बस, २१ मृत्यु

सरकारसंग बदला लिन चालकले खसाईदिए बस, २१ मृत्यु


बेजिङ्ग – सरकारी निर्णयका कारण घरबार गुमाएपछि मान्छे कुन हदसम्म जान सक्छ भन्ने चीनको एउटा घटनाले प्रस्ट पार्छ।

चीनको दक्षिणी प्रान्त ग्वेझोको एन्स्यानमा गत साता एक बस चालकले जानाजान गाडी दुर्घटना गराएर आफूसहित २१ जना यात्रुको ज्यान लिएका छन्। स्थानीय सरकारले सहर विस्तारका लागि भन्दै आफ्नो घर भत्काएको रिसमा प्रतिशोध लिन उनले यस्तो कदम चालेको प्रहरीले जनाएको छ।

‘झाङ’ भनेर पहिचान खुलाइएका ५२ वर्षीय ती चालकले आफूले हाँकिरहेको बस रिजर्भोयरमा खसालेका थिए।

प्रहरीका अनुसार स्थानीय सरकारले सहर पुनर्निर्माण योजना लागू गरेपछि झाङको घरलाई पनि भत्काउने सूचीमा राखेको थियो। त्यसपछि उनले सरकारी हटलाइनमा सम्पर्क गरे। आफ्नो परिवारको बसोबासनिम्ति सरकारले नयाँ घर नदिएसम्म पुरानो भत्काउन पाइन्न भनेर उजुरी दिए। तर, स्थानीय निकायबाट उनको उजुरीको सुनुवाइ भएन।

सहर पुनर्निर्माण योजनाका अधिकारीहरूले गत मंगलबार बिहानै आएर उनको घर भत्काइदिए।

आफ्नै आँखाअगाडि घर भत्काइएको तोडमा उनले रक्सी किनेर पानी राख्ने बोतलमा भरे। र, आफू काम गर्ने बस कम्पनीमा गए।

उनले आफ्नो ड्युटी सुरू हुनुभन्दा ठिक अगाडि ११ः३९ बजे आफ्नी प्रेमिकालाई फोन गरेका थिए। ती प्रेमिकाले प्रहरीलाई बताएअनुसार उनी त्यो बेला एकदमै निराश सुनिएका थिए।

उनको ड्युटी ११ः४७ मा सुरू भयो। उनी बस हाँकेर अघि बढे।

ठिक १२ः०९ मा उनी एउटा स्टपमा रोकिए। यात्रुहरू ओर्लिने र चढ्ने गरिरहेका बेला उनले पानीको बोतलबाट रक्सी पिए। त्यसको तीन मिनेटपछि एकदमै तीव्र गतिमा गाडी देब्रे मोडेर पाँच लेन पर हुत्याए।

सडकपारि स्थानीय रिजर्भोयर थियो। लेनबाट हुत्तिएको बस सिधै रिजर्भोयरमा खस्यो।

उक्त दुर्घटनामा झाङसहित २१ जना यात्रुको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। बसमा कम्तिमा १२ जना विद्यार्थी थिए, जो कलेजको प्रवेश परीक्षा दिएर फर्किरहेका थिए। तीमध्ये पाँच जना मारिएका छन्।

बस सडकबाट हुत्तिएर रिजर्भोयरमा खस्दै गरेको दृश्य स्थानीय टेलिभिजनले प्रसारण गरेको थियो। त्यसलगत्तै यो दुर्घटना हो कि नियोजित हो भन्नेमा बहस चलेको थियो।

त्यसै साता शुक्रबार चिनियाँ पत्रिका ‘सियाजिन’ ले झाङका बारेमा समाचार प्रकाशित गर्यो। घटना भएकै दिन बिहान उनको पुरानो घर भत्काइएको उक्त समाचारमा उल्लेख थियो। झाङले आफ्नो घर जोगाउने कोशिस गर्दा सफल हुन नसकेको विवरण समाचारमा थियो। स्थानीय निकायको यो कदमबाट आक्रोशित भएर झाङले जानाजान गाडी दुर्घटना गराएको हुनसक्ने अनुमान पनि समाचारमा गरिएको थियो।

यो समाचार अनलाइनमा एकदमै धेरै पढियो। यसले विकासका नाममा स्थानीयको घरबार उजाड्ने सरकारी रवैयाविरुद्ध व्यापक बहस सुरू भयो।

प्रहरीले आफ्नो अनुसन्धान क्रममा उक्त पत्रिकाको रिपोर्ट पुष्टि गरेको छ। आइतबार सार्वजनिक प्रहरीको अनुसन्धान विवरणअनुसार झाङको घर ४० वर्गमिटरको थियो। स्थानीय सरकारले उक्त घर भत्काउन जुन ८ मा उनलाई १० हजार ४ सय डलर क्षतिपूर्तिको सम्झौता गराएको थियो। तर, झाङले क्षतिपूर्ति रकम दाबी गरेनन्।

बरू उनले स्थानीय सरकारसँग नयाँ घर माग गरे। यसनिम्ति आवेदन पनि दिए। उनको आवदेन अस्वीकृत गरियो।

‘कोही पनि आफ्नो ४० वर्गमिटरको घर १० हजार डलरमा भत्काउन राजी हुँदैन। यो नागरिकमाथिको ज्यादती हो। तर, त्यसो भन्दैमा झाङले सरकारसँग प्रतिशोध लिन गलत बाटो रोजे,’ उक्त घटनाप्रति टिप्पणी गर्दै ट्वीटरमा आएको एउटा प्रतिक्रियामा भनिएको छ, ‘उनको कदम कायरतापूर्ण छ, जसले निर्दोष नागरिकहरूको ज्यान लियो।’

अर्को प्रतिक्रियामा भनिएको छ, ‘यहाँ कमजोरहरूले आफूभन्दा शक्तिशालीको निर्णय अवज्ञा गर्न सक्दैन। त्यसैले, ऊ आफूभन्दा कमजोरमाथि रिस थोपर्न खोज्छ।’

स्थानीय सरकारले सहर पुनर्निर्माण क्रममा भएका घर भत्काउने निर्णयमाथि छानबीन गरिने र केही गलत कार्य भएका छन् भने दोषीलाई सजाय दिने जनाएको छ।


क्याटेगोरी : एसिया
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस