Techie IT
×
गृहपृष्ठग्लोबलबद्री केसीसँग छानबिन समितिले लियो बयान, आरके शर्मालगायतसँग सोधपुछ

बद्री केसीसँग छानबिन समितिले लियो बयान, आरके शर्मालगायतसँग सोधपुछ


काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका सम्बन्धमा गठन भएको छानबिन समितिले डा बद्री केसीसँग बयान लिएको छ । महान्यायाधीशवक्ताको कार्यालयमा ११ औँ महाधिवेशनको अध्यक्षका उम्मेदवार रहेका डा. केसीसँग समितिले बयान लिएको हो । यस्तै अध्यक्षका प्रत्यासी रहेका आरके शर्मा, तत्कालीन अध्यष रवि थापालगायतसँग पनि समितिले बयान र सोधपुछ गरेको छ । अन्य सम्बन्धित अधिकारीसँग पनि समितिले बयान तथा सोधपुछ गर्दै आएको छ ।

सोधपुछका क्रममा ध्रुवकुमार चौहान नेतृत्वको समितिले चुनावमा भएको धाँधली, आर्थिक कोषको दुरुपयोगलगायतका विषयमा केन्द्रीय रहेर सोधपुछ गरेको थियो । आइतबार बयानका लागि पुगेका केसीसँग समितिले करिब एक घण्टा विभिन्न विषयमा सोधेको थियो । विशेषगरी चुनावका क्रममा भएको धाँधली, धाँधलीमा केसीको संलग्नता र उठेका विविध विषयमा उनलाई प्रश्न गरिएको थियो । तर, केसीले आफूमाथि लागेको आरोप मिथ्या भएको भन्दै भेरो कम्पनीको छनोट नै अहिले धाँधलीको आरोप लगाउनेहरुबाट भएको जिकिर गरेका थिए । साथसाथै उनले धाँधली पुष्टि भएको खण्डमा आफूले राजीनामा दिएर बाहिरिने पुरानो कुरा पनि दोहोर्याएका थिए ।
केसीसँगको बयानपछि आरके शर्मासँग पनि सोधपुछ भएको थियो ।

शर्माले भने धाँधलीका फेहरिस्त प्रस्तुत गरेका थिए भने कुनै पनि हिसाबले पारदर्शी ढंगले चुनाव भएको मान्न सकिने अवस्था नरहेको जिकिर गरेका थिए । समितिका सदस्यले भेरो भोटिङ ल्याउन हस्ताक्षर गर्ने व्यक्ति भएर पनि किन अविश्वास गरेको भनेर प्रश्न समेत गरेका थिए । तर, शर्माले सबै कुरा ठीक हुँदाहुँदै पनि अन्तिम समयमा सिस्टमनै ह्याक गरेर धाँधली गरिसकेपछि पुरानो हस्ताक्षरमा टिक्न नसकिने बताएका थिए । यस्तै उनले धाँधलीसम्बन्धी प्रतिवेदन नै समितिमा पेश गरेको दाबी गरिएको छ ।

निर्वाचनमा सुरुमा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा प्राप्त मत शून्य देखिएपछि विवाद उत्पन्न भएको थियो । एनआरएनएको निर्वाचन अस्ट्रेलियन प्रविधि कम्पनी भेरो भोटिङमार्फत गराइएको थियो । अर्थात् पूर्णतः अनलाइनमार्फत भएको उक्त निर्वाचनमा काठमाडौँमा उपलब्ध एनआरएनहरुका लागि महाधिवेशनस्थल राजधानीको होटल सोल्टीमा छुट्टै बुथ बनाइएको थियो । यद्यपि त्यहाँपनि अनलाइनमार्फत नै भोट खसाल्ने नै व्यवस्था गरिएको थियो । कात्तिक १ गते मध्यरातदेखि सुरु भएको मतदान कात्तिक २ गते मध्यरातसम्म जारी रह्यो भने लगत्तै निर्वाचनसमितिका प्रमुख यादवप्रसाद ढुंगानाले सबै उम्मेदवारलाई राखेर मतपरिणाम ‘लाइभ’ सुनाए । तर, नतिजाअनुसार केशव पौडेलको मत नै काठमाडौँमा शून्य आएको र उनलाई पराजित देखाइएपछि मतपरिणाम सार्वजनिक स्थलमै हंगामा हुन पुगेको थियो ।

नतिजाअनुसार अध्यक्षमा बद्री केसी विजयी भएको भनिएपनि अध्यक्षका उम्मेदवारद्वय आरके शर्मा र महेश श्रेष्ठले समग्र निर्वाचनमै धाँधली भएको भन्दै आफूहरूले नतिजा नमान्ने घोषणा गरे । उनीहरुले सिस्टम ह्याक गरेर बद्री केसी समूहले अध्यक्षसहितका पदहरुमा नै नतिजा उलटपुलट पारेको आरोप लगाए । यस्तै समर्थकहरुबीच पनि चर्को नाराबाजी भयो भने जितेका भनिएकाहरुले पनि खुसीयाली बनाउने माहौल रहेको थिएन। सोल्टीमा रातभर विवाद भयो भने त्यसपछि महाधिवेशनको बाँकी प्रक्रिया समेत पुरा हुन सकेन ।

विवाद समाधानको प्रयासस्वरुप तत्कालीन अध्यक्षहरु केसीसहित कुल आचार्य र रविना थापाले कात्तिक ३ गते एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका सो दिनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी गराए । त्यसअघि नै शर्मा र श्रेष्ठले परराष्ट्र मन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो र प्रधानमन्त्री कार्यालयसम्म धाँधली भएको दाबी गर्दै निवेदन दिइसकेका थिए । यतिसम्मकी विवादकै कारण कात्तिक ३ गते समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम रहेपनि प्रधानमन्त्री प्रचण्ड गएनन् ।
तर, एकाएक केसीले शपथ लिएपछि शर्माले पनि नयाँ समिति बनाएर गतिविधि गर्दै आएका छन् । यही विवादको उजुरी परराष्ट्रसम्म पुगेपछि छानबिन समिति बनाइएको थियो । गत माघ ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति बनाइएको थियो । निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी तथा निवेदनहरू र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवादको सम्बन्धमा र संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति बनाइएको थियो । तर, समितिले निर्धारित मितिमा प्रतिवेदन तयार गर्न नसकेपछि एक महिना म्याद थप गरिएको छ । चौहानले समितिले तीव्रताका साथ जिम्मेदवारीअनुसार काम गरिरहेको जनाए ।

गत असोज ३० देखि कात्तिक ३ गतेसम्म तय भएको ११ औँ महाधिवेशन र निर्वाचन कार्यक्रममा दुई पक्षबीच भएको मतपरिणमसम्बन्धी विवाद समाधान नभएपछि सरकार छानबिन समिति नै गठनगर्नेसम्मको अवस्थामा पुगेको हो । निर्वाचनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठ छुट्टाछुट्टै प्यानल बनाएर अध्यक्षको दौडमा थिए । जसअनुसार कात्तिक २ गते मध्यराति निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गर्दा अध्यक्षमा बद्री केसी र अन्य पदाधिकारीमा मिश्रित नतिजा आएको थियो । तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा प्राप्त मत शून्य आएपछि विवाद उत्पन्न भएको थियो ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस