Techie IT
×
गृहपृष्ठग्लोबलवैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य

वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य


काठमाडौँ। वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा गैरआवासिय नेपाली संघका अध्यक्ष कुल आचार्यले आफुहरुको धेरै पहिले देखीको माग पुरा गरेकोमा सरकार र सरोकारवाला निकायलाई धन्यवाद ब्यक्त गरेका छन ।यो अभियानमा गैरआवासीय नेपालीहरुको उल्लेख्य सहभागिता रहने समेत आचार्यले प्रतिवद्दता जनाएका छन ।
अध्यक्ष आचार्यले गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा मध्य एक सामाजिक सुरक्षा कोष योजना शुभारम्भ भएकोमा आफू हर्षित भएको र यो सारा गैरआवासीय नेपालीहरुको लागि खुसीको क्षण रहेको बताए । गैरआवासीय नेपाली संघले २०११ देखि नै सामाजिक सुरक्षा कोषको स्थापना गर्नको निमित्त सरकारलाई पहल गरिरहेको र अहिले सार्थकता पाएकोमा सरोकारवाला सबै निकाय प्रति आचार्यले कार्यक्रममा आभार प्रकट गरे । गत साउन २० गते होटल हिमालयनमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ एनआरएनए बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाउदै आचार्यले  योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख नेपाली श्रमिक लाभान्वित हुने बताए ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन संघले यसअघि नै धेरै पहल गरेको जनाउदै अध्यक्ष आचार्यले हाल सामाजिक सुरक्षा कोषमा सूचीकृत हुदा आफू ,संघ र गैर आवासीय नेपालीहरु अत्यन्तै खुशी रहेको बताए । संघको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको अध्यक्ष आचार्यले बताए ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको योगदानमा आधारित सामाजिक सुरक्षा योजना समुदघाटन समारोहमा गैर आवासिय नेपाली संघका अध्यक्ष कुल आचार्यको
शुभकामना मन्तव्यको पूर्ण पाठ

वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको योगदानमा आधारित सामाजिक सुरक्षा योजना समुदघाटन समारोहका अध्यक्ष श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका श्रीमान सचिव ज्यु
प्रमुख अतिथि, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू
विशिष्ठ अतिथि, श्रीमान मुख्य सचिव शंकरदास वैरागीज्यु
सामाजिक सुरक्षा कोष सञ्चालक समितिका सदस्यज्यूहरु,सह-सचिवज्यूहरु, विभागिय प्रमुख ज्युहरु कार्यकारी निर्देशकज्युहरु एवं मन्त्रालय, गैर आवासिय नेपाली संघका अध्यक्ष ज्यू लगाएत साथिहरु विभाग कार्यालयवाट पाल्नु भएका कर्मचारी ज्युहरु,विभिन्न संघ संस्था संग आवद्ध रोजगारदाता तथा श्रमिक प्रतिनिधि ज्यूहरु, ILO, GIZ, लगायत अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधिज्यूहरू, पत्रकारज्युहरु

सर्वप्रथमतः यस कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट केही धारणा राख्ने मौका प्रदान गर्नुभएकोमा आयोजक प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग वकालत, पैरवी, समन्वय र सहकार्य गर्दै आएको छ । यसर्थ पनि आजको दिन हाम्रो लागि महत्वपूर्ण र विशेष छ । आजको दिनलाई हामीले उठाउँदै आएको मुद्दा मध्येको एक महत्वपूर्ण मुद्दा सम्बोधन भएको दिनको रुपमा सम्झिरहनेछौँ ।
बर्षौ अघि देखि एनआरएनएको हजारे अभियानको सपना पुरा गर्न यस अघि विभिन्न प्रयासहरु नभएका होईनन तर सामाजिक सुरक्षा कोषको गहिरो अभिरुची सहितको लगाव र मन्त्रालयको नेतृत्वको दुरदर्शि अठोटले आज सम्भव तुल्याएको छ।यसको लागि सचिव ज्यूको नेतृत्व र उहांको टिम प्रति गैर आवासिय नेपली संघ सधै अनुग्रही र कृतज्ञ रहने छ ।
चालु आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने उल्लेख छ । यसबाट मलेसिया, मध्यपूर्व लगायत विभिन्न मुलुकमा कार्यरत लाखौं नेपाली लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।
बजेटमा उल्लेखित गैरआवासीय नेपालीहरु प्रति लक्षित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न हामी सम्माननीय प्रधानमंत्रीज्यूलाई हार्दिक आग्रह गर्दछौं। यी योजना तथा कार्यक्रमहरुको कार्यान्वयनमा सहकार्य गर्न गैरआवासीय नेपाली संघ सधैं तत्पर रहेको पनि विश्वास दिलाउन चाहन्छु।
हामीले उठाएका गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको अधिकार, नेपाली सरह लगानी नीति लगायत हामीले उठाएका मुद्दाहरु छिट्टै सम्बोधन हुने हामीले विश्वास लिएका छौं ।मातृभुमिमा उद्दमसिलता प्रवद्धन र लगानी योग्य पुँजी परिचालनको लागि गैर आवासिय नेपाली संघ संवाह वन्न चाहन्छ । त्यसका लागि सम्माननीय प्रधानमंत्रीज्यू को ध्यानाकर्षण गराउन चाहन्छौं।
अव मेरो सामाजिक सुरक्षाको वारेमा सानो अनुभव शेयर गर्न चाहन्छु, योगदानमा आधारित सामाजिक सुरक्षाले राज्यको नागरिक प्रतिको अभिभावकत्व मात्र नभएर यसले राजश्वको संरचनामा ठुलो योगदान, आन्तरिक पुँजी परिचालनको दरिलो आधार र काम गर्ने संस्कार स्थापित गर्नमा राष्ट्रको लागि मेरुदण्डको भुमिका खेल्दो रहेछ । विकसित देशहरुमा काम गर्ने संस्कृती र उच्च उत्पादकत्वको आधार पनि सामाजिक सुरक्षा प्रणाली हुदो रहेछ । नेपालमा पनि त्यस्तै ऐन कार्यान्वयनको करिव ४ वर्ष व्यतित भै सकेको छ । नया अभ्यास र अन्य प्राविधिक कारणले ऐन कार्यान्वयनको दिशामा केहि समय लाग्ने अन्य देशको अनुभवले पनि देखाउछ तर राज्यको सामाजिक सरक्षणको दिगोपनाको लागि यस ऐन र पद्धती कार्यान्वयनको विकल्प छैन । विकसित देशमा सामाजिक सुरक्षा प्रणालीमा हरेक नागरिकको आवद्धता अपरिहार्य हुन्छ । सामाजिक सुरक्षा वा SS नम्वर नभइ केहि गर्नै पाइदैन । सक्ने उमेर सम्म काम गर्ने नसक्दा र केहि परे राज्यले हेर्छ भन्ने जवाफदेहिताको अभ्यास यस्तै संरचनाले गर्छ ।सम्माननीय प्रधानमन्त्री ज्यूलाई यो निवेदन गर्न चाहान्छु कि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को सफल कार्यान्वयनले मुलुकमा श्रमलाई उत्पादन संग जोडी Decent Work मार्फत सामाजिक संरक्षणलाई Cost Effective वनाउन र Internal Capital mobilization को महत्वपुर्ण आयम सृजना गर्न सक्ने देखिन्छ । मानौ २० लाख श्रमिक यस कोषमा आवद्ध हुदा राज्यले हरेक वर्ष करिव १ खर्व भन्दा वढिको Long Term Capital Infrastructure build up को लागि परिचालन गर्न सक्छ । विदेशमा राज्यको ठुला खर्चहरुको लागि र ठुला लगानीकर्ताहरु यस्तै कोष हुने गर्छन । जुन रोजगारी सृजना र Poverty Reduction को महत्वपुर्ण आधार हुन सक्छ।यस्तो प्रणाली मार्फत राज्यले छोटो समयमानै धेरै लाभ लिन आवद्धताको लागि सुरुवाती चरणमा राज्यको Co-Contribution मार्फत Promotion गर्ने अभ्यास पनि देखिन्छ । एसियन राष्ट्र Thailand ले Co-Contribution वाट धेरै लाभ लिएको पनि छ।चिनकै अभ्यास हेर्ने हो भने पनि Social Protection को Strengthening संगै National Revenue structure मा करिव 18 प्रतिशतको Contribution योगदानमा आधारित सामाजिक सुरक्षाको देखिन्छ । हुनत नेपालले पनि छोटो समयमानै Social Protection को क्षेत्रमा विश्वमै अनुसरण गर्न योग्य कामहरु भएको देखिन्छ।अझै थप गतिका साथ कोषले काम गर्न सुभकामना दिदै यसको लागि पनि गैर आवासिय नेपाली संघको सधै सहकार्य रहने जानकारी गराउन चाहन्छु ।
धेरै लामो छलफल पछि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको लागि ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्याविधिले श्रमिकको धेरै ठुलो अपेक्षाहरु तत्कालै पुरा गर्न नसके पनि निरन्तर सुधारको माध्यम मार्फत योजनाहरुलाइ थप योगदानकर्ता मैत्रि वनाउन सकिने प्रशस्त आधारहरु दिएको छ । विश्वमै अवकास वचत जस्ता आम्शिक योजनाहरुको अभ्यास भएता पनि आज देखि कार्यान्वयनमा आउने योजनाहरु मेरो अनुभवमा करिव यो नया अभ्यास हो। त्यसैले यसप्रतिको सम्पुर्ण अपनत्व गैर आवासिय नेपाली संघले लिदै यसको सफल कार्यान्वयनमा कुनै कसर वाकि नराख्ने प्रतिवद्धता जनाउन चाहन्छु । विदेशमा रहेका नेपालीको सामाजिक सुरक्षाका लागि रोजगारदाता मुलुकलाई पनि जिम्मेवार वनाउनु पर्ने आवश्यकता छ । श्रमिकको जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगारमा गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरुको जीवन यापनका लागि सामाजिक सुरक्षा अनिवार्य छ । आज कार्यान्वयनको चरणमा प्रवेश गरेको यो योजनाले क्रमस गन्तव्य मुलुककै रोजगारदाताको योगदान सहितको Comprehensive Social Security System मा आवद्ध हुने दिशामा अगाडी वढने आधार दिएको छ श्रीमान सचिव ज्यूको यसमा ठुलो Initiation पनि देख्छु।यसले वैदेशिक रोजगारीमा भएका श्रमिकको जीवन शुखमय संगै राज्यको ठुलो खर्चभारलाई न्यूनीकरण गर्न सहयोग गर्छ ।
वृहत आवद्धताको अभियानलाई साथ दिन सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन संघले पनि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्नेछ । यसमा हामी सरकारसँगै हातेमालो गर्नछौ ।
यो कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि विदेशमा कार्यरत नेपालीहरु लाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियानको शुरुवात संघ ले यही अप्रिल ७ मा कतार र अप्रिल ९ मा मलेसियाबाट शुरु गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छु । उक्त दुवै कार्यक्रममा सम्माननीय प्रधानमंत्री ज्यू लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीज्यू हरु लाई हामी हार्दिक निमंत्रना गर्न चाहन्छौं।
यसैबीच, भर्खरै मात्र नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति हार्दिक आभार व्यक्त गर्दछु । संघले लामो समयदेखि उठाउँदै आएको यस मुद्दा सम्बोधनका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा भूमिका निर्वाह गर्नुहुने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एवं सरोकारवाला सम्पूर्ण निकाय तथा महानुभावप्रति संघ हार्दिक आभार व्यक्त गर्दछ।

“हामीहरुको निरन्तर प्रयास तथा नेपाल सरकारसंगको निकट सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको छ । वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौं । हजारे अभियानदेखि लिएर यहाँसम्म आइ पुग्दा हामीले निस्चय नै ठूलो फड्को मारेका छौं। यो योजनाको सफल कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य जारी राख्ने छ । यस अवसरमा यो अभियानमा हामीलाई निरन्तर सघाउनु हुने सम्माननीय प्रधानमंत्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ज्यू, पूर्व प्रधानमंत्री शेर बहादुर देउवाज्यू, मुख्य सचिब शंकर दाश बैरागी ज्यू पूर्व श्रम मंत्रीज्यूहरु, श्रम सचिव एक नारायण अर्यालज्यू, नेपाल सरकारका वरिष्ठ अधिकृतज्यूहरु, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक तथा उहाँको टिम, नेपालको निजी क्षेत्रका अगुवाहरु, बैंकिंग क्षेत्र, दातृ संस्था, ट्रेड युनियन लगायत सबै प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। यो अभियानलाई सफल बनाउन गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष आदरणीय मित्र डिबि क्षेत्रीज्यु,आरके शर्माज्यूलगायत सम्पुर्ण टिम प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छु । धन्यवाद !
कुल आचार्य
अध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA, #कुल आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस