Techie IT
×
गृहपृष्ठघुमफिरदस दिनमा ३५० बढी आरोही पुगे सगरमाथाको चुचुरोमा

दस दिनमा ३५० बढी आरोही पुगे सगरमाथाको चुचुरोमा


काठमाडौं, सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन्। पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्। सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए। जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ।

यस्तै, सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए। यसअघि सन् २०१३ मा करिब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए। सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो।

सगरमाथा आरोहण इतिहासमा यस पटक सबभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

आज बिहानमात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले बताइन्। सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्।

यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते सुरू भएको थियो। तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए।

त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन्। आरोहणकै क्रममा अहिलेसम्म करिब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक छ।


क्याटेगोरी : घुमफिर


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार