Techie IT
×
गृहपृष्ठविचारनिजामती कर्मचारीलाई सातामा २ दिन बिदा दिँदाका ५ फाईदाहरु

निजामती कर्मचारीलाई सातामा २ दिन बिदा दिँदाका ५ फाईदाहरु


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका गगन थापाले निजामती कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव गरेपछि यस विषयमा बहस शुरु भएको छ । बिदा भनेपछि निजामती कर्मचारीहरु खुसी नहुने कुरै भएन । तर, कार्यालय समय कसरी व्यवस्थापन गर्ने भन्ने बहस कर्मचारीभित्र पनि शुरु भएको छ ।

विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलका क्रममा छ । निजामती कर्मचारीले अहिले सातामा एक दिन शनिबार बिदा पाउँदै आएका छन् ।

संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई अहिलेको काम गर्ने समय नघट्ने गरी शनिबार र आइतबार दुई दिन बिदा दिने प्रस्ताव गरेका हुन् । त्यति मात्र होइन कर्मचारीलाई संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र त्यही प्रकृतिका अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्ने गरी बढीमा १० वर्षसम्म बिदा दिने प्रस्ताव पनि गरेका छन् ।

कांग्रेस नेता थापाले तथ्य र तर्कसहित समिति बैठकमा प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय प्रचलनलाई अध्ययन गरेर नै यस प्रस्ताव अघि सारको थापाको भनाइ छ । कामको गति, आर्थिक अवस्था र सेवाको प्रभावकारितालगायतका विषयमा राम्रो फाइदा लिन सकिने तर्क सांसद थापाको छ ।

थापाको प्रस्ताव

नेपालमा वर्षमा शनिबारसहित ८९ दिन बिदा दिइन्छ । अतिरिक्त सार्वजनिक बिदा १० दिन रहेको छ । सम्बन्धित धर्म र भौगोलिक क्षेत्रका लागि बिदा २२ दिन तोकिएको छ । सबैका लागि दिइने बिदा ६७ दिन हो ।

यो सबै हेर्दा बिदाको संख्या कम हैन । इदको बिदा अघिल्लो दिन मात्र थाहा पाइएको थियो । यस्तो आकस्मिक बिदाले न त खुसी ल्याउँछ न पर्यटन क्षेत्रमा सहयोग गर्छ । त्यसैले बिदा संरचनात्मक हुनुपर्छ । जस्तो शनिबार र आइतवार बिदा दिँदा दुवै प्रकारका फाइदा हुन सक्छन् ।

संसारमा सबैभन्दा धेरै सार्वजनिक बिदा दिने देश कम्बोडिया हो । सबैभन्दा थोरै बिदा मेक्सिकोले वर्षमा जम्मा ७ दिन मात्र दिन्छ । मेक्सिकोमा काम गर्ने समय प्रतिवर्ष २२५८ घण्टा रहेको छ । जर्मनीमा जम्मा १३५६ रहेको छ । यद्यपि, जर्मनीको प्रतिव्यक्ति आय वार्षिक ५१ हजार ६८० अमेरिकी डलर छ भने मेक्सिकोको प्रतिव्यक्ति आय वार्षिक १७ हजार ८४० डलर रहेको छ ।

नेदरल्याण्ड्सले सातामा जम्मा चार दिन कार्य दिनको अभ्यास गर्ने तयारी गरेको छ । नेदरल्याण्ड्सले खुसी र उत्पादनमा विश्वास गर्छ । कार्यालय आउनु मात्र काम गर्नु होइन । कार्यालय जाँदैछौ तर काम गर्न जाँदैछैनौं भने कसरी खुसी र उत्पादन लिन सक्छौं ? त्यसैले सातामा दुई दिन बिदा पाउँदा कर्मचारी खुसी पनि हुन्छन् र उनीहरुले उत्पादनमा पनि राम्रो नतिजा दिन सक्छन् ।

नेपालमा निजी क्षेत्रमा अहिले ४८ घण्टा र सार्वजनिक क्षेत्रमा ४० घण्टा काम गर्ने चलन छ । श्रम कानुनअनुसार ४८ घण्टाभन्दा बढी काम गराउन मिल्दैन । कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म र शुक्रवार पूरा दिन काम गर्दा अहिलेको समयभन्दा धेरै हुन आउँछ ।

एक दिन सरकारी क्रियाकलापमा कमी आउँदा हुने फाइदा

१. कर्मचारीमा खुसी आउँछ । परिवारका लागि समय दिँदा उनीहरुको परिवार पनि खुसी हुन्छ । कर्मचारीको थकान र तनाव कम हुन्छ ।

२. उत्पादन काम के गर्यो भन्ने कुरालाई आधार मान्नु पर्छ । त्यसैले कर्मचारीले पाँच दिनको लक्ष्य निर्धारण गरेर प्रभावकारी काम गर्छ सक्छ ।

३. हरेक दिन थकान वा तनाव कम गर्नका लागि पेय संस्कृति (मदिरा पिउने चलन) पनि कम हुन्छ । यसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

४. सातामा दुई दिन बिदा दिनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा फाइदा हुन्छ । कर्मचारीले आफ्नो योजना बनाउने र आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमण गर्छन् ।

५. पछिल्लो समय सामाजमा कता हार्दिकता हराएको महसुस भएको छ । तर, दुई दिन बिदा दिँदा सामाजिक क्रियाकलापमा सक्रियता हुन्छ । छिमेकीसँगको सम्बन्धमा सुधार हुन्छ ।

  • नागरिक ख़बर अनलाईन पत्रिकामा प्रकाशित छ  ।

क्याटेगोरी : विचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस