Techie IT
×
गृहपृष्ठखेलकुदयूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा


काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

बिहिबार त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियमअनुसार यूएईमाथि ९ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो ।

नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्काको मद्धतमा ५० रनको आक्रामक अर्धशतक बनाए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । मध्यक्रमका ब्याटर भीम सार्कीले पनि अर्धशतकिय पारी खेले । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

यसैगरी आरिफ शेखले पनि अर्धशतक बनाए । उनले ६२ बलमा २ चौकासहित ५२ रन बनाएर आउट भए । र, बलर गुल्सान झाले आक्रामक अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५० रन बनाए ।

यस्तै, ओपनर आसिफ शेख शून्य रनमै आउट हुँदा कुशल मल्लले ५ रन, कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले १० रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा आयान अफजल खानले दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस