Techie IT
×
गृहपृष्ठखेलकुदआसिफ र सन्दीपको साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित

आसिफ र सन्दीपको साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित


काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि सहज जित निकालेको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा १० विकेट गुमाउँदै २४५ रन मात्रै बनायो ।

पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ९ चौकाको मद्दतमा ५० रनको योगदान गरे । नर्मन भानुआले पनि ६० रनको अर्धशतकिय पारी खेले । अर्का ओपनर किप्लिन डोरिगाले २६ रन बनाउँदा कप्तान असद वाला ४२ रनमा क्याच आउट भए । यस्तै, सेसे बाउले ३ रन, चार्ल्स अमिनीले १४ रन, हिरि हिरिले ८ रन, अले नाओले २ रन, रिले हेकुरेले २० रन, सेमो कामियाले ५ रन जोडे । चाड सोपर भने शून्यमै आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा कुशल मल्लको नाममा एक विकेट रह्यो ।

 

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४९।१ ओभरमा १० विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो । नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर शेखले उत्कृष्ट शतक प्रहार गरे । उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रनको योगदान गरे । यससँगै उनले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । ९० रन बनाएसँगै उनले एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।

शेखलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर कुशल भुर्तेल भने ४५ रनमा आउट भए । यस्तै, कप्तान रोहित पौडेलले ३० रन जोड्दा भिम सार्कीले ४४ रन बनाए ।

यस्तै, ज्ञानेन्द्र मल्ल भने आजको खेलमा पनि चल्न सकेनन् । उनी ११ रनमै आउट हुँदा कुशल मल्ल पनि २ रनमै क्याच आउट भए । दिपेन्द्रसिंह ऐरीले ७ रन, आरिफ शेखले १५ रन, करण केसीले ८ रन, सन्दिप लामिछानेले ७ रन सोमपाल कामीले ४ रन बनाए ।

पपुवा न्युगिनीका लागि सेमो कमियाले पाँच विकेट लिदाँ रिले हेकुरेले तीन विकेट लिए । अले नाओको नाममा एक विकेट रह्यो ।

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस