Techie IT
×
गृहपृष्ठखेलकुदरोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित


काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।

कमजोर सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे । एक समय ३१।५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् ।

यस्तै, ओपनरद्वय कुशल भुर्तैल र आसिफ शेख क्रमश: १ र १२ रन बनाउँदै आउट भए । ज्ञानेन्द्र मल्लले २१ रन, कुशल मल्लले १७ रन, सन्दीप जोराले १ रन, दिपेन्द्र सिंह ऐरीले ७ रन, सोमपाल कामीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।

स्कटल्याण्डका लागि मार्क वाटले तीन विकेट लिँदा क्रिस ग्रीव्सले दुई विकेट लिए । ब्रान्डन म्याकमुलेन, सुफियान शरीफ र माइकल लीस्कले समान एकरएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धशतकिय पारी खेले । उनले ५० बलमा ९ चौका र २ छक्काको मद्धतमा ६० रनको योगदान दिए । ओपनर काइल कोट्जरले २२ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले पनि समान २२ रन जोडे । कप्तान रिची बेरिंगटन शून्य रनमै आउट हुँदा विकेटकिपर म्याथ्यू क्रसले ४२ रन, टमस स्कट साबटर म्याकिन्टोसले १ रन, ब्रान्डन म्याकमुलेनले ३१ रन, क्रिस ग्रीव्सले ७ रन, मार्क वाटले ८ रन र सफायान शरीफले ८ रन जोडे । माइकल लीस्क शून्यमै आउट भए ।

नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस