Techie IT
×
गृहपृष्ठखेलकुदकतार विश्वकप फुटबल : श्रमिकको गुम्सिएको पीडा

कतार विश्वकप फुटबल : श्रमिकको गुम्सिएको पीडा


कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।

रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुन्, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन । निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए ।

सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिएका निर्मलाका श्रीमानले कतार गएको १० महिनामै जीवन गुमाए । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो, न भनेको काम थियो न तलब नै । ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमान्को मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ,” निर्मलाले भनिन्।

कतारमा विश्वकप फुटबल सुरु हुन लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएकी छैनन् ।

निर्मलाका श्रीमान्जस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ । उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । यो खवर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।


क्याटेगोरी : खेलकुद, पत्रपत्रिका
ट्याग : #फिफा विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस