Techie IT
×
गृहपृष्ठखेलकुदनेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज


सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो । ​ पीएनजीका लागि लागि सेसे बाउले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

यसअघि नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पार्यो । पीएनजीका लेगा सिकालाई करण केसीले ८ रनमा क्याच आउट गराए । त्यसपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पाँचौँ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई सफलता दिलाए ।

तेस्रो बलमा दीपेन्द्रले असाड भाललाई ८ रनमा एलबीडब्लू आउट गराए । चौथो बलमा टोनी उरालाई खाता नखोल्दै क्याच आउट गराए । ​पीएनजीले १२औँ ओभरको तेस्रो र चौथो बलमा आफ्नो दुई विकेट गुमायो । नेपालका कप्तान सन्दीप लामिछानेले उरिले हेकुरेलाई ६ रन र नोरमान भानुवानलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए ।

त्यस्तै नेपालका लागि करण केसीले १६ औँ ओभरको दोस्रो र अन्तिम बलमा दुई विकेट लिए । १७औँ ओभरको पहिलो बलमा रन आउट हुँदा नेपालले उपाधि जित्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५४ रन बनाए । दीपेन्द्रले योसँगै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । नेपालका लागि करण केसीले ३३ रन बनाए । १२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि नेपालले पाँचौँ ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई पीएनजीका कबुआ मोरेवाले २५ रनमा क्याच आउट गराए। रोहित कुमार पौड्यल नेपालको दोस्रो विकेटको रुपमा पेवेलियन फर्किए । रोहितलाई रिने हेकुरेले २ रनमा क्याच आउट गराए ।

१२औँ ओभरमा नेपालले तीन विकेट गुमायो । १२औँ ओभरको पहिलो बलमा आसिफ शेखलाई सेमो कोमेआले २६ रनमा क्याच आउट गराए । सोही ओभरको तेस्रो बलमा सेमोले नै आरिफ सेखलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए । यसै ओभरको पाचौं बलमा दिलीप नाथलाई सेमोले बोल्ड आउट गराए ।

१६औँ ओभरको अन्तिम बलमा नेपालले आफ्नो छैटौँ विकेट गुमायो । आदिल अन्सारीलाई पीएनजीका काड सोपरले १५ रनमा क्याच आउट गराए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टी–२० सिरिज

तपाईको प्रतिक्रिया दिनुहोस