Techie IT
×
गृहपृष्ठखेलकुदफाइनल उपाधिका लागि नेपालले पिएनजीसँग खेल्ने

फाइनल उपाधिका लागि नेपालले पिएनजीसँग खेल्ने


त्रिकोणात्मक टि-२० आई सिरिजको लिगमा अपराजित रहँदै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपालले जितको श्रृंखलालाई कायमै राखेको हो ।

नेपालले दिएको २२४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९।५ ओभरमा अलआउट हुँदै १३८ रनमै समेटियो । मलेसियाका लागि ओपनर विरन्दीपसिंहले ४७ रन तथा कप्तान अहमद फैजले ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सायद अजिज पनि आज १७ रनमै आउट भए । त्यस्तै, अ‍ैनोल हाफिजले १८ रन जोडे ।

बलिङतफै नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान २र२ विकेट लिँदा कुशल मल्ल र कुशल भुर्तेलको नाममा समान एकएक विकेट रह्यो । ।

त्यसअघि मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनी ५७ बलमा ६ छक्का र १० चौकाको मदतमा ११० रन बनाएर अविजित रहे । योसँगै दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

साथै, टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको यो शतक नेपालका लागि चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि-२० आईमा शतक प्रहार गरेका थिए ।

त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकको योगदान दिए । उनी ३४ बलमा ५१ रनमा आउट भए । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १२ रन तथा आशि शेख १८ रनमा आउट हुँदा आदिल आलमले १४ रन जोडे ।

मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो । नेपालले ४ खेलमा शतप्रतिशत जितसहित ८ अंक जोडेर शीर्ष स्थानमा छ । पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने मलेसिया ४ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ।

नेपालले अब सोमबार उपाधिका लागि दोस्रो स्थानको पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टी–२० सिरिज

तपाईको प्रतिक्रिया दिनुहोस