Techie IT
×

जलजला


तिमी मेरो पहिचानको बोधो तार रेट्न
आजको रात आइनौँ भने ।
यो रात म पक्कै
मेरो पहिचानको तार रेटिदाको
पीडाको धुलोहरु खोज्न खर्चने छु।

दश वर्षको शिशिर पार गरेछ । उसको यादमा मुटुले जीउन सिकेको पनि। यतिका लामो समयमा मुटुले उसको यादमा कति गीत कविता लेख्न कोशिस गरे होलान् ? आँसुको आहालमा कलमलाई चोपेर । यी कुरा जान्न विगतको रातहरुलाई बुझ्नु पर्छ । गाह्रो मानी – मानी बिहानीपख झरेका तीन ताराहरुलाई भेट्नुपर्छ । फुलको जोवनीलाई छलेर पातहरुमा झरेको शीतको थोपाहरुलाई सोध्नुपर्छ। रातभरि रुदा रुदै सुन्निएको आखाले घरको मंसिरे बलेसी हेर्नुपर्छ । अनि उसलाई आफुभन्दा अलग राखेर सास लिन प्रयास गरेको छैन भन्नु पर्छ ।
********
प्रिया जलजला!!
असीम प्यारको असीम समर्पण
प्रभाव र अभाव ।
पहिला म तिम्रो प्रभावमा परे । अहिले म तिम्रो अभावमा पलपलमा मरिरहेछु । जीवन मरुभूमि भैसक्यो मनसुन पार्ने बादल म काँहा खोजु । जीवन संकटमा पर्नु भनेको केही कुराको अभाव हुनु रहेछ । अभावले समस्या जन्माउँदो रहेछ । समस्याले जीवनमा पीडाहरु जन्माउँदो रहेछ। पीडाहरुले कमलो मनलाई रुखो बनाउँदो रहेछ। आज म रुखो भएको छु। रासायनिक मल प्रयोग गरेको बारी जस्तै । त्यसैले म कसरी हुर्काउ जीवनको बाँकी समयहरुलाई । समयसँगै जीवनको चोक चोकमा भेटिने तिम्रो यादहरुलाई ।
************
प्रिया जलजला !!
यादको छालहरुमा संगीतको मीठो सम्झना ।
कलेज र उम्दो आँखा ।
मेरी आमाले बुनेको गुन्द्री र बाबाले ज्यामी काम गरेर धेरै वर्ष पहिला किनेको पुरानो कम्बल बोकेर कलेज पढ्न सहर झरेको म l धेरै सपनाको भारि मैले बोकेको थिइन । सपनाहरु थिए होलान् तर पूरा नभएपनि पछि आफुलाई रोगी नबनाउने खालको। जीवनको सपनाहरु लिलामी भएर पनि जोगी नबाउने खालको ।

देश परिवर्तनको मधुमास मनाउन खोज्दै थियो क्यारे । एउटा खाले वर्गको अभाव देखेको र स्वयम आफुले भोगेको म देशमा भैरहेको परिवर्तनको लाभ लिने आशा पक्कै ममा पनि थियो । समयले मलाई गाँउबाट सहर खेद्‌यो । सहरले झन मुग्लान खेद्‌यो । मुग्लानले त झन मलाई तिमीबाट लगातार खेदीरह्यो । म खेदी रहदाको पीडाको धुलोको एकमुष्ट सँगालो हो उल्लिखित शब्दहरु । जुन शब्दहरु तिम्रो निम्ति खर्च गर्न कलेज र मेरो उम्दो आखाले अधिकार दिएको छ।
कलेज पढिरहदा तिमीसंग भेट भएको पहिला दिन । बोल्न हतार गर्ने मेरो ओठहरु । तिम्रो नामको अर्थ खोज्न उत्सुक मेरो दिमागहरु । जीवनमा पैलो पल्ट कुनै नारीलाई प्रेम गर्न थालेको मेरो मनलाई । यी सबै तिमीलाई प्यारो लाग्न छोड्‌यो होला है। तिमी अहिले कस्तो बाटोमा छौं ? कस्तो बाटोमा हिडी रहेकी छौं ? अहिले पनि मेरो आँखाले हेर्न लाखौँ चाहाना गर्छ । तिमीले कस्तो दर्शन बोकिकीछौं ? मेरो दिमागले पढ्न आँधी रातमा पनि रहर गर्छ । उम्दो आखाले शरीर हेरेर प्रेम जन्माउँछ। सायद त्यो बेला मेरो आँखा उम्दो थियो । आखा तिमीमा पर्न गयो । आँखाले प्रेम जन्मायो । मनले हुर्काउन बढाउन चाहा गर्‍यो । तर फरक फरक दर्शनले उन्माद भएको दिमागले अस्वीकार गर्‍यो । त्यसको प्रतिफल हो तिमीलाई सुनाउन मन लाग्ने वेदनाको धुनहरु ।

फरक फरक पाटीको विधार्थी संगठनको पेलानमा पर्न गयो हाम्रो माँया । मैले हाम्रो मायाँ जोगाउन प्रयास गर्नु पर्थ्यो। तिमीबिना पीडा सहनुभन्दा तिम्रो अभिन्न अंग बनेर जीउनका लागि उपायहरु खोज्नु पर्थ्यो । तर तिमीलाई सजिलै भुल्छु होला भनेको म आजसम्म कुहिरोमा हराई रहेको कागझै तिम्रो यादमा हराई रहेको छु । यो यादले मलाई विगतको तिमी दिएरै हो । आजको तिमीबिना म बाँच्न सकेको । नत्र त आजको तिमीलाई पाउन म तिम्रो जीवनको संघारमा हरेक गोधुली सांझ आँखालाई फकाउन पठाउथे होला।

यो वेदनाको पिँध समयको उछालपछालले सँधै ओसिलोग्रस्त छ। हरदिन घामले मेरो ओसिलो आखालाई नदेखेझैं गरेर पर परबाट पश्चिम दिशाको साइत गर्छ । रातको जुन त झन ताराहरुको असीम प्यार पाएर होला ! मलाई त्यति लामो रातमा पनि एकपल्ट सम्झन प्रयास पनि गदैन। हावाहरु मलाई नछोएरै बहन खोज्छ । सायद हावाको झुम्का झुक्कामा मैले उसलाई खोज्न कोसिस गर्छु भनेर होला । यो मेरो बसमा रहेको एकमुठी सास तिम्रो यादमा उस्स भन्दा फालुकी तिम्रो वियोगको पीडामा खुम्चने फोक्सोको निम्ति साँचु !

उही तिम्रो चठ्ठान !!!
दिल थापा
हाल जापान


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस