Techie IT
×
गृहपृष्ठकला/साहित्यआज तिमी मलाई पाल्दै छौ

आज तिमी मलाई पाल्दै छौ


आज तिमी मलाई पाल्दै छौ ।।
बस्दै गर्दाको घर छोडेर आँए ।
लेख्दै गर्दाको थर छोडेर आँए ।।
जन्मे हुर्केको थात छोडेर आँए ।
आमाको प्यारो काख छोडेर आँए ।
बिछोडमा विरत्तिएको मेरो तन,
आज तिमी मलाई पाल्दै छौ ।।

परायालाई आफ्ना र आफ्नालाई पराया बनाउँदा ।
जुनी विताए तिम्रालाई मान्दा मनाउँदा ।।
पराया थात थलोलाई थाम्दा थमाउँदा ।।
अनिच्छित हाँसो हाँसी जिन्दगी चलाउँदा चलाउँदा ।
चाउरी परेछन् बरा अब त गाला पनि,
आज तिमी मलाई पाल्दै छौ ।।

तिम्रै कुलको बिडो थाम्ने छोरो पाईदिदा ।
छोरीले नपुगेर छोरो र एउटाले नपुगेर अर्काे पाईदिदा ।
तिम्रै घरको पोतो अनि झाडो लाईदिदा ।।
तिम्रो अलिकति जुठो अनि अन्तिम गास खाईदिदा ।
मेरा दिनहरु त मुर्झाए छन् बरा,
आज तिमी मलाई पाल्दै छौ ।।

तिम्रै घरको स्याहार र सजाबट गर्दा सजाउँदा ।
तिम्रै लाउने खाने रमाउने कुराको तर्जुमा गर्दा ।।
तिम्रो कोठा अनि भान्छा बनाउँदा सजाउँदा ।
तिमै्र धारा कुलो अनि बारीमा सकिनसकी रमाउँदा ।।
मेरो बैंश त यसै बित्यो बरा,
आज तिमी मलाई पाल्दै छौ ।।

केहि नगरी घर मै बस्नेले घरमा के गर्छे थाह छ ?
लालाबाला अनि बुढाबुढीको स्याहार को गर्छ ?
खाना बनाउने खुवाउने धुने सजाउने जो गर्छ ।।
बस्तुभाउ अनि चिजबस्तुको ध्यान को गर्छ ?
भाँडा लुगा अनि घरबारीको सफाई जो गर्छ ।।
ढाड दुख्ने ब्यथा जागेछ बरा अब त,
आज तिमी मलाई पाल्दै छौ ।।

सन्तानले राम्रो र असल गरे मेरो भन्यौ ।
अनि केही नराम्रो गरे तेरो भन्यौ ।।
काम सप्रिदा मैले गरेर भएको हो भन्यौ ।
केही विग्रिदा तेरो करामत भनि दोष दियौ ।।
तिमीले त बाहिर थोरै गर्दा पनि तक्मा पायौ ।
मैले त तिमी नउठ्दै देखि नसुतेसम्म गर्दा पनि
केही नगरी घरमै बस्ने उपमा दियौ ।
मेरो त जातै यस्तो रहेछ बरा,
आज तिमी मलाई पाल्दै छौ ।।

छोरी घर ढिलो फर्कँदाको तिम्रो गाली ।
छोरा फेल हँुदा वा कम नम्बर ल्याउदाको तिम्रो गाली ।।
तिम्रा आफन्त रिसाउँदाको तिम्रो गाली ।
तिम्री महतारी म संग रिसाउँदाको तिम्रो गाली ।।
खाँदा खाँदा मलाई बेलैमा ग्यास्टीक भयो बरा,
आज तिमि मलाई पाल्दै छौ ।।

कास मैले गर्ने कामको पैसासंग गणना हुने भए ।
सायद तिम्रो मासिक तलब भन्दा चौब्बर
न्यूनतम मूल्य पाउँदा पनि हुन्थ्यो होला ।।
अनि मात्र थाह हुन्थ्यो केही नगर्नेको,
र अनि काम गर्नेको बास्तविकता ।।
मेरो त यसै कपाल सेतो भयो बरा,
आज तिमी मलाई पाल्दै छौ ।।

तिमीले दिएको घर चलाउने पैसा ।
मैले कसरी मात्रै के के मा पुर्याउँछु होला ?
तिमीले त हिसाब माग्छौ म संग, हिसाब पनि छ,
तर बुझाउनु पर्दा डराउँछु, किनकी,
छोरी छोरालाई अलिकति बढी खर्च दिएकी छु ।
म के गरु त तिमीलाई त माग्दैनन् तिनीहरु ।।
एकान्तमा लामो लामो सास फाल्छु बरा,
आज तिमी मलाई पाल्दै छौ ।।
तिमी मलाई पाल्दै छौ ।।।

 


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस