Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाअमेरिकाले अन्तरवार्ताबिनै विद्यार्थीलाई भिसा दिने, क–कसले पाउँछन् ?

अमेरिकाले अन्तरवार्ताबिनै विद्यार्थीलाई भिसा दिने, क–कसले पाउँछन् ?


काठमाडौँ –

अमेरिकाकी दूतावास र कन्सुलेटहरुले अन्तरवार्ताबिनै यो वर्षको अन्तिमसम्म निश्चित प्रकारका विद्यार्थी भिसा जारी गर्ने भएका छन्।

अमेरिकी विदेशमन्त्रीले दिएको अधिकार अनुसार विदेश मन्त्रालयको व्यवस्थापन तथा साधनश्रोत विभागका सहायक सेक्रेटरीले कन्सुलर अफिसरहरुलाई निश्चित प्रकारका विद्यार्थी भिसा विना अन्तरवार्ता जारी गर्न स्वीकृति प्रदान गरेका हुन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार निश्चित प्रकारका एफ, एम र जे भिसा अब कन्सुलर अफिसरहरुले सन २०२१ को डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता नै जारी गर्न सक्नेछन्। अर्थात अन्तरवार्ताका लागि छुट प्रदान गर्न सक्ने भएका छन्।

यो श्रेणीमा विद्यार्थीहरु, प्रोफेसरहरु, रिसर्च स्कलरहरु, छोटो समयका लागि जाने स्कलरहरु र विशेषज्ञहरु समेत पर्दछन्। अमेरिकाबाट प्रकाशित हुँदै आएको अनलाइन खसोखासले प्रकाशित गरेको समाचारअनुसार निश्चित अपवादका बाबजुत उनीहरुलाई अन्तरवार्ताका लागि उपस्थित नभइकनै भिसा जारी गरिनेछ।

विगतका कुनै पनि प्रकारको भिसा जारी भएका एफ, एम र जे भिसाका आवेदकहरुले विना अन्तरवार्ता नै भिसा पाउन सक्नेछन्। अर्थात् विगतमा सोही श्रेणीको भिसा जारी भएको नभएपनि उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिन सकिनेछ।

उदाहरणका लागि विगतमा भिजिटर भिसा पाएको व्यक्तिले अहिले विद्यार्थी भिसा एफका लागि आवेदन दिएको खण्डमा उसले विना अन्तरवार्ता भिसा पाउन सक्नेछ।

तर विगतमा भिसाका लागि आवेदन दिएर अस्वीकृत भएको भने हुनुहुँदैन। त्यस्तो अस्वीकृतिमा विजय प्राप्त गरेको भएमा वा सुविधा प्राप्त गरेको भएमा भने त्यस्ता व्यक्तिले विना अन्तरवार्ता एफ, जे र एम श्रेणीको भिसा पाउन सक्नेछन्।

यसको अर्थ, भिसाको लागि आवेदन दिएको तर सुरुमा अस्वीकृत भएपनि पछि स्वीकृत भएको भएमा वा छुट प्राप्त गरेको भएमा त्यस्ता व्यक्तिले अहिले अन्तरवार्तामा छुट पाउनेछन।

भिसा वेभर कार्यक्रम अन्तरगत पर्ने देशका विद्यार्थी भिसा आवेदकले भने पहिलो पटक आवेदन दिएको भएतापनि विना अन्तरवार्ता भिसा प्राप्त गर्न सक्नेछन्। ३ दर्जन भन्दा बढी देशहरुलाई अमेरिकाले भिसा वेभर कार्यक्रम अन्तरगत राखेको छ जसमा नेपाल भने छैन।

अर्थात नेपालीहरुले पहिलोपटक विद्यार्थी भिसाका लागि आवेदन दिएको भएमा अन्तरवार्ता दिनुपर्नेछ तर विगतमा कुनै पनि प्रकारको भिसा पाएको भएमा भने अन्तरवार्ता छुट पाउन सक्नेछन्।


क्याटेगोरी : अमेरिका


तपाईको प्रतिक्रिया दिनुहोस