Techie IT
×
गृहपृष्ठखेलकुदप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश २ लाई सान्त्वना जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट: प्रदेश २ लाई सान्त्वना जित


दाङ्ग –लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (टी-२०) अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।

सोमबार दिनको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित हुन् पुग्यो । कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहदै ४ रन जोडिन ।

बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३-३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १-१ विकेट लिएका थिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् । टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आले ले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी सोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन्। यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् । बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् ।

यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताको समापन गरेको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो । यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।

एपिएफ समूह ए काे बिजेता, सेमिफाइनलमा प्रवेश

No description available.

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (टी-२०) अन्तर्गत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले सोमबार आफ्नो समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली लुम्बिनी २० ओभरमा ७ विकेट गुमाउँदै ६१ रन बनाए । लुम्बिनीकी लक्ष्मी चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । उपकप्तान सरस्वती पुन १० र स्वस्तिका बजागाईं ४ रनमा अविजित रहिन् ।

तेस्रो ओभरको दोस्रो बलमा सोनु खड्काले ओपनर नितु भण्डारीलाई शून्यमा बोल्ड गर्दै पहिलो सफलता दिलाएकी थिइन् । चौथो ओभरको तेस्रो बलमा रेखा रावलले कप्तान नेरी थापामगरलाई १ रनमा कटएण्ड बोल्ड आउट गरिन् । पाँचौं ओभरको दोस्रो बलमा गिता गोसाई ४ रनमा रन आउट हुन पुगिन् । स्पिनर करुणा भण्डारीले सरस्वती घर्तीमगरलाई ७ र लक्ष्मी चौधरीलाई ११ रनमा बोल्ड आउट गरेपछि लुम्बिनी ३९–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका वर्षा राना २ र शर्मीला मगर १ रनमा आउट भइन् ।

स्पिनर करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाए । एपिएफकी ओपनर ज्योती पान्डेले सर्वाधिक ४९ रनको योगदान दिइन् । १९ औं ओभरको पहिलो बलमा नेरी थापाले बोल्ड आउट गनुअघि ५४ बलमा १ चौका प्रहार गरिन् ।

नेरीलेनै नवौं ओभरको तेस्रो बलमा ओपनर राजमती ऐरीलाई ११ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । इन्दु बर्मालाई कृतिका मरासैनीले १८ औं ओभरको चौथो बलमा २८ रनमा बोल्ड आउट गरेकी थिइन् । इन्दुले ३० बलमा ४ चौका प्रहार गरिन् ।

ममता चौधरी ४ रनमा आउट हुँदा सरिता मगर १० र सोनु खड्का २ रनमा अविजित रहे । कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट लिए ।


क्याटेगोरी : खेलकुद, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस