Techie IT
×
गृहपृष्ठखेलकुदगैरआवासीय नेपाली संघ (एनआरएनए)मा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने प्रक्रिया जारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने प्रक्रिया जारी


गैरआवासीय नेपाली संघ (एनआरएनए)मा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने प्रक्रिया जारी रहेको छ ।

गएको तीन दिनदेखि मनोनयन दर्ताको क्रम सुरु भएपनि हालसम्म उत्साहजनक ढंगले उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरु अझै पनि आन्तरिक छलफलमा रहेको तथा टीमहरु मिलिनसकेकाले मनोनयन दर्ता गराउने क्रम सुस्त बनेको बताइएको छ ।

तीन दिनको अवधिमा जम्मा २४ जनाले मात्रै पूर्ण प्रक्रिया पुरा गरेर मनोयन दर्ता गराएको संघकी सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।

उनका अनुसार सोमबारसम्म मनोनयन दर्ताको समय रहेकाले यो दुई दिनमा मनोयन दर्ताको प्रक्रिया सबै सकिने छ । संघको मनोनयन दर्ताका लागि दुई जना समर्थक र प्रस्तावक अनिवार्य रुपमा चाहिन्छ । साथसाथै संघलाई तिर्नेगरी यसअघि घोषणा गरेको बक्यौदा रकम पनि बुझाइसकेको हुनुपर्नेछ । उम्मेदवार, प्रस्तावक र समर्थकको बक्यौता तिरेपनि मात्रै सबै प्रक्रिया पुरा हुने गरेको छ । साथै उम्मेदवार प्रस्ताव र समर्थक बस्न नमिल्ने प्रावधान समेत रहेको छ ।

संघको अध्यक्ष पदमा हालसम्म आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन् । उनलाई उम्मेदवारी दर्तालगत्तै अध्यक्षका प्रत्यासीद्वय बद्री केसी र महेश श्रेष्ठले शुभकामना दिएका छन् । शर्मालाई उम्मेदवारी दर्तापछि एनआरएनए मुख्यालयमै रहेका केसी र श्रेष्ठले शुभकामना दिएका हुन् । जसले एनआरएनएभित्र सौहार्दपूर्ण वातावरणमा चुनावी प्रक्रिया अघि बढिरहेको संकेत गर्ने अभियन्ताहरु बताउँछन् । अध्यक्षका प्रत्यासीद्वय केसी र श्रेष्ठले भने मनोनयन दर्ता गराइसकेका छैनन् ।

शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । तर, उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो । शर्माको टीमका अन्य उम्मेदवारहरुले भने दर्ता भइरहेको छ। शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् । एक महिनामा एक बाचा पुरा गर्नेगरी २४ महिने कार्यकालमा गर्ने २४ कामको विवरणलाई उनले २४ बुँदे बाचापत्रमा समेटेका छन् ।

 

मध्यपूर्वबाट पहिलो पटक नेतृत्वमा दाबीसहित सशक्त उम्मेदवारी दिएका उनको पक्षमा राम्रो माहोल रहेको बताइएको छ ।

एनआरएनए निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । जसअनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् ।

यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।


क्याटेगोरी : खेलकुद, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस