Techie IT
×
गृहपृष्ठसमाचारशिक्षकबाटै क्याम्पसको गेटमा अनिश्चीतकालीन ताला

शिक्षकबाटै क्याम्पसको गेटमा अनिश्चीतकालीन ताला


काठमाडौं  – त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक आंशिक शिक्षकहरूले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा अनिश्चीतकालीन तालाबन्दी गरेका छन् ।

विगत १४ वर्षदेखि समान कामको समान ज्याला माग्दै आएका आंशिक शिक्षकहरूले चरणबद्ध आन्दोलन गरे पनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैर-जिम्मेवार बनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो ।

दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराइरहेका आंशिक शिक्षकहरूले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिका बीचमा भएको सहमति कार्यन्वयन नभएको भन्दै पुनः आन्दोलन गरेका हुन् । क्याम्पको नयाँ क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोइराला आएपछि आंशिकका मागलाई यही श्रावणको २२ गतेसम्म समाधान गर्न दुईबुँदे लिखित प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता अनुसार क्याम्पसको रिक्त दरबन्दी तत्काल ल्याउने र आंशिक शिक्षकलाई नियमित गर्ने प्रतिवद्धता जनाएका थिए । सो कुनै पनि माग पुरा नभएपछि पुन आन्दोलनमा उत्रिएको आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

उनले भने– ‘हामी विगत १४ वर्षदेखि श्रम शोषणमा परेका छौँ अब पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौँ ।’

यता आंशिकको आन्दोलनका बारेमा क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले पनि माग त्यति नाजायज नभएको धारणा राखे । उनले भने– ‘उहाँहरू समस्यामा हुनुहुन्छ, यो समस्या हाम्रो मात्रै होईन विश्वविद्यालयको हो त्यसैले समाधान जसै गरिनू पर्छ ।’ समाधानका लागि केन्द्रमा रिजिस्टार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए । उनले अगाडी थपे– ‘आंशिकविना क्याम्पस चलाउन असम्भव नै छ, अधिकतम कक्षा भार आंशिकले लिनुभएको छ ।’

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरूले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरू लकडाउनपछि भोकै परेको पनि उनको भनाइ छ ।

क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस