Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : बिक्रीमा म

कविता : बिक्रीमा म


सगरमाथामा छड्किँदै गरेको एक ताउलो गर्व ,
पशुपतिनाथको कम्मरमा अडेको एक गाग्री सुरक्षा ,
गुम्बाले खिपेको एक जोडी सान्तीको भोटो ,
मस्जिदले बुनेको एक थान कट्टरताको बर्को ,
यी सबै सबैलाई बार्हमासे हाटमा राखिएपछि,
मैले पनि एक भाँडो सपना किन्न ,
म सिङ्गैलाई बजारमा टाँगिदिएकी छु ।

हरेक बिहान शीतको गद्दारीमा ,
मैले मेरा नवजात सपनाहरुको चिहान खन्नु पर्छ ,
पारी डाँडामा रातो भएर डुब्नासाथ ,
घामले पठाएको गोमनले डस्छ मेरो सेतो अस्मिता ,
गर्ल्याम्म ढलेको मेरो अस्तित्व माथी ,
मजाक मान्दै मुस्कुराइ रहन्छ चिसो जून,
यो बिकि बिकाउको अनाम मौसममा,
मैले पनि निर्बस्त्र आफुलाई बिक्रीमा राखिदिएको हुँ।

नछलोस् दक्षिणी भुत प्रेतले सोचेर हालेको ,
खुकुरीको सिरानीसँगै ,
मैले ओडेको लिपुलेकको कम्मल ,
अँगालेको कालापानी र
सुतेको लिम्पियाधुरासम्मको
मोल मोलाइ भएपछि,
यो सुकुम्बासी ज्यान बिक्रीमा छ ।

आऊ बेचिन तयार भएको बेला ,
किन फुटपाथको भाउमा ,
अविलम्ब गर !
सुगौली सन्धि ,
मेरो गर्भमा पनि हुर्किदै छ एउटा पोथी भ्रुण ,
तिमीलाई सौगात नै भयो अर्को एक झिल्ली अस्मिता ,
लुकीछिपीमै उधार्नु फरिया केही बर्ष पछि।

नमिता दवाडी
गोर्खा नेपाल
हाल : न्युजिल्यान्ड
29/09/2020


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस