Techie IT
×
गृहपृष्ठकला/साहित्यको हुन त ? आदिवासी !!

को हुन त ? आदिवासी !!


जो आदिवासी जनजातिको तक्मा भिरेर पनि
उसको भाषा आई सि यूमा भर्ना भएको छ ।
आफ्नै भाषामा सपना देख्न पाउँदैन !
चाहेर पनि सक्दैन !
राष्ट्र भाषाको मान्यता पाउन
भर्जिन नव दुलहीले झैं पुरुषवादको
पटक पटक लिखित र मौखिक परिक्षा सामना गर्नु पर्छ !!!

देशले दिने नागरिकतामा
आफ्नै भाषामा लेख्न पाउँदैन !
आफ्नै भाषाबाट नामाकरण भएको
लेक भन्झ्याङ्ग र फाँटको नामहरु
इतर भाषाले सजिलै खोसी दिन्छ !!!
ऊ कसरी हुन सक्छ , आदिवासी जनजाति ?

जसले आफ्नै भाषामा सपना देख्न पाउँछ !
निर्भिक हैसियत राख्छ !!
राज्यसत्ताले सुविधा दिन्छ !
आँगनको दुबो झै मौलाउन पाउने
कानुन बनाई अख्तियार गर्छ !!!
श्रीमतीलाई / श्रीमानलाई आफ्नै भाषामा
सहवासको अनुरोध गर्न सक्छ !!
ऊ हुन सक्छ , आदिवासी जनजाति !!!

जसले धर्म राज्यबाट लुकेर अपनत्व गर्नु पर्छ !
तेरो धर्म यो हो भनेर विदेशीले भनि दिनु पर्छ !!
ऊ कसरी हुन सक्छ, आदिवासी जनजाति ?

जसको धर्मको आडमा देश चलाउन पाउँछ !
भ्रमित मिठक बनाउँन पाउँछ !!
धार्मिक भूमाफिया बन्न पाउंछ !!!
नैतिक शिक्षाका पाठ्यक्रम लागु गर्न पाउँछ !
जसको धर्मकै नाउँमा !!
मान्छेको तहगत श्रेणीक्रम लगाउन
राज्यसत्तासम्म हैसियत राख्छ !
जसको धर्मले राष्ट्र धर्मको मान्यता पाउँछ !!
गणतान्त्रिक सत्ताबाट बजेट पाउँछ !
ऊ हुन सक्छ , आदिवासी जनजाति !!!

जसको सस्कृति राज्यले विकृति जस्तै ठान्छ !
अनेकौं लगाम लगाउँछ !!
राजनीति परिवर्तनको लागि सडक सम्म प्रयोग गर्छ !!!
अनि कल गर्ल सँग यौन सम्पर्क पछि
प्रयोग गरेको कण्डम जस्तै फालि दिन्छ !
जसको सँस्कृति एकादेशको कथा जस्तै भैसक्यो !!
ऊ कसरी हुन सक्छ , आदिवासी जनजाति !!!

जसको सँस्कृति राज्यसत्ताले
देशको सँस्कृति भनेर घोषण गर्छ !
ऊ हुन सक्छ, आदिवासी जनजाति !!

उसको भेषभूषा त यौन बजारमा
यौनकर्मीले लगाएको कपडा जस्तै हो !
आखाँलाई आकर्षित गर्न सक्छ !!
राज्य सत्तालाई आकर्षित गर्ने सक्दैन !
उसको भेषभूषा त अराष्ट्रिय भेषभूषा हो !!
ऊ कसरी हुन सक्छ , आदिवासी जनजाति ?

जसको भेषभूषा राष्ट्रिय पोशाक बनाउँछ !
सत्तास्वाहोरणमा अनिवार्य लगाउनु पर्छ !!
ऊ हुन सक्छ , आदिवासी जनजाति !!!

जसले आफु मरेर पनि देश बचाएको छ !
जमिन जंगल वनमा आफ्नो भन्ने हैसियत राख्दैन !!!
ऊ कसरी हुन सक्छ , आदिवासी जनजाति ?

मलाई लाग्छ !
जसले यो देशमा
धर्मको नाऊँमा सत्ता चलाउन सिकायो !
चलाउँछ ।
भष्टचार ,वेथिति ,नातावाद, जातिवाद , बाहुनवादको श्रीगणेश गर्यो !!
२१ औं शताब्दीमा भाग्यवादमा पनि औधी विस्वास राख्छ !
ऊ हुन सक्छ , आदिवासी जनजाति !!!


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस