Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : थ्री नट थ्री राईफल

कविता : थ्री नट थ्री राईफल


कैयौ रिकुटेहरूको बीचमा
टाढैबाट छुट्टै देखिने
अनि चिनिने गरी
ठिंग उभिएको छु
सतिसालझै ढाल बनेर
म अर्थात
एउटा पुरानो
थ्री नट थ्री राईफल ।

उ एक्लै उभिएको छ
आफ्नै बलमा
आफ्नै जमिनमा
एउटा लक्ष्मण रेखा कोरेर
भन्दैछु मेरो सीमा तिमी ननाघ
म पनि तिम्रो सीमा नाघ्दिन
म अर्थात
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राईफल ।

तिमीलाई थाहा छ
म अनवरत प्रयोगमा छु
कहिले बेमौसमी जुलुस भगाउन
कहिले आफ्नै बीचमा
आत्म बिश्वासको साहस जगाउन
एक्लै डटिरहेको छु
अनवरत खटिरहेको छु
म अर्थात
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राईफल ।

सहेको छु खुशीसाथ
घाम, झरी र मुसलधारे पानी
रोएर पनि खपेको छु
मुटु कमाउने जाडो
पार गरेको छु सहजै
कैयौ माईल यात्रा
तुसारोमा खाली खुट्टा
म अर्थात
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राईफल।
राईफल पुरानो हो
खियाँ लागेको पनि हुनसक्छ
तर
थ्री नट थ्री राईफलको
एउटै विशेषता
खियाँ सफा गरे पछि काम गर्छ
यस्ले आफ्ना र शत्रुलाई चिन्छ
मित्र देख्दा जति ट्रिगर थिचे पनि
पड्कदै पड्कदैन्न
शत्रु देख्दा गडगडाएर पड्कन्छ
त्यसैले त
थ्री नट थ्री राईफल
जति पुरानो भएर पनि
आजसम्म चलेकै छ
म अर्थात
कैयौ रिकुटेहरूको बीचमा
एउटा पुरानो
थ्री नट थ्री राईफल। 


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस