Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसंस्कृत विषय पठनपाठन थाल्ने निर्णय प्रति नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले ध्यानाकर्षण

संस्कृत विषय पठनपाठन थाल्ने निर्णय प्रति नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले ध्यानाकर्षण


दोहा – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरि राजमणि पोख्रेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने निर्णय प्रति सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ “नेपालको संविधान, मौजुदा कानून र परिवर्तनको बर्खिलाप शिक्षा मन्त्रालय र त्यस अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृति विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई बलात्कृत गर्दै कक्षा १ देखि ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृतप्राय संस्कृति भाषालाई सबै भाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यसखाले कदमप्रति महासंघ कतार घोर निन्दा व्यक्त गर्दछ।” विज्ञप्तिमा अगाडि थपिएको छ, “संविधानमा व्यवस्था भए बमोजिम माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ केन्द्रको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले चालेको कदम र गरेको कार्य असंवैधानिक समेत रहेको महासंघ कतारको ठहर छ ।”

कोरोना भाइरस (कोभिड–१९)ले गर्दा नेपालीले लकडाउनको सास्ती खेपिरहेको बेला विरोध नहोस् भन्ने बदनियत र षड्यन्त्रपूर्वक ढङ्गले यस विभेदकारी कदम चालिएको आरोप लगाउंदै महासंघ कतारले नेपाल सरकार, सम्बन्धित शिक्षा मन्त्रालय, संसदको शिक्षा तथा खेलकुद समितिले अविलम्ब यो विभेदकारी कार्य सच्याउनका लागि पहलकदमी लिन र स्वयम् पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट यो कार्य रोक्न आग्रह गरेको छ ।

नेपालका बोलिने सबै मातृभाषा तथा रैथाने भाषाहरूमा पठनपाठन गर्न गराउन पाउनु संविधान, कानून, नेपाल सरकारले अनुमोदन गरेको र पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय कानूनी दस्तावेजहरूले प्रत्याभूत गरेको भाषिक मानवअधिकारको सवालरहेको बताउंदै महासंघ कतारले कुनै एउटा भाषा त्यो पनि सरकारले सदिऔँ देखि राज्यको ढुकुटी खर्चेर पनि जो मृतप्राय छ र वक्ता सङख्या नगन्य छ त्यस संस्कृत भाषालाई मात्रै फेरि पनि शाहीकालीन, राणाकालीन र अझ पञ्चायती शासन व्यवस्थामा झैँ पक्षपोषण गरिनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडाएको आरोप लगाएको छ ।

कतारमा रहेका झण्डै १३ वटा आदिवासी संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा संविधान, आदिवासीको अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय श्रम संगठन महासन्धि नं.१६९ र आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७, शिक्षा ऐन २०२८ (संशोधन २०७५)को स्पिरिट बमोजिम नेपालमा बोलिने सबै रैथाने मातृ भाषाहरूको पाठ्यक्रम, पाठ्य पुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सरकारलाई ३७ प्रतिशत आदिवासी जनजातिहरूको तर्फबाट विशेष आग्रह गरिएको छ । संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि एउटा अमूक भाषालाई मात्रै पक्षपोषण गर्ने गराउने कार्य नरोकिए नेपालका आदिवासी जनजाति लगायत सबै मातृभाषीहरूले कडाभन्दा कडा कदम चाल्न बाध्य हुने स्मरण गराउँदै यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार र सम्बन्धित निकाय हुने कुरा प्रष्टहुन भनिएको विज्ञप्तिमा यसखाले भाषिक विभेदका विरुद्ध नेपालका सबै सघं सस्थाहरु नागरिक समाज, बैचारिक सगठन, पत्रकार महासघंहरुले संस्थागत र वैयक्तिक तवरले आ–आफ्नो तर्फबाट विरोध गर्न गराउन हार्दिक अपिल गरिएको छ।

 नेपाल आदिवासी जनजाति महासघं केन्द्र नेपाल द्धारा जारी गरीएको प्रेस वक्तव्य माथि महासघं कतार ऐक्यवद्धता सहित समर्थन जनाउंदै नेपाल प्रवासी आदिवासी जनजाति महासघं कतारका अध्यक्ष शिव कुमार भुजेल, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङखाम लिम्बु, तमु गुरुङ समाज कतारका अध्यक्ष भाई काजि गुरुङ र  किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष–बिमल राईको हस्ताक्षर रहेको छ।  त्यस्तै विज्ञप्तिमा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारिणि सभा च्याप्टर कतारका सभापति अर्विन्द्र चौधरी, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष बिनोद भुजेलको पनि हस्ताक्षर रहेको छ।

ऐक्यवद्धता सहित समर्थन जनाउंदै विज्ञप्तिमा नेपाली धनुक सेवा समाज कतारका अध्यक्ष राम कुमार मण्डल, शेर्पा किदुग सघं कतारका महासचिव मिङमार शेर्पा, नेपाल प्रवासी दनुवार समाज कतारका कार्यवाहक अध्यक्ष बिछुलाल दनुवार ताजपुरयिा र समाज कल्याण परिषद कतारका अध्यक्ष रवि लाल ताजपुरियाले पनि हस्ताक्षर गरेका छन्।


क्याटेगोरी : गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस