Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप

अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप


एजेन्सी -युक्रेन मामिलालाई लिएर बढेको अमेरिका र रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि सुरु भएको तनाव पछिल्ला दिनमा झनै चर्किएको हो ।

युक्रेनी सेनाले रसिया समर्थित विद्रोहीलाई हमला गरेको नक्कली भिडियो तयार पारेर रसियाले युक्रेन अतिक्रमणको बहाना गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बिरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् ।

तर, रसियाली प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । अमेरिकाले रसियालाई उत्तेजित बनाएको उनले बताएका छन् ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन अमेरिकाले विवादलाई बहाना बनाएको आरोप लगाए ।

रसियाले युक्रेनमाथि हमलाको योजना गरेको पश्चिमा देशहरुले अनुमान गरिरहेका छन् । रसियाले यसअघि नै युक्रेनको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनमा अतिक्रमणको आफ्नो योजना नभएको रसियाले बताउँदै आएको छ ।

तनाव चर्किरहेका बेला अमेरिकाले पूर्वी युरोपमा आफ्ना सेना बढाएको छ । युक्रेनमाथि रसियाको सम्भावित हमलाको आशंकाबीच बाइडेनले अमेरिका, पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस